यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीलाई सास्ती

बालाराम खड्का
तुलसीपुर, ३१ असार । यातायात व्यवस्था कार्यालय तुलसीपुर दाङमा सेवाग्राहीलाई सर्भरमा समस्या हुँदा सास्ती व्यहोर्नु परेको छ । एक सातादेखि सर्भरले काम नगर्दा सेवाग्राही दिनभर लाइनमा बसेर फर्कनु पर्ने अवस्था रहेको सेवाग्राही बताउँछन् । यातायात व्यवस्था कार्यालयमा सवारी चालक अनुमति–पत्र नवीकरण गराउन, नयाँ अनुमति–पत्रको लागि फोटो खिचाउन र ट्रायल दिएर पास भएका र नयाँ ट्रायलका लागि राजस्व बुझाउन आउने सेवाग्राही दिनभर लाइनमा बसेर साँझ खाली हात घर फर्कन बाध्य छन् ।

समयमै काम गराउने भनेर बिहान ९ः०० बजे सेवाग्राही कार्यालय पुगे पनि कार्यालयमा सर्भर गति सुस्त भएकाले समयमा काम हुन नसकेको कार्यलयले जनाएको छ । कार्यलयका अनुसार केही दिनदेखि सर्भर नचलेपछि सेवाग्राहीका साथै कर्मचारीलाई समेत सास्ती हुने गरेको छ । ‘सवारी चालक अनुमति पत्रको म्याद सकिएको धेरै दिन भएको थियो, शुक्रवार लाइनमा बसेँ, सर्भर चलेन आज पनि उस्तै छ’, यातायात व्यवस्था कार्यालय तुलसीपुरमा आएका सेवाग्राहीले गुनासो पोखे ।

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को सेवा प्रवाहसम्बन्धी विद्युतीय प्रणालीको केन्द्रीय सर्भरमा समस्या हुँदा लाइसेन्स नवीकरण र रिट्रायल अपडेट तथा राजस्व दाखिला कार्यमा समस्या हुने गरेको कार्यालयले जनाएको छ । केही दिनदेखि सर्भर सुस्त हुँदा सेवा प्रवाहमा समस्या भएको निमित्त कार्यालय प्रमुख केशव घिमिरेले बताए ।

देशैभर यस्तै समस्या भएको र प्रणालीमा देखिएको समस्या समाधान गर्न आफूहरूले यहाँबाट नसक्ने यातायात व्यवस्था कार्यालयका कर्मचारीले बताएका छन् । ‘सवारी चालक अनुमति–पत्रको सेवा प्रवाहसम्बन्धी विद्युतीय प्रणालीको केन्द्रीय सर्भरमा समस्या देखिएसँगै यहाँ पनि सर्भर चल्दैन, सर्भर स्लो भएर शुक्रवार साँझ ६ः०० बजेसम्म सेवा दिएका थियौँ’, राजस्व शाखाका एक कर्मचारीले भने । सेवाग्राहीलाई छिटो छरितो सेवा दिने आफूहरूको चाहना भए पनि केन्द्रबाटै सर्भर नचलेपछि आफूहरूलाई पनि समस्या हुने गरेको कर्मचारी बताउँछन् ।

दिनभर सर्भर नचल्ने र ५ः०० बजेपछि सर्भर अलि छिटो चल्ने गरेको कर्मचारी बताउँछन् । दाङलगायत विभिन्न जिल्लाबाट तुलसीपुरमा सेवा लिन आएका सेवाग्राहीले आफूहरूलाई समस्या भएको बताउँछन् । ‘सरकार फेरियो, व्यवस्था फेरियो तर सेवाग्राहीको सास्ती फेरिएन, राजस्व तिर्न पनि सास्ती छ’, सेवाग्राही उमेश डाँगीले गुनासो गरे । उनले शुक्रवार सर्भरले राम्रोसँग काम नगरेर फर्किएको र शनिवार आइतवार बिदा भएकाले सोमवार बिहानै कार्यालय पुगेर लाइनमा बस्दा पनि चार घण्टा बितिसक्दासम्म काम नभएको बताए ।

यसैगरी सल्यानबाट मोटरसाइकलको लाइसेन्स थपका लागि आएका सेवाग्राही सुरेश बुढाले राजस्व तिर्नकै लागि दुई÷तीन दिन समय लाग्ने गरेको बताए । ‘आज सल्यान जानु छ, शुक्रवार पनि काम भएन आज पनि सर्भर चलेको छैन’ उनले भने ।

यातायात व्यवस्था विभागको कमजोरीका कारण आफूहरूले समस्या भोग्नु परेको सेवाग्राहीको भनाइ छ । यो देशैभरिको समस्या भएकाले आफूहरूले यहाँबाट केही गर्न नसक्ने यातायात व्यवस्था कार्यालयका कर्मचारीहरू बताउछन् । ‘हामी बिहान ८ः०० बजे कार्यालय आउँछौँ, नास्ता नै नखाई दिनभर सेवामा तल्लीन छौँ तर सिस्टमले काम नगरेकाले हामीलाई पनि समस्या छ’, एक कर्मचारीले भने । असार मसान्त सकिँदै लाग्दै गर्दा यातायात व्यवस्था कार्यालयमा तुलसीपुरमा दाङलगायत अन्य जिल्लाका लाइसेन्स नवीकरण गर्ने रिट्रायल अपडेट तथा राजस्व दाखिला गर्नेहरूको भिड लाग्ने गरेको छ ।