लीलाधर वली
दाङ,२९ असार । लमही नगरपालिका–७ उचानिम्बु निवासी सागर चौधरी लमहीमा रहेको देउखुरी बहुमुखी क्याम्पसमा बिबिएस प्रथम वर्षमा अध्ययनरत हुनुहुन्छ । सामान्य आर्थिक अवस्थाका चौधरीले कक्षा १२ सम्म गाउँमै रहेको विद्यालयमा घरमै बसेर अध्ययन गरेपनि बिबिएस अध्ययनका लागि लमही आउनुपर्ने भएपछि समस्यामा हुनुहुन्थ्यो ।
बिबिएस अध्ययनसँगै क्याम्पस आउँनजान लाग्ने यातायात खर्चका कारण समस्या थियो तर वडा कार्यालयले भर्ना शुल्कदेखि मासिक शुल्कसम्म तिरिदिने भएपछि अध्ययनमा सहज भएको चौधरी बताउँनुहुन्छ । ‘पढाईका लागि वडाबाट सहयोग नभएको भए समस्या हुन्थ्यो । काम गरेर पैसा जुटाएर पढ्नुपर्ने अवस्था थियो’,विद्यार्थी चौधरीले भन्नुभयो,‘बिबिएस अध्ययनका लागि भर्नासँगै मासिक शुल्क छात्रवृतिबाट वडा कार्यालयले तिरिदिने भएपछि किताव कापी मात्र किन्न परेको छ । पढाई सजिलो भएको छ ।’
चौधरी जस्तै लमही–७ हस्नापुर निवासी प्रमिला केसी पनि देउखुरी बहुमुखी क्याम्पसमै अध्ययनरत हुनुहुन्छ । बिएड दोश्रो बर्षमा अध्ययनरत केसीलाई पनि पढ्नका लागि समस्या छैन । सामुदायिक क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि वडा कार्यालयले छात्रवृति उपलव्ध गराउने भएपछि पढ्नका लागि क्याम्पसमा पैसा तिर्न नपरेको उहाँको भनाई छ । ‘घरको सामान्य अवस्थाका कारण उच्च शिक्षा अध्ययनका लागि समस्या थियो’,उहाँले भन्नुभयो,‘क्याम्पसमा लाग्ने भर्ना शुल्कसँगै मासिक शुल्क वडा कार्यालयले नै व्यवस्था गरिदिएपछि पढ्नलाई समस्या छैन ।’
बिबिएस प्रथम बर्षमा अध्ययनरत चौधरी र बिएड दोश्रो बर्षमा अध्ययनरत केसी जस्तै स्नातक तहमा ७७ जना र प्राविधिक शिक्षाअन्तर्गत विभिन्न विद्यालयमा २६ जना विद्यार्थीले छात्रवृतिमा निशुल्क रुपमा अध्ययन गरिरहेको लमही नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष मोहन गिरी बताउनुहुन्छ । सामुदायिक विद्यालय र सरकारी क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई लक्षित छात्रवृत्ति कार्यक्रमअन्तर्गत देउखुरी बहुमुखी क्याम्पसमा शिक्षा संकायअन्तर्गत ५० जना र व्यवस्थापन संकायअन्तर्गत बिबिएसमा २७ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।
वडा अध्यक्ष गिरीका अनुसार उच्च शिक्षाका अतिरिक्त आदर्श नमुना माध्यमिक विद्यालय देउपुरमा सवओभरसियरमा ११ जना, बालजनता माध्यमिक विद्यालय वनगाउँमा कृषिमा १० जना र सूर्याेदय माध्यमिक विद्यालय नर्तीमा आर्किटेक इन्जिनियरिङमा पाँच जना विद्यार्थीले अध्ययन गरिरहेका छन् । आर्थिक बर्ष २०८०÷८१ देखि उपलव्ध गराउन थालेको छात्रवृतिले अध्ययनमा विद्यार्थीलाई सहयोग गरेको भन्दै वडाध्यक्ष गिरीले भन्नुभयो,‘आर्थिक रूपमा सम्पन्न परिवारका विद्यार्थीले निजी कलेजमा उच्च शिक्षा अध्ययन गरिरहँदा विपन्न समुदायका विद्यार्थी उच्च शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था थियो । गरिवीकै कारण विद्यार्थी पढ्नबाट बिञ्चत हुन नपरोस भनेर छात्रवृत्ति कार्यक्रम सञ्चालन गरेका हौ । अहिले विद्यार्थीलाई पढ्न सहयोग पुगेको छ ।’
देउखुरी बहुमुखी क्याम्पस लमहीका क्याम्प्स प्रमुख शिव वलीका अनुसार क्याम्पसमा लमही नगरपालिका वडा नं. १, ३, ६, ७ र ८ का दुई सय छ जना विद्यार्थी छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् । वडा नं. ७ वाट सुरु भएको छात्रवृति कार्यक्रमबाट अध्ययन गर्ने विद्यार्थी पनि धेरै ७७ जना रहेका छन् । त्यसैगरी वडा नं. ८ बाट ४७ जना, वडा नं. ६ बाट ३१ जना, वडा नं. १ बाट २६ जना र वडा नं. ३ बाट २५ जना विद्यार्थीले छात्रवृतिमा निशुल्क पढ्दै आएका छन् । क्याम्पसले विद्यार्थीसँग भर्ना शुल्क छ हजार दुई सय ५० रुपियाँ र मासिक आठ सय रुपियाँका दरले शुल्क लिने गरेको छ । छात्रवृतिका लागि वडा कार्यालयले चालु आर्थिक वर्षमा २२ लाख रुपियाँ बिनियोजन गरेको वडाध्यक्ष गिरी बताउँनुहुन्छ ।