अमरराज आचार्य
दाङ, २९ असार । घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ को बजेटमा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै करिब ८६ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । घोराही उपमहानगरले सडक, खानेपानी, सिँचाइ, विद्युत् विस्तार, पार्क, उद्यान, कल्भर्ट निर्माण तथा क्रमाङ्गत आयोजनालाई निरन्तरता दिने गरी ८५ करोड ९१ लाख ६२ हजार रुपैयाँको बजेट व्यवस्थापन गरेको हो ।
उपमहानगरपालिकाले पूर्वाधार विस्तारसँगै निर्माणाधीन आयोजना समयमै सम्पन्न गर्ने, स्थानीय आवश्यकता अनुसार नयाँ आयोजना अघि बढाउने तथा विकास आयोजनाको गुणस्तर सुधार गर्ने लक्ष्य लिएको जनाएको छ । बजेट अनुसार विगतदेखि कार्यान्वयनमा रहेका अधुरा, क्रमाङ्गत तथा बहुवर्षीय आयोजनालाई सम्पन्न गर्न एकमुष्ठ ५४ करोड १७ लाख ६२ हजार रुपैयाँ विनियोजन गरिएको छ । निर्माणको अन्तिम चरणमा पुगेका तथा बहुवर्षीय प्रतिबद्धता भएका योजनालाई प्राथमिकतामा राखेर बजेट छुट्याइएको हो । यसबाट लामो समयदेखि अपूरो रहेका आयोजना सम्पन्न हुने र लगानीको प्रतिफल प्राप्त हुने अपेक्षा गरिएको छ ।
स्थानीय तहको आवश्यकता र वडा कार्यालयको सिफारिसका आधारमा सञ्चालन हुने नगरस्तरीय आयोजना तथा टोल विकास संस्थामार्फत् कार्यान्वयन हुने योजनाका लागि २० करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । लागत साझेदारीको अवधारणा अनुसार २०–८०, ३५–६५ तथा ५०–५० प्रतिशतको मोडलमा सञ्चालन हुने यी योजनामा स्थानीय समुदायको सहभागिता सुनिश्चितता गरिने छ । यसले विकास आयोजनाप्रति स्थानीय स्वामित्व बढाउनुका साथै आयोजना कार्यान्वयनलाई प्रभावकारी बनाउने विश्वास उपमहानगरको छ ।
संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा सञ्चालन हुने समपूरक आयोजना तथा अन्य साझेदारी कार्यक्रमका लागि दुई करोड ९५ लाख रुपैयाँ छुट्याइएको छ । यसैगरी विगतका अधुरा वडा तथा नगर समपूरक आयोजना सम्पन्न गर्न थप दुई करोड ३८ लाख रुपैयाँ व्यवस्थापन गरिएको छ । यसबाट अधुरा आयोजनालाई पूर्णता दिई स्थानीयले प्रत्यक्ष लाभ लिन सक्ने वातावरण तयार हुने अपेक्षा गरिएको छ ।
यसैगरी सडक पूर्वाधारको संरक्षण र दिगोपनालाई ध्यानमा राख्दै कालोपत्रे सडकको नियमित मर्मत तथा व्यवस्थापनका लागि एक करोड २० लाख रुपैयाँ विनियोजन गरिएको छ । सडक निर्माणसँगै यसको मर्मत सम्भारलाई समान प्राथमिकता दिइएको उपमहानगरपालिकाले जनाएको छ । अहिले कालोपत्रे गरिएका सडक सहरभित्रै हिउँदमा धुलो र वर्षातमा हिलो हुने गरेको छ ।
नियमित मर्मत अभावमा सडकको आयु छोट्टिने र पुनः लगानी आवश्यक पर्ने अवस्थालाई मध्यनजर गर्दै मर्मत व्यवस्थापनका लागि छुट्टै बजेट व्यवस्थापन गरिएको उपमहानगरले जनाएको छ । वर्षायाममा हुने डुबान समस्यालाई न्यूनीकरण गर्न विशेष योजना अघि सारिएको छ ।
स्वर्गद्वारी एफएम नेटवर्क आसपासको क्षेत्रमा बर्सेनि हुने डुबान नियन्त्रणका लागि काठेकोहल स्कुलदेखि आर्मी ब्यारेकसम्म नाला निर्माण गर्न ६० लाख रुपैयाँ विनियोजन गरिएको छ । यस योजनाले वर्षायाममा हुने जलमग्न नियन्त्रण गर्नुका साथै स्थानीय बस्ती र सडक पूर्वाधारको संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
पूर्वाधार विकास अन्तर्गत सडक कालोपत्रे, ग्राभेल तथा बाटो स्तरोन्नति, कल्भर्ट निर्माण, सिँचाइ, खानेपानी, विद्युत् विस्तार, पार्क तथा उद्यान निर्माणलगायतका योजनाका लागि आन्तरिक स्रोतबाट मात्रै ८१ करोड ८० लाख ६२ हजार रुपैयाँ विनियोजन गरिएको छ । यसका अतिरिक्त सङ्घीय सरकारबाट प्राप्त एक करोड २९ लाख रुपैयाँ तथा प्रदेश सरकारबाट प्राप्त दुई करोड ७० लाख रुपैयाँ अनुदान पूर्वाधार विकासमै खर्च गरिने उपमहानगरले जनाएको छ ।
निर्माण कार्यको प्रभावकारी कार्यान्वयन र गुणस्तर सुनिश्चितता गर्न योजना अनुगमन, भवन अनुमति तथा भवन मापदण्ड कार्यान्वयनसम्बन्धी कार्यक्रमका लागि थप १२ लाख रुपैयाँ व्यवस्थापन गरिएको छ । उपमहानगरका अनुसार निर्माण कार्यलाई मापदण्ड अनुसार अघि बढाउने, अनियमितता नियन्त्रण गर्ने तथा योजनाको नियमित अनुगमनलाई सुदृढ बनाउने उद्देश्यले यो रकम विनियोजन गरिएको छ ।
यसैगरी पूर्वाधार विकासका लागि आन्तरिक स्रोत, सङ्घीय तथा प्रदेश सरकारको अनुदानसमेत गरी कूल ८५ करोड ९१ लाख ६२ हजार रुपैयाँ विनियोजन गरिएको छ । यो बजेटले सडक सञ्जाल विस्तार, कृषि तथा सहरी पूर्वाधार विकास, सुरक्षित खानेपानी, सिँचाइ सुविधा, सार्वजनिक पार्क तथा अन्य आधारभूत संरचनाको विकासमा उल्लेखनीय योगदान पुग्ने विश्वास गरिएको छ ।
उपमहानगरपालिकाले आगामी आर्थिक वर्षमा विकास आयोजनाको प्रभावकारी कार्यान्वयन, समयमै सम्पन्न गर्ने प्रणालीको विकास तथा स्थानीय सहभागितामा आधारित विकास मोडललाई थप सुदृढ बनाउने नीति लिएको छ । पूर्वाधार क्षेत्रमा गरिएको यो लगानीले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै रोजगारी सिर्जना, लगानी विस्तार र नागरिकको जीवनस्तर सुधारमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।