दिनेश दिपु सुवेदी
केही दिन यता सामाजिक सञ्जाल पुनः शंवेदनाहीन बनेको छ । आत्मदाहका लागि जिउँदै शरीरमा आगो लगाएको दृश्य अनि त्यसपछिको उसको तड्पाइ यत्रतत्र छरपष्ट देखिन्छ । बालबालिका, बृद्धबृद्धा अनि कमजोर मन भएकालाई यस्ता दृश्यले तत्काल वा दीर्घकालीन मानसिक समस्या पर्न सक्छ भन्ने कसैले हेक्का राखेको पाइँदैन ।
सामाजिक सञ्जाल जस्तै ‘न्युज’ र ‘भ्युज’का लागि नाम चलेका अर्थात मूलधारका भनिएका मिडियाले सम्म मानवीय संवेदनाको ख्याल राखेको देखिएन । जलिरहेको अनि क्षविक्षत शरीरसँग तड्पिएको दृश्यले पार्ने नकारात्मक प्रभाव मूल्याकङ्न नगरी भ्युजको लोभमा सामाजिक सञ्जालसँगै सञ्चारमाध्यम दौडिनु दुखद् मात्र नभएर सभ्य समाजको कलङ्क हो ।
पछिल्लो समय नेपालमा मात्र नभएर संसारभर नसर्ने रोगमध्ये मानसिक समस्या एकदमै बढेर आएको खबर बाहिरिरहँदा हामीले गर्ने यस्ता व्यवहारले समस्या बढाउन मलजल गरेको छ । त्यसैको परिणाम दैनिक आत्मदाह प्रयास र आत्महत्याका घटना बढ्दो छ । सूचना वा समाचार संप्रशणका नाममा कसैको पीडा बेचेर भ्युजको खेती गर्नेले कम्तीमा भ्युज सम्पादनतर्फ ध्यान दिए आमनागरिकमा पर्ने नकारात्मक प्रभाव कम गर्न सकिन्थ्यो । भ्युजका लोभले उन्मत्तहरू यति संवेदनाहीन बनेका छन् कि व्यक्तिगत सवाल श्रव्य–दृश्य सामग्री बनाइहाल्छन् ।
पीडाका समयमा पीडितको मुखमा बुम कोचेर प्रतिक्रिया खोज्ने तथा कथित सञ्चारकर्म गर्छौँ भन्नेले त्यही पीडा आफू वा आफ्नो परिवारमा पर्दा सम्भावित अनुमान गर्न जरुरी छ । हरेक दिन मानवीय संवेदना ख्याल नगरेर गरिने कथित सञ्चारकर्मले समाजलाई अँध्यारोतिर डो¥याइरहेको छ । जेन–जी आन्दोलनपछि मानसिक स्वास्थ्य समस्या बढेको तथ्याङ्क सार्वजनिक भइरहँदा आज पनि ती बेलाका हिंसाका श्रव्य–दृश्य सामग्री सामाजिक सञ्जाल र सञ्चारमाध्यममा प्रयोग भइरहेका छन् । सम्पादनविना पस्किने खुराकले आजको समाजलाई उत्ताउलो र उद्देलित बनाइरहेको छ ।
गत चैत १५ गते काठमाडौंको माइतीघर मण्डलामा दुई महिला आपसमा लुछालुछ गरे । त्यसको एक महिनापछि वैशाख १४ गते सोमवार सोही स्थानमा अन्य केही महिला नराम्रोसँग भिडे । यी दुई घटनाहरू विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालका लागि उत्सव बन्यो । हातमा क्यामेरा र मोबाइल बोकेका अधिकांश पुरुष जत्थाले बडो उल्लासपूर्ण तरिकाले घटना कैद गरे । कैद मात्र गरेनन् नाम चलेका सञ्चारकर्मको ठेकेदार ठान्ने दर्जनौँ सञ्चारमाध्यमदेखि सामाजिक सञ्जाल दिनभर त्यसैमा व्यस्त रहे । मानौ जनपत्रकारिता यही हो भन्ने भान देखाए ।
न्युज र भ्युजका लागि श्रव्य–दृश्य सामग्री कुनै पनि सम्पादनविना त्यसको नकारात्मक प्रभाव मूल्याङ्कन नगरी पोस्ट्याउन तछाडमछाड भयो । मानौ यो भन्दा ठुलो ब्रेकिङ अरू केही हुनै सक्दैन । क्यामेरा, बुम र स्ट्यान्ड बोकेर सञ्चारकर्म गर्छौँ भन्नेहरूले सामाजिक संरचना, मूल्य मान्यतासँगै नागरिकको मानसिकतामाथि नजानिँदो प्रहार गरे । ‘कुनै पनि हिंसाका घटना सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आउनु गत्तिलो मानिँदैन । ‘यस्ता दृश्यले समस्या निम्त्याउन सक्छ’, मानसिक रोग विषेशज्ञ डा. मोहन बेलवासे भन्छन्, ‘बालबालिकाको लागि झनै घातक हुन्छ । उनीहरूले त्यही सिक्छन् र तनावमा पनि रहन्छन् ।’
यस्ता सामग्रीले आमनागरिकलाई नकारात्मक रूपमा असर पार्ने अर्का मनोचिकित्सक डा. अरविन्द भुसाल बताउँछन् । ‘यस्ता प्रकारका भिडियोले बालबालिका र किशोरकिशोरीलाई झनै बढी प्रभाव पर्छ’, उनले थपे, ‘परिवारमा शङ्का उत्पन्न गराउने, घर झगडा पर्ने मात्र नभई मानसिक रूपमा समस्या निम्त्याउँछ ।’ लामो समय यता मानसिक स्वास्थ्यमा काम गरिरहेकी बरिष्ठ मनोविमर्शकर्ता जमुना श्रेष्ठ मिडियाले यस्ता भिडियो भाइरल गर्नु राम्रो नहुने बताइन । ‘यस्ता घटनाले अरूलाई प्रोत्साहन हुन मद्दत गर्छ । बालबालिकालाई झनै नकारात्मक असर गर्छ’, उनी भन्छिन्, ‘ती महिलाका परिवार र आफन्तमा त झनै असर गर्छ ।’
सामाजिक सञ्जाल मात्र नभएर नाम चलेका सञ्चारमाध्यमसमेतले प्रभाव मूल्याङ्कनविना भिडियो अपलोड गरेको देखियो । न्युज र भ्युजका लागि जे पनि गर्छन् भनेर पत्रकारिता वदनाम भइरहँदा मूलधार भनेर चिनिएका अनलाइन र टेलिभिजनलेसमेत ब्रेकिङ बनाइरहे । पछिल्लो समय क्यामेरा र बुम बोकेर न्यायाधीश बन्दै हिड्नेको जत्थाले पनि पत्रकारिताको धर्म भुलेको देखिन्छ । सार्वनिक स्थानमा अनावश्यक बहस र अनुशासन पढाउँदै हिड्ने पत्रकारिता हुनै सक्दैन । पत्रकारितामा पनि आचरण हुन्छ । पत्रकारिताले जनताको प्रश्नको प्रतिनिधित्व बोकेको हुनुपर्छ ।
पत्रकारिता के भन्ने प्रश्न उठिरहँदा सामाजिक सञ्जाल जस्तै गरी सञ्चारकर्म गरिरहेका सञ्चारमाध्यमसमेत चुकिरहेको अहिलेको समयमा मानसिक स्वास्थ्यका सवालमा सचेतनाको जरुरी देखिन्छ भने नियमन निकायले पनि यतातर्फ समयमै ध्यान दिन जरुरी छ । सामाजिक सञ्जाल असामाजिकतातर्फ हाबी भइरहेको समयमा पत्रकारिताले आफ्नो जिम्मेवारी बिर्सेर भ्युजका लागि गरिने हर्कतले समाजलाई कतातिर लैजान्छ भन्ने मुख्य प्रश्न हो ? अस्तु !