गोरक्ष समाचारदाता
दाङ, ३१ असार । भानु प्रतिष्ठान लुम्बिनी प्रदेशले बरिष्ठ साहित्यकार सुशील गौतमलाई सम्मान गरेको छ । मङ्गलवार गौतमकै निवासमा पुगेर प्रतिष्ठानले सम्मान गरेको हो । शारीरिक रूपमा अशक्तको कारण उनकै निवासमा पुगेर सम्मान गरिएको हो ।
लामो समयदेखि स्वास्थ्य चुनौतीकाबिच पनि निरन्तर साहित्य साधनामा समर्पित रहँदै १४ वटा साहित्यिक कृतिको प्रकाशन गरेका गौतमको योगदानको उच्च मूल्याङ्कन गर्दै प्रतिष्ठानले सम्मान गरेको हो । कार्यक्रमका वक्ताले शारीरिक सीमाभन्दा माथि उठेर निरन्तर सिर्जनामा समर्पित गौतम नेपाली साहित्यका प्रेरणादायी व्यक्तित्व भएको उल्लेख गरेका थिए । भानु प्रतिष्ठान लुम्बिनी प्रदेशका अध्यक्ष बमबहादुर डिसीको अध्यक्षता तथा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति डा.सुदन पौडेललेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले साहित्यकार गौतमको दीर्घकालीन साहित्यिक यात्राको चर्चा गर्दै प्रतिकूल परिस्थितिमा पनि निरन्तर लेखनमा सक्रिय रहनु स्वयम्मा ठुलो साधना भएको बताए । उनले साहित्य समाजको चेतना, संस्कार र सभ्यताको ऐना भएकाले यस्ता साहित्यक साधकहरूको योगदानको राज्य तथा समाजले उच्च मूल्याङ्कन गर्नु पर्ने बताएका थिए । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ उत्तमकृष्ण मजगैयाँले गौतमको साहित्यिक व्यक्तित्व, सिर्जनात्मक क्षमता र नेपाली साहित्यमा उनले पु¥याएको योगदानबारे चर्चा गरे । उनले गौतमका कृतिहरूले समाजका विविध आयाम, मानवीय संवेदना र जीवनका भोगाइलाई सशक्त रूपमा अभिव्यक्त गरेको उल्लेख गरे । साहित्यिक यात्रा नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत भएको उनले बताए ।
सम्मान कार्यक्रममा साहित्यकार, शिक्षाविद् तथा विभिन्न क्षेत्रका व्यक्तित्वको सहभागिता रहेको थियो । कार्यक्रममा पुरुषोत्तम खनाल, खगराज न्यौपाने, कमलमणि देवकोटा, नारायण नेपाल, गोविन्द पौडेल, चन्द्रराज पन्त, विपुल पोख्रेल, पिताम्बर रिजाल, अमरराज आचार्यले सुशील गौतमको साहित्यिक ओज, बौद्धिक व्यक्तित्व तथा सामाजिक योगदानको चर्चा गर्दै उनले कठिन परिस्थितिलाई सिर्जनात्मक ऊर्जामा रूपान्तरण गरेको धारणा राखेक थिए ।
उनीहरूले साहित्यकारलाई गरिएको सम्मानले सिङ्गो साहित्यिक समुदायको मनोबल बढाउने विश्वास व्यक्त गरे । कार्यक्रमको प्रारम्भमा साहित्यकार गौतमका सुपुत्र तथा नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक किशोरचन्द्र गौतमले अतिथिहरूलाई स्वागत गर्दै आफ्नो पिताको साहित्यिक यात्रामा साथ र सम्मान प्रदान गर्ने सबैप्रति कृतज्ञता व्यक्त गरे । उनले साहित्यप्रतिको समर्पण नै आफ्ना पिताको जीवनको सबैभन्दा ठुलो परिचय भएको उल्लेख गरे । कार्यक्रमको सहजीकरण सन्ध्या रेग्मीले गरेकी थिइन् ।
लामो समयदेखि शारीरिक असहजतासँग सङ्घर्षरत रहँदा पनि सिर्जनशील यात्रालाई निरन्तरता दिएका सुशील गौतमले नेपाली साहित्यमा १४ वटा कृति प्रकाशन गरिसकेका छन् । उनका कृतिहरूले जीवन, समाज, संस्कार, मानवीय संवेदना र मूल्य मान्यतालाई केन्द्रमा राख्दै नेपाली साहित्यलाई समृद्ध बनाउन महत्वपूर्ण योगदान पु¥याएका छन् । साहित्यकारलाई सम्मान गर्नु केवल एउटा व्यक्तिको योगदानको कदर गर्नु मात्र नभई समाजमा ज्ञान, सिर्जना र बौद्धिक साधनाको मूल्य स्थापित गर्नु हो । प्रतिष्ठानले हरेक वर्ष साहित्यकारहरूलाई सम्मान गर्दै आएको र यसलाई निरन्तरता दिने जनाएको छ ।