सवारी दुर्घटना न्यूनीकरण र सचेतना प्राथमिकता

गोरक्ष समाचारदाता
दाङ, २९ असार । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ प्रमुख एवम् प्रहरी निरीक्षक केशवबहादुर खड्काले सडक दुर्घटना न्यूनीकरण र यातायात सचेतनालाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । अछामबाट सरुवा भएर जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङमा आएका प्रहरी निरीक्षक खड्काले आइतवार आयोजना गरिएको पत्रकारसँग परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै सवारी आवागमनलाई सहज बनाउने, उलङ्घन गर्नेविरुद्ध कारबाहीसँगै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताएका हुन् ।

जिल्लामा ट्राफिक जनशक्तिको कमी रहेको भन्दै उपलब्ध जनशक्तिलाई प्रभावकारी रूपमा परिचालन गरी दुर्घटना घटाउनेतर्फ विशेष ध्यान दिइने बताए । सवारी दुर्घटना न्यूनीकरणसँगै सचेतनाका लागि सञ्चारकर्मीको साथ र सहयोग अपरिहार्य रहेको भन्दै उनले निरन्तर सहयोग आवश्यक रहने बताए । उनका अनुसार दाङमा ट्राफिक प्रहरीले सवारीसाधनको सिसामा टाँसिएका स्टिकर हटाउने अभियान अन्तर्गत हालसम्म चार सय बढी सवारीसाधनबाट स्टिकर हटाई सकिएको छ ।

कार्यक्रममा सहभागी पत्रकारले सवारी दुर्घटना न्यूनीकरणका लागि विभिन्न सुझाव प्रस्तुत गरेका थिए । उनीहरूले सवारीसाधनको गति नियन्त्रण, सिमेन्ट उद्योगका टिप्परबाट हुने ओभरलोड नियन्त्रण, मोडिफाइड मोटरसाइकल तथा अटो व्यवस्थापन तथा बजार क्षेत्र र मुख्य चोकमा जेब्रा क्रस र ट्राफिक लाइट राख्नेतर्फ पहल गर्न आग्रह गरेका थिए ।

राजस्व सङ्कलनभन्दा दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरीको सक्रियता बढाउन आवश्यक रहेकोमा पत्रकारले जोड दिएका थिए । घोराही–तुलसीपुर सडक विस्तारसँगै घोराही–लमही सडक मर्मतका क्रममा रहेकाले वर्षाद्को समयमा हुन सक्ने जोखिमलाई ख्याल गर्दै वर्षाद्मा दुर्घटना हनु नदिने गरी पहल गर्नसमेत आग्रह गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदी, महासंघका केन्द्रीय सचिव सविन प्रियासन, प्रेस काउन्सिल नेपालका पूर्व केन्द्रीय सदस्य शरद अधिकारी, पत्रकार महासंघका निवर्तमान सचिव आरके शितललगायतले सुझावसहितको मन्तव्य व्यक्त गरेका थिए ।