दाङ,२९ असार । विभिन्न क्षेत्रमा क्रियाशील थारु समुदायका अगुवाहरूले सिकल सेल एनिमियाको रोकथाम, नियन्त्रण र उपचार सेवालाई प्रभावकारी बनाउन माग गर्दै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ज्ञापनपत्र बुझाएका छन्।
सोमबार अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र लामिछानेलाई एक ज्ञापनपत्र बुझाउँदै उनिहरूले सिकल सेल एनिमियाबारे जनचेतना तथा परामर्शका लागि अस्पतालमा छुट्टै ‘डेस्क’ स्थापना हुनुपर्नेलगायतका मागहरू राखेका हुन्। ज्ञापनपत्रमा राप्ती प्रादेशिक अस्पतालमा सिकलसेल एनेमियाका विरामीहरुका लागि परामर्म केन्द्र स्थापना गर्नुपर्ने, उक्त परामर्म केन्द्र संचालनका गर्नका दक्ष जनशक्तिको व्यवस्थापन हुनुपर्ने, नेपाल सरकारसँग समन्वय गरेर समय समयमा थारु समुदायमा सिकलसेल एनेमियाको स्क्रीन शिविर सञ्चालन गर्नुपर्ने, सिकलसेल एनिमिया रोगको बारेमा जनचेतना अभियान सञ्चालन गर्नुपर्ने, नेपाल सरकारले उपलब्ध गराउँदै आएको बिमा सुविधा र निशुल्क औषधी उपचारसँगै त्यसको सहज वातावरण मिलाउनुपर्ने माग गरेका छन् ।
लुम्बिनी प्रदेशमा निशुल्क सिकलसेल परिवार बिमा कार्यक्रम समुदायस्तरमै ब्यापक फैलाउनुपर्नेलगायतका मागहरू गरेका छन्। कार्यक्रममा थारू कल्याणकारिणीसभाका केन्द्रीय कोषाध्यक्ष चुर्णबहादुर चौधरीले नेपाल सरकारले आफैले नै पहलकदमी लिए पनि समुदायस्तरमा सिकलसेल एनिमिया नियन्त्रणका लागि आधारभूत कुराहरूमा ध्यान नदिइएको भन्दै त्यसका लागि स्थानीय स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरूले प्रभावकारी भूमिका खेल्नसक्ने बताएका थिए ।
त्यस्तै अस्पतालका अध्यक्ष महेन्द्र लामिछानेले अस्पताल व्यवस्थाले उपलब्ध पूर्वाधार तथा आवश्यक जनशक्ति व्यवस्थापन गर्दै सिकलसेल एनिमियाको उपचारलाई सहज बनाउँदै लैजाने र समुदायस्तरमै त्यसलाई विस्तार पनि गर्न सकिने बताए । त्यस्तै अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ड डा शिशिर पोखरेलले प्रारम्भिक स्वास्थ्य सेवाहरू लिँदा नै त्यसको रोकथामबारे सोच्नुपर्नेमा जोड दिँदै जनचेतनाको अभावमा अझै पनि यो रोगले भित्रभित्रै जरा गाडिरहेको बताए ।
कार्यक्रममा सञ्चारकर्मी शरद रेग्मीले सिकलसेल एनिमियाको रोकथाम, नियन्त्रण र न्यूनिकरणका लागि जनचेतना र सन्देश फैलाउन सञ्चारजगतले पनि महत्वपूर्ण भूमिका खेल्न सक्ने भन्दै यो अभियानमा सञ्चारकर्मी सधैं साथ हुने प्रतिवद्धता व्यक्त गरेका थिए । थारू कल्याणकारिणीसभाका केन्द्रीय कोषाध्यक्ष चुर्णबहादुर चौधरी, थारु स्वास्थ्यकर्मी समाज तुलसीपुरका अध्यक्ष जीवराज चौधरी, नमुना भूँह्यारथानका जबरपुरका अध्यक्ष रामशरण चौधरी, थारू कल्याणकारिणीसभाका केन्द्रीय पार्षद श्रमलाल चौधरी, थारू कल्याणकारिणी सभा क्षेत्र नं ३ का क्षेत्रीय अध्यक्ष मोहन धर्कटवा चौधरी, क्षेत्रीय सचिव जितेन्द्र चौधरी, तुलसीपुर नगर अध्यक्ष पुरन चौधरी, बेस संस्था दाङका संयोजक सुरेश चौधरी, मटावाँर बरघर र भलमन्सा संघ तुलसीपुरका नगर अध्यक्ष बुझौना चौधरी तथा सेवा प्रतिष्ठान नेपालकी अध्यक्ष केउलापति चौधरीलगायतको समूहले उक्त ज्ञापनपत्र बुझाउँदै सिकल सेल एनिमियाविरुद्ध सरकारको अभियानमा थारू संघसंस्थाहरूको सक्रिय सहयोग रहने बचनवद्ता पनि व्यक्त गरेका थिए।
खासगरी सिकल सेल एनिमिया मुख्यतया बाँके, बर्दिया, दाङ, कैलाली, कञ्चनपुर लगायतका जिल्लाहरूमा बढी देखिएको छ। यो रोग वंशाणुगत हुने भएकाले तराईका थारु समुदायमा यसको सङ्क्रमण दर करिब १० देखि १२ प्रतिशतसम्म रहेको अध्ययनले देखाएका छन। रोगको गम्भीरतालाई मध्यनजर गर्दै, नेपाल सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत विपन्न नागरिकलाई सिकल सेल एनिमियाको उपचारका लागि निःशुल्क औषधि तथा सेवा उपलब्ध गराउँदै आएको छ। तर त्यो सहज र प्रभावकारी नहुँदा धेरै बिरामीहरूले जानकारीको अभावमा सास्ती झेल्दै आएका छन्।
सिकलसेल एनेमियाका बिरामीहरूमा रगतको कमी (एनिमिया), अत्यधिक जोर्नी तथा शरीर दुख्ने, र श्वासप्रश्वासमा समस्या जस्ता लक्षणहरू देखिने गर्दछन् । चेतनाको कमी, समयमै रगत परीक्षण नहुनु र वंशाणुगत रोग भएकाले पूर्ण उपचार सम्भव नहुनु यसका मुख्य चुनौती हुन् । सिकलसेल र थालासेमिया वंशाणुगत रगतसम्बन्धी रोग भएकाले समयमै परीक्षण, परामर्श र जनचेतना आवश्यक देखिन्छ ।
विवाहपूर्व तथा सन्तान योजना अघि परीक्षण गर्न सके नयाँ पुस्तामा रोगको जोखिम घटाउन सकिन्छ । यो सँगै स्वस्थ खानपान, नियमित स्वास्थ्य परीक्षण, चिकित्सकको सल्लाह अनुसार एन्टिबायोटिक औषधीको प्रयोग र नागरिकसम्म सचेतना फैलालउन सके यस रोगको फैलावट रोक्न सकिन्छ ।
यसअघि केही दिनअघि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगै जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिएको शिविरबाट पाँच हजार ७० जनाको नमुना सङ्कलन गरेर स्क्रिनिङ गर्दा सिकलसेल एनेमियाका शङ्कास्पद छ सय ५० जना बिरामी भेटिएका थिए। यी मध्ये तीन हजार एक सय ६१ जना महिला र एक हजार नौ सय नौ जना पुरुष रहेका छन । यही तथ्याङकलाई आधार मानेर विश्लेषण गर्ने हो भने राष्ट्रिय जनगनणा २०७८ अनुसार पश्चिम नेपालका ८ जिल्लाहरुको जनसंख्या १० लाख ६५ हजार ७५४ (दाङ , बाँके , बर्दिया, कैलाली कञ्चनपुर, सुर्खेत, कपिलवस्तु ,रुपन्देही र नवलपरासी) रहेको छ । यी जिल्लाहरुमा नमुना सङ्कलन गरेर स्क्रिनिङ गर्दा सिकलसेल एनेमियाका शङ्कास्पद एक लाख ३६ हजार ५०० जना बिरामी हुने अनुमान छ ।