प्रस्तुति ः लीलाधर वली
जीवनमा खुसीका क्षण सबैका आआफ्नै हुन्छन् । कसैका लागि ठुलो सफलता खुसीको कारण बन्छ भने कसैका लागि सानो उपलब्धिले पनि जीवनभर ऊर्जा दिइरहन्छ । दाङको साङ्गीतिक क्षेत्रमा स्थापित नाम राजेन्द्र दाहालका लागि पनि यस्ता धेरै खुसीका क्षण छन् । तर ती सबैमध्ये बाल्यकालमा पहिलो पटक मादल हातमा परेको क्षणलाई दाहाल जीवनकै सबैभन्दा अविस्मरणीय र अमूल्य खुसीका रूपमा सम्झिन्छन् । त्यो खुसीसँग उनको सङ्घर्ष, सपना र सफलताको कथा गाँसिएको छ ।
घोराही उपमहानगरपालिका–१२ हापुरमा २०४५ साल साउन २ गते पिता लेवेन्द्रप्रसाद दाहाल र माता सावित्रादेवी दाहालको कान्छो सन्तानका रूपमा जन्मिएका दाहालको बाल्यकाल सामान्य ग्रामीण परिवेशमा बितेको थियो । परिवारको चाहना छोराले राम्रो पढेर सम्मानित जागिर खाओस् भन्ने थियो तर उनको मन भने सानैदेखि गीतसङ्गीतमा रमाउनेतिर लागेको थियो । विशेषगरी रेडियो नेपालबाट शनिवार दिउँसो प्रसारण हुने लोकगीत कार्यक्रम उनी नियमित सुन्थे । ती गीतमा गुञ्जिने मादलको तालले उनको बालमनलाई यति धेरै आकर्षित ग¥यो कि उनी आफू पनि कुनै दिन त्यही तालमा रमाउने सपना देख्न थाले ।
त्यो बेला घरको आर्थिक अवस्था सामान्य थियो । पढाइमा असर पर्छ भन्ने चिन्ताले परिवारले मादल किनिदिन मान्दैनथ्यो । तर, दाहालको सपना भने मादल किन्ने थियो । उनले घरको काठको भ¥याङलाई नै मादल बनाएर बजाउने गर्दथे । रेडियोमा गीत बज्नासाथ भ¥याङमा ताल मिलाउँदै घण्टौँ अभ्यास गर्थे । भ¥याङबाट निस्किने आवाजले उनलाई मादलकै अनुभूति दिन्थ्यो भन्छन्,‘सायद धेरैलाई विश्वास नलाग्न सक्छ, तर मैले मादल समाउनु अघि भ¥याङ बजाएर नै ताल सिकेको हुँ । त्यो भ¥याङ नै मेरो पहिलो गुरु थियो ।’
भाइको सङ्गीतप्रतिको मोह देखेपछि जेठी दिदी देवका रेग्मीले मादल किनिदिने वाचा गरिन् तर त्यो वाचा पूरा हुन झण्डै एक वर्ष लाग्यो । अन्ततः २०५५ सालतिर दिदीले किनिदिएको मादल पहिलो पटक हातमा पर्दा उनी हर्षले गद्गद् भए । त्यो क्षण सम्झँदै उनी भन्छन्,‘भ¥याङ बजाउँदै मादल सिकेको मलाई साच्चिकै मादल हातमा पर्दा कति खुसी लागेको थियो भन्ने शब्दमा व्यक्त गर्न सक्दिनँ । आज पनि त्यो दिन सम्झँदा मन भावुक हुन्छ, खुशीले गदगद हुन्छ ।’
त्यसपछि उनको अर्को खुसीको क्षण विद्यालयको वार्षिकोत्सवमा । दाहाल त्यो बेला गाउँमै रहेको श्री माध्यमिक विद्यालय रत्नपुर हापुरमा अध्ययन गर्ने गर्दथे । स्कुलमा स्वागत गीतमा पहिलो पटक औपचारिक रूपमा मादल बजाउने अवसर उनले पाए । सयौँ विद्यार्थी, शिक्षक र अभिभावकको अगाडि मादल बजाउँदा मनमा डर पनि थियो, उत्साह पनि । प्रस्तुति सकिएपछि पाएको प्रशंसा र हौसलाले उनलाई सङ्गीतप्रति अझ दृढ बनाउने काम गरेको भन्दै उनी भन्छन्, ‘त्यो दिन मैले मादल मात्र बजाएको होइन, आफ्ना सपनाहरूको पहिलो सार्वजनिक यात्रा सुरु गरेको थिएँ ।’
बाल्यकालका तिहारहरू पनि उनका लागि विशेष थिए । गाउँमा भैलो खेल्न जाँदा ठुला दाइहरूले आफूलाई मादल बजाउन कमै दिन्थे तर बाटोमा मादल बोक्न भने उनलाई नै जिम्मा लगाइन्थ्यो । उनी मादल बोकेर हिँड्थे र अवसर मिल्ने वित्तिकै केही ताल बजाउँथे । अरूका लागि सामान्य लाग्ने ती क्षण उनी आज पनि आफ्ना अमूल्य सिकाइका दिन मान्छन् । उनको जीवनमा अर्को ठुलो मोड २०६३÷०६४ सालतिर आयो । घोराहीमा सञ्चालन भएको दोहोरी साँझमा मादलवादक छनोटका लागि दुई दर्जनभन्दा बढी प्रतिस्पर्धी थिए । उनले आफ्नो प्रतिभा देखाए र सबैलाई पछि पार्दै छनोट भए ।
पहिलो पटक सङ्गीतबाट पारिश्रमिक पाउँदा उनी अत्यन्त खुसी भए । यही आम्दानीले उनले आफ्नो अध्ययनलाई निरन्तरता दिए । स्नातकोत्तर तहसम्मको पढाइ आफ्नै कमाइबाट पूरा गर्न सके । उनी भन्छन्, ‘मादल बजाएर केही हुँदैन भन्ने धेरैको धारणा थियो तर यही मादलले मेरो पढाइ पनि चलायो, आत्मनिर्भर पनि बनायो ।’ उनको यात्रामा धेरै व्यक्तिहरू प्रेरणाका स्रोत बने । जेठी दिदी देवका रेग्मी, भानिज गणेश आचार्य र लोकदोहोरी गायक गजेन्द्र बहकरीले उनलाई निरन्तर हौसला दिए ।
त्यसपछि राष्ट्रिय नाँचघर काठमाडौंमा मादलको औपचारिक प्रशिक्षण लिए । वरिष्ठ कलाकार खर्कबहादुर बुढामगर, नरेश प्रजापति र खड्ग गन्धर्वबाट सिक्ने अवसर पाए । विशिष्ट श्रेणीमा प्रशिक्षण पूरा गरेपछि उनले मादलसँगै अन्य लोकबाजाको ताल, लय र शैलीबारे पनि गहिरो ज्ञान हासिल गरे । सङ्गीतसँगै दाहाल नाट्य क्षेत्रमा पनि सक्रिय छन् । सामाजिक चेतनामूलक एक दर्जनभन्दा बढी सडक नाटक लेख्ने, निर्देशन गर्ने र अभिनय गर्ने अवसर उनले पाए । देउखुरीको मटेरियामा सरसफाइसम्बन्धी सडक नाटक प्रस्तुत गर्दा स्थानीयले प्रभावित भएर उनलाई समातेर नचाउँदै पाँच सय रुपैयाँ पुरस्कार दिएका थिए ।
उनी भन्छन्, ‘त्यो पाँच सय रुपैयाँको मूल्यभन्दा ठुलो कुरा दर्शकले दिएको सम्मान थियो । कलाकारका लागि दर्शकको माया नै सबैभन्दा ठुलो पुरस्कार हो ।’ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दाङमा सदस्यदेखि अध्यक्षसम्म निर्विरोध नेतृत्व गर्ने अवसर पनि उनको जीवनको अर्को खुसी हो । अहिले उनी प्रतिष्ठानको लुम्बिनी प्रदेश सदस्यका रूपमा सक्रिय छन् । साथै नेपाल सांस्कृतिक संघ, बाद्यवादन संघलगायत विभिन्न सामाजिक तथा सांस्कृतिक संस्थामा जिम्मेवारी सम्हालिरहेका छन् ।
हाल उनी घोराहीका विभिन्न विद्यालयमा संगीत प्रशिक्षकका रूपमा कार्यरत छन् । मावि सेन्टर, राप्ती विद्यामन्दिर, पाठशाला एकेडेमीलगायतका विद्यालयमा सयौँ विद्यार्थीलाई सङ्गीत सिकाइरहेका छन् । सङ्गीतकार राजेश क्षेत्रीसँग मिलेर स्थापना गरेको सङ्गीत विद्यालयमार्फत् गायन, मादल, सारङ्गी तथा अन्य बाद्यवादनका कक्षा सञ्चालन गरिरहेका छन् । आफ्ना विद्यार्थीले मञ्चमा उत्कृष्ट प्रस्तुति दिएको देख्दा आफूले बाल्यकालमा अनुभव गरेको खुसी फेरि–फेरि बाँडने अवसर मिल्ने उनी बताउँछन् ।
दाहालको जीवनयात्राले एउटा गहिरो सन्देश दिन्छ– सपना पूरा गर्न महङ्गा साधन आवश्यक पर्दैन, आवश्यक पर्छ दृढ इच्छाशक्ति, निरन्तर अभ्यास र धैर्य । घरको काठको भ¥याङमा ताल खोज्ने एउटा बालक आज दाङको स्थापित संगीतकर्मी, कुशल मादलवादक, प्रशिक्षक र सांस्कृतिक अभियन्ताका रूपमा परिचित छन् । उनका लागि खुसी कुनै एउटा उपलब्धिमा सीमित छैन । सङ्घर्षलाई अवसरमा बदल्न पाउनु, सङ्गीतबाट पहिचान बनाउन सक्नु, आफ्नै कमाइले पढ्न सक्नु र नयाँ पुस्तालाई सङ्गीत सिकाएर उनीहरूको सपना साकार हुँदै गरेको देख्न पाउनु नै उनको जीवनको सबैभन्दा ठुलो खुसी भएको बताउँछन् ।