दाङ,२९ असार । दाङमा विद्यालय व्यवस्थापन समितिको निर्वाचनका क्रममा मतदान अधिकृतमाथि मोबिल छर्किएको घटनामा संलग्न रहेको आरोपमा वडा सदस्य पक्राउ परेका छन् ।
घोराही उपमहानगरपालिका–१५ का वडा सदस्य समेत रहेका उत्तम बुढाथोकीलाई सोमवार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक डा हेमबहादुर केसीले जानकारी दिएका छन् ।
प्रहरी नायव उपरीक्षक केसीका अनुसार पक्राउ परेका बुढाथोकीले असार २७ गते बिहान करिब ७ : २० बजे घोराही उपमहानगरपालिका–१५ स्थित पद्यमोदय पब्लिक नमुना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा खटिएका मतदान अधिकृतलाई मतदान केन्द्रतर्फ मोटरसाइकलमा जाँदै गरेको समयमा रोकी शरीरमा मोबिल छर्किएको आरोप लागेको छ । मतदान अधिकृतका रुपमा घोराही उपमहानगरपालिका शिक्षा शाखा अधिकृत अजय बोहोरा खटिएका थिए ।
घटनापछि असार २८ गते अपमानजनक तथा अमानवीय व्यवहार सम्बन्धी कसुरमा मुद्धा दर्ता गरिएको थियो । मुद्धा दर्तासँगै दाङ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि सोमवार घोराही उपमहानगरपालिका–१५ रतनपुर निवासी बुढाथोकीलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक केसीले जानकारी दिएका छन् ।