नारायणप्रसाद श्रेष्ठ
आनन्द र खुसी प्राप्त गर्न मेहनत र पसिनाको आवश्यकता पर्दछ। त्यस्को लागि आत्म विश्वास र प्रतिवद्धताको खाँचो हुन्छ । आस्था र विश्वासको कडीमा उत्रिएको दृढता, मेहनत र पसिनाको आवश्यक हुन्छ । तत पश्चात प्राप्त हुने परिणाम नै खुसी र आनन्द हो । त्यसैले भनिन्छ खुसी र आनन्द लौकिक शरीरले अनुभव गर्ने साध्य हो । साथै यो साध्य लौकिक शरीरबाट बग्ने पसिना र मेहनतमा आधारित हुन्छ । अर्को कुरा कठिनाइको सामना बिना र संघर्ष बिना खुसी पाइँदैन । साथै खुसीले खुसी पनि प्राप्त गर्न सकिँदैन ।
अन्धकार बिनाको उज्यालोको कुनै महत्व नभए झैँ आत्मविश्वास र भरोसा बिनाको मेहनत र पसिनाको महत्व पनि हुँदैन । जीवनमा भोक बिनाको खानाले जसरी महत्व राख्दैन त्यसरी नै विश्वास र नैतिक बिनाको आदर्शले केही काम गर्न सक्दैन । तसर्थ परिश्रम र आधारबिनाको सुख र आनन्दको परिकल्पना गर्नुभन्दा पहिले आत्मविश्वास र मेहनतको आवश्यकता परेको हुन्छ भन्ने बुझ्न जरुरी हुन्छ । परिश्रम र आत्मविश्वास विनाको सुख र आनन्दको परिकल्पना गर्नु व्यर्थ मानिन्छ । अर्को कुरा दुःख के हो यो कहाँ र कुन अवस्थामा आउँछ त्यो कुरा को पहिचान गर्न नसक्नेले सुखको चाहना गर्नु व्यर्थ मानिन्छ ।
त्यसैले भनिन्छ जहाँ विश्वास र परिश्रम हुन्छ । त्यहाँ सफलता हुन्छ । जहाँ सफलता हुन्छ त्यहाँ खुसी र आनन्द हुन्छ । जहाँ खुसी र आनन्दको अनुभूति हुन्छ । त्यहाँ जीवनको उच्च गतिशीलता को अनुभूति हुन्छ । बाबुको पहिचान जन्मदिने आमाको हाउभाउ र परिचयबाट भएको हुन्छ । अन्यथा बच्चाको बाबुको हो त्यो थाहा नपाउने अवस्था हुन्छ । हुन त विवाह पद्धतिले ल्याएको परिणामलाई बुझ्दा त्यो घरमा जन्मेको बच्चाको बाबु त्यही घरको पुरुष मालिक होला भनी समाजले चिन्न खोजेको हुन्छ । तर, असली कुरो बच्चाको बाबु उसको आमा बाहेक अरुलाई थाहा हुन सक्दैन ।
यसैगरी मानव जीवनको पहिचान र उसले निर्वाह गर्ने कर्म र व्यवहारलाई उसमा भएको विश्वास भरोसा अठोट र इमान्दारितावाट प्रदर्शन भएको हुन्छ । हरेक नातामा सर्वश्रेष्ठ नाता आमाको हुन्छ जो गर्भैदेखि जोडिएर आएको हुन्छ । त्यसैले नै जीवनको सर्वोत्कृष्ट गतिशीलता पनि उसको अन्तर हृदयभित्र छिपेको विश्वास भरोसामा आधारित हुन्छ । तसर्थ यस कुराको सवैले जिम्मेवारीका साथ हेक्का राख्न जरुरी छ । इष्र्या, क्रोध, अहंकर विवेकशून्य गराउने तत्व हुन यिनलाई परित्याग गर्न नसक्नाले पनि जीवन सधै अविश्वासको भुमरीमा परेको हुन्छ तसर्थ यस कुरालाई पनि बुझ्न जरुरी हुन्छ ।
मानव जीवन आस्था र विश्वासको धरोहर हो । जहाँ आस्था हुन्छ, त्यहाँ विश्वास हुन्छ । जहाँ विश्वास हुन्छ त्यहाँ नैतिकता अडेको हुन्छ । विश्वास भयर नै मानव जीवनले समय सापेक्ष आफूलाई गतिशील बनाएको हुन्छ । यही विश्वासको आधारमा निर्माण भएको जगबाट नै मानव अस्तित्वले आफूलाई सृष्टिको उत्कृष्ट रचनाभित्र वर्गीकरण गर्न सफल भएको छ । जीवनमा आइपर्ने समस्या र आवश्यकतालाई सहज रुपले परिपूर्ति गर्दै खुसी र सद्भाव जगाउँदै अघि बढ्न सक्षम भएको हो । त्यसैले निरन्तर गतिशील भइरहेको समयको प्रवाहसँगै जीवनको उद्देश्य र कर्मलाई बुझेर आफू र आफ्नो परिवेशलाई विश्वासमा आधारित जीवन र जगतबारे बुझ्ने प्रयत्न गर्नुपर्दछ ।
ज्ञानीहरु पनि त्यही विश्वास भरोसालाई आधार बनाई आफूलाई सक्षमता प्रदर्शन गर्न सफल भएको इतिहास पाइन्छ । इतिहासलाई पल्टाउने हो भने जीवन के हो र यो के–का लागि भनी आफै उदाहरण बनेको पाइन्छ । त्यसैले आफूभित्रको सचेत आत्मसत्यलाई व्यावहारिक जीवनशैलीमा परिवर्तन गरी सद्भाव प्रकट गर्नुपरेको हुन्छ । विश्वासको दरिलो आधार तयार गरी आफूलाई प्रस्तुत गर्नुपर्दछ । तर, यहाँ बुझ्नै पर्ने के हुन्छ भने विश्वासमा धोका र झुटको अवस्था हुँनु हुँदैन । कलियुगको यस अवस्थामा मानिसले आफ्ना स्वार्थ अनुकूल मिठा कुरा गरेर खुसामत गरेर पनि मन जित्ने कोशिस गरेका हुन्छन् ।
मुखमा रामराम बगलीमा छुरा गरेर पनि प्रस्तुत भएका हुन्छन् । यस अवस्थामा जीवनको गतिशीलतामा धव्वा लाग्न सक्ने खतरा देखा पर्न सक्छ । किनकि कलिमा मानिसको वुद्धि विवेक स्वार्थरुपी मायाको जालोमा लुटपटिएको हुन्छ भन्ने मान्यता यत्रतत्र सुनिन्छ । त्यसैले विषय र परिस्थितिको मूल्याङ्कन र आकलन गरी लक्ष्य प्राप्त गर्ने दृढता नै जीवन हो भन्ने बुझी भोग प्यास तृष्णा मानव जीवनलाई बिचलन बनाउने तत्व हुन् भन्ने बुझेर भौतिक सत्यको पहिचानसँगै जीवनलाई उन्मुक्त वातावरणमा अघि बढाउने आत्मचिन्तन गरिरहनु पर्दछ ।
मानवीय गुण र स्वभावमा पाइने फरक अनुभूतिलाई बुझेर एक अर्काप्रति विश्वास भरोसा योग्य बनाइरहनु पर्दछ । फूलको स्वभाव सुवास दिनु हो । काँडाको स्वभाव घोच्नु हो । तर, कुरा अर्कै छ । दुवैभित्र लुकेको गुण अर्कै छ । यो कुरा बुझ्नुपर्दछ । जसरी फूल र काँडाको स्वभावले आफूलाई मिठो र तितो सत्यको अनुभूत गराउँदै त्यसभित्र लुकेको गुणात्मक क्षमताको प्रदर्शन गरेको हुन्छ त्यसरी नै मानव जीवनचरित्रले पनि आफ्ना गुणात्मक सत्यलाई प्रदर्शन गर्न सक्नुपर्दछ । देख्दा विभिन्न रुप रङ्ग लिङ्ग भए पनि मानवले देखाउने भनेको उसको गुणात्मक आचरण र स्वभाव हो ।
गुणात्मक आचरण भनेको आस्था र विश्वासको कसौटीमा निखारिएको स्वभाव हो । जुन स्वभावले आफूभित्रको प्रतिभासँगै मानवीय गुण र क्षमतालाई समय सापेक्ष परिवर्तन गर्दै परिमार्जित गर्दै सुभाष छरिरहेको हुन्छ । त्यसैले यस कुराको अर्थ बुझी ज्ञानी विवेकी रचनाकार जसले सृष्टिको इतिहास रचेका छन् उनले निर्धारण गरेको ज्ञानलाई आत्मसात गरी आफूलाई परिमार्जित गर्नुपर्दछ भनिएको हो । हुन त मानव स्वभाव आफूभित्र गुण क्षमता र प्रतिभा हुदाहुदै पनि त्यसलाई भौतिक आशक्तिभित्र परिभाषित गरेको देखिन्छ ।
आफूभित्रको अन्तर सत्य नबुझी मृगको चाल झैँ भट्किरहेको पनि हुन्छ । जसरी मृगले आफूसँग भएको बिनाको सुगन्ध आफैभित्र थाहा हुँदा हुँदै पनि खोजी भड्किरहेको हुन्छ । त्यसरी नै मानव जीवनले पनि आफूभित्रको सत्य थाहा नपाई यताउता भड्किरहेको पनि देखिन्छ । तसर्थ शुद्धिको विधिद्वारा मापन गरी गरी मानव जीवनले निर्वाह गर्ने आचरण र व्यवहारको पहिचान गरी त्यसलाई ज्ञान गंगामा धोई पखाली विजय र निर्भिक बन्ने कोशिस गर्नुपर्दछ । विश्वास भरोसालाई आफ्नो जीवनको नैतिक धरातलमा राखेर शुद्ध सङ्कल्पको माध्यम आफ्नो हरेक कर्म र व्यवहारलाई विश्वासको दरिलो र बलियो धरातलभित्र अघि बढ्ने सङ्कल्परत हुनुपर्दछ ।
स्वार्थ परक र विकृतिजन्य कुराले पार्ने असरलाई बुझी हरेक आत्माभित्र उत्पन्न हुने तमोगुणी संस्कारलाई उत्पन्न नहुने परिस्थिति सिर्जना गरेर स्थिर र अटल विश्वास राखी भरोसाका साथ आफ्नो अन्तर हृदयभित्र रहेको गुणलाई प्रत्यक्षता गर्न सक्नुपर्दछ । तब मानव जीवनको सकारात्मक गतिमा विश्वास बढ्न गई सत्यमा आधारित विश्वासको जग बलियो हुनसक्दछ र आनन्दको अनुभूति हुन्छ । जहाँ आनन्द हुन्छ, त्यहाँ खुसी पनि हुन्छ । जहाँ खुसी र आनन्द दुवै हुन्छ त्यहाँ जीवनले खोजेको सत्य उजागर हुन्छ ।
तसर्थ क्षणिक प्राप्ति र आशक्तिलाई प्राप्त गरेर जीवन को महत्वपूर्ण समयलाई वरवाद नगरी जीवन हिरा हो भन्ने बुझी जीवनलाई हिरासरि चम्कन आफ्नो आचरण र व्यवहारलाई परिस्कृत गर्दै अघि बढनु पर्दछ । विश्वास र नैतिक धरातलमा रहेर आफूलाई प्रस्तुत गर्नुपर्दछ । आत्मसत्यको पहिचानसँगै अन्तर मनको सच्चाइ बुझेर अघि बढ्ने दृढता हुनुपर्दछ । उत्तम विचारको सङ्कल्पबाट प्राप्त हुने मानव जीवनको सच्चाइ बुझेर अघि बढ्ने उद्देश्य राख्नु पर्दछ । साथै समयको गतिसँगै प्रवाह हुने आशा र भरोसा एवम् विश्वासको धारलाई बलियो बनाइ अघि बढ्नुपर्दछ । जीवनको सफलता पनि यसैमा रहेको हुन्छ । चेतना भया ।