गोरक्ष समाचारदाता
तुलसीपुर, २९ असार । राप्ती आँखा अस्पताल, नेत्रज्योति प्राविधिक शिक्षालय, तुलसीपुर–४, दाङमा सेनिटरी प्याड वितरण गरेको छ । नेत्रसहायक अध्ययन गर्ने छात्रा तथा स्टाफका लागि सेनिटिरी प्याड वितरण गरिएको हो । राप्ती परोपकार संस्था, नेपाल दाङले किशोरीको महिनावारी स्वास्थ्य तथा सरसफाइप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्याड वितरण गरेको हो ।
राप्ती परोपकार संस्था, दाङका उपाध्यक्ष गोरख वलीको अध्यक्षता तथा नेपाल नेत्रज्योति संघका केन्द्रीय सदस्य अस्पताल व्यवस्थापन समिति अध्यक्ष कृष्णकुमार गिरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । प्रमुख अतिथि गिरीले किशोरीको स्वास्थ्य र सम्मानजनक महिनावारी व्यवस्थापन सुनिश्चितता गर्न समुदाय, शैक्षिक संस्था र सामाजिक संघसंस्थाबिच सहकार्य आवश्यक रहेको बताएका थिए ।
यस्ता खालका सचेतनामूलक कार्यक्रमले विद्यार्थीहरूमा सही ज्ञान र व्यवहार विकास गर्न सहयोग पुग्ने उल्लेख गर्दै उनले सामाजिक उत्तरदायित्वका कार्यलाई निरन्तरता दिनु पर्नेमा जोड दिएका थिए । अध्यक्ष गोरख वलीले राप्ती परोपकार संस्था समाजका आवश्यकता पहिचान गरी स्वास्थ्य, शिक्षा तथा सामाजिक क्षेत्रमा निरन्तर सक्रिय रहेको बताए ।
संस्थाका सल्लाहकार सुरेश हमालले महिनावारी प्राकृतिक प्रक्रिया भएकाले यसलाई लुकाउने वा सङ्कोचको विषय नभई खुला रूपमा स्वास्थ्य शिक्षा प्रदान गर्नु पर्ने बताए । किशोरीलाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउनुका साथै सही जानकारी दिन सके उनीहरूको आत्मविश्वास र स्वास्थ्य दुवैमा सकारात्मक प्रभाव पर्ने उनको भनाइ थियो ।
यसैगरी राप्ती आँखा अस्पतालका मेडिकल डाइरेक्टर सप्राडा रन्जितकुमार साह सहयोगी संस्थालाई धन्यवाद दिँदै आगमी दिनमा सहकार्य र सहयोगको अपेक्षा गरे । आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जका बरिष्ठ अनुगमन तथा मूल्याङ्कन अधिकृत शालिकराम गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण निरला अर्यालले गरेकी थिइन् ।