पर्खालविहीन कक्षाकोठा : अनुभवात्मक सिकाइको भविष्य–२

यादव गिरी

अनुभवात्मक सिकाइको दार्शनिक आधार,

पहिलो भागमा हामीले शिक्षाको बदलिँदो परिवेश, पर्खालविहीन कक्षाकोठाको अवधारणा तथा अनुभवात्मक सिकाइको आवश्यकतासम्बन्धी चर्चा गर्यौं । आजको शिक्षाले केवल सूचना प्रदान गर्ने कार्यबाट अघि बढेर ज्ञान निर्माण, सिप विकास र चरित्र निर्माणलाई समान रुपमा प्राथमिकता दिनु पर्ने आवश्यकता स्पष्ट भइसकेको छ । यही सन्दर्भमा अनुभवात्मक सिकाइ केवल एउटा शिक्षण विधि मात्र होइन, शिक्षालाई हेर्ने समग्र दृष्टिकोण हो ।

अनुभवात्मक सिकाइको मूल विश्वास के हो भने मानिसले आफूले प्रत्यक्ष रुपमा गरेको काम, भोगेको अनुभव, समाधान गरेको समस्या र आफ्नै प्रयासबाट प्राप्त गरेको उपलब्धिलाई बढी गहिराइका साथ सिक्छ । पढेर थाहा पाउनु र गरेर बुझ्नुबिच ठूलो अन्तर हुन्छ । एउटा विद्यार्थीले वातावरण संरक्षणबारे पुस्तकबाट धेरै जानकारी प्राप्त गर्न सक्छ, तर यदि उसले आफ्नो विद्यालय परिसरमा वृक्षारोपण गर्छ, बिरुवाको नियमित हेरचाह गर्छ, त्यसको वृद्धि मापन गर्छ र त्यसको वातावरणीय प्रभावबारे अध्ययन गर्छ भने प्राप्त हुने सिकाइ अझ स्थायी, अर्थपूर्ण र जीवनोपयोगी हुन्छ ।

यही कारणले विश्वभरका शिक्षाविद्ले विद्यालय शिक्षालाई वास्तविक जीवनसँग जोड्ने प्रयास गरिरहेका छन् । शिक्षा अब केवल उत्तर याद गर्ने अभ्यासमा सीमित रहन सक्दैन । आजको समाजले जिज्ञासु, अनुसन्धानमुखी, सहकार्य गर्न सक्ने, नैतिक निर्णय लिन सक्ने र निरन्तर सिकिरहने नागरिकको अपेक्षा गर्दछ । यस्तो नागरिक निर्माणका लागि विद्यार्थीलाई वास्तविक परिस्थितिसँग साक्षात्कार गराउनु अपरिहार्य छ ।

यस प्रक्रियामा शिक्षकको भूमिका पनि उल्लेखनीय रुपमा परिवर्तन हुन्छ । परम्परागत शिक्षण प्रणालीमा शिक्षकलाई ज्ञानको प्रमुख स्रोतका रुपमा हेरिन्थ्यो । कक्षामा शिक्षक बोल्ने र विद्यार्थी सुन्ने, नोट गर्ने तथा परीक्षा दिने अभ्यासलाई सामान्य मानिन्थ्यो । यस्तो प्रणालीमा विद्यार्थीको जिज्ञासा, सिर्जनशीलता र स्वतन्त्र सोच धेरै हदसम्म सीमित हुन सक्थ्यो ।

तर अनुभवात्मक सिकाइमा शिक्षक ज्ञानको एकमात्र स्रोत होइन, सिकाइको सहयात्री, मार्गदर्शक, सहजकर्ता र प्रेरक बन्छन् । शिक्षकले विद्यार्थीलाई उत्तर दिनुभन्दा सही प्रश्न सोध्न प्रेरित गर्छन् । उनीहरुले सिकाइको वातावरण सिर्जना गर्छन्, स्रोत उपलब्ध गराउँछन्, अनुसन्धानको दिशा देखाउँछन् र विद्यार्थीलाई आफ्नै अनुभवबाट निष्कर्ष निकाल्न प्रोत्साहित गर्छन् । यसरी शिक्षकको सफलता उनले कति लामो व्याख्यान दिए भन्ने आधारमा होइन, विद्यार्थीलाई कति सक्रिय, जिज्ञासु र सिर्जनशील बनाउन सके भन्ने आधारमा मापन हुन थाल्छ । शिक्षणको केन्द्र शिक्षकबाट विद्यार्थीतर्फ सर्छ। विद्यार्थी निष्क्रिय श्रोता नभई सिकाइ प्रक्रियाको सक्रिय सहभागी बन्छ ।

विद्यार्थीको भूमिकामा आएको परिवर्तन अझ महत्व छ । अब उसले केवल पाठ सम्झनु पर्याप्त हुँदैन । उसले प्रश्न गर्न, प्रमाण खोज्न, तथ्यको विश्लेषण गर्न, आफ्ना विचार प्रस्तुत गर्न, समूहमा सहकार्य गर्न, असफलताबाट सिक्न र नयाँ समाधान खोज्न सक्षम हुनुपर्छ । यही प्रक्रियाले आत्मविश्वास, नेतृत्व, उत्तरदायित्व र जीवनोपयोगी सीपहरुको विकास गर्छ ।

अनुभवात्मक सिकाइको एउटा प्रभावकारी माध्यम परियोजनामूलक सिकाइ हो । यसमा विद्यार्थीले कुनै वास्तविक समस्या वा विषयलाई आधार बनाएर निश्चित अवधिसम्म अध्ययन, अनुसन्धान, छलफल, तथ्य सङ्कलन, विश्लेषण र समाधानको खोजी गर्छन् । अन्त्यमा उनीहरुले आफ्नो निष्कर्ष प्रतिवेदन, प्रस्तुति, प्रदर्शनी वा अन्य माध्यमबाट सार्वजनिक गर्छन् ।

उदाहरणका लागि, कक्षा आठका विद्यार्थीलाई ‘हाम्रो गाउँको खानेपानीको अवस्था’ शीर्षकमा परियोजना दिइयो भने उनीहरुले स्थानीय स्रोतहरुको अवलोकन गर्न सक्छन्, पानीको उपयोगबारे सर्वेक्षण गर्न सक्छन्, सम्बन्धित निकायसँग छलफल गर्न सक्छन्, पानीको नमुना परीक्षण गर्न सक्छन् र सुधारका सुझाव तयार गर्न सक्छन् । यस प्रक्रियामा विज्ञान, गणित, सामाजिक अध्ययन, भाषा, सूचना–प्रविधि र सञ्चार सिप सबैको प्रयोग हुन्छ । यही नै समग्र शिक्षाको सुन्दर उदाहरण हो ।

त्यस्तै कृषि प्रधान नेपालको सन्दर्भमा विद्यालयका विद्यार्थीले स्थानीय बाली, जैविक खेती, जल संरक्षण, फोहोर व्यवस्थापन, स्थानीय उद्योग, सांस्कृतिक सम्पदा वा पर्यटन सम्भावनासम्बन्धी परियोजना सञ्चालन गर्न सक्छन् । यस्ता गतिविधिले पाठ्यपुस्तकमा भएका विषयलाई जीवनसँग जोडिदिन्छन् ।

शिक्षक–विद्यार्थीको बदलिँदो भूमिका र परियोजनामूलक सिकाइ

अनुभवात्मक सिकाइले विद्यार्थीलाई गल्ती गर्न पनि स्वतन्त्रता दिन्छ । परम्परागत प्रणालीमा गल्तीलाई कमजोरीका रुपमा हेरिन्छ भने अनुभवात्मक सिकाइमा गल्तीलाई सिकाइको अवसर मानिन्छ । कुनै प्रयोग असफल भयो भने त्यसबाट किन असफल भयो भन्ने विश्लेषण गर्नु पनि महत्व सिकाइ हो । यही प्रक्रियाले वैज्ञानिक सोच, धैर्य र समस्या समाधान गर्ने क्षमता विकास गर्छ ।

आज विश्वभर उद्यमशीलता शिक्षालाई पनि विशेष महत्व दिइँदै छ । उद्यमशीलता भनेको केवल व्यवसाय सञ्चालन गर्नु होइन; नयाँ सोच, नयाँ समाधान र नयाँ अवसर सिर्जना गर्ने क्षमता हो । विद्यालयमै विद्यार्थीलाई साना उद्यम, सामाजिक परियोजना, नवप्रवर्तन प्रतियोगिता, विज्ञान प्रदर्शनी, विद्यार्थी सहकारी वा सामुदायिक सेवा कार्यक्रममा सहभागी गराउँदा उनीहरुमा नेतृत्व, आर्थिक चेतना, योजना निर्माण, जोखिम व्यवस्थापन र सहकार्य गर्ने बानीको विकास हुन्छ । यी सबै अनुभवात्मक सिकाइका महत्व आयाम हुन् ।

यससँगै मूल्याङ्कन प्रणालीमा पनि परिवर्तन आवश्यक हुन्छ । यदि शिक्षण अनुभवमा आधारित छ भने मूल्याङ्कन पनि केवल तीन घण्टे लिखित परीक्षामा सीमित रहनु उचित हुँदैन । विद्यार्थीले गरेको परियोजना, अनुसन्धान, प्रस्तुति, सिर्जनात्मक कार्य, समूहगत सहभागिता, समस्या समाधान गर्ने क्षमता, व्यवहार, नेतृत्व र आत्ममूल्याङ्कनलाई समेत मूल्याङ्कनको आधार बनाइनुपर्छ । यसले विद्यार्थीलाई केवल अङ्कका लागि होइन, वास्तविक सिकाइका लागि प्रेरित गर्छ ।

नेपालमा धेरै विद्यालयले विज्ञान प्रदर्शनी, शैक्षिक भ्रमण, वक्तृत्वकला, हाजिरीजवाफ, खेलकुद, स्काउट, जुनियर रेडक्रस, इको क्लब, विद्यालय बगैँचा तथा सामुदायिक सेवा कार्यक्रम सञ्चालन गरिरहेका छन् । यी गतिविधि केवल अतिरिक्त क्रियाकलाप होइनन्; यदि योजनाबद्ध रुपमा पाठ्यक्रमसँग जोडिएर सञ्चालन गरिए भने अनुभवात्मक सिकाइका प्रभावकारी माध्यम बन्न सक्छन् ।

यद्यपि, यस्ता कार्यक्रमलाई अझ व्यवस्थित बनाउन शिक्षकको व्यावसायिक विकास, विद्यालय नेतृत्वको सक्रियता, अभिभावकको सहभागिता तथा स्थानीय समुदायसँगको सहकार्य आवश्यक छ । विद्यालय एक्लैले पर्खालविहीन कक्षाकोठा निर्माण गर्न सक्दैन । यसका लागि स्थानीय सरकार, निजी क्षेत्र, विश्वविद्यालय, सामाजिक संस्था, उद्योग, कृषि फार्म, स्वास्थ्य संस्था, सांस्कृतिक समूह र सञ्चारमाध्यमबिच अर्थपूर्ण साझेदारी आवश्यक हुन्छ ।

अन्ततः अनुभवात्मक सिकाइले शिक्षालाई जीवनसँग जोड्ने कार्य गर्छ । यसले विद्यार्थीलाई केवल परीक्षामा सफल हुने होइन, जीवनमा सफल हुने आधार तयार पार्छ । ज्ञान, सिप, मूल्य र व्यवहारबिच सन्तुलन कायम गर्ने यही दृष्टिकोण नै भविष्यको शिक्षाको वास्तविक आधार हो ।

विश्वका सफल अभ्यास

अनुभवात्मक सिकाइको प्रभावकारिता आज विश्वका धेरै देशले व्यवहारमै प्रमाणित गरिसकेका छन् । विकसित मात्र होइन, विकासोन्मुख राष्ट्रहरुले पनि विद्यालय शिक्षालाई स्थानीय आवश्यकता, समुदायको सहभागिता र वास्तविक जीवनसँग जोड्ने प्रयासलाई तीव्र बनाएका छन् ।

यसबाट एउटा स्पष्ट सन्देश प्राप्त हुन्छ– गुणस्तरीय शिक्षा भनेको महँगा भवन वा अत्याधुनिक उपकरणको मात्र परिणाम होइन; सिकाइलाई जीवनसँग जोड्ने सोच, सक्षम शिक्षक, लचिलो पाठ्यक्रम र सक्रिय समुदायको संयुक्त प्रयासको परिणाम हो । विश्वका धेरै विद्यालयमा विद्यार्थीलाई वर्षभरि विभिन्न परियोजना, अनुसन्धान, सामाजिक सेवा, वातावरण संरक्षण, स्थानीय सम्पदाको अध्ययन, विज्ञान प्रयोग, उद्यमशीलता तथा सिर्जनात्मक गतिविधिमा सहभागी गराइन्छ ।

विद्यार्थीले कक्षाकोठामा सिकेको ज्ञानलाई समाजमा प्रयोग गर्ने अवसर पाउँछन् । यसले उनीहरुमा आत्मविश्वास बढाउँछ, सिकाइप्रति रुचि जगाउँछ र विद्यालयलाई समाजसँग जोड्ने बलियो माध्यम बन्छ ।

उदाहरणका रुपमा वातावरणीय शिक्षालाई लिन सकिन्छ । जलवायु परिवर्तन आज विश्वकै साझा चुनौती बनेको छ । यस विषयमा केवल पाठ्यपुस्तक पढाएर मात्र विद्यार्थीलाई जिम्मेवार नागरिक बनाउन सकिँदैन । यदि विद्यालयले विद्यार्थीलाई स्थानीय नदी, वन, जलस्रोत वा जैविक विविधताको प्रत्यक्ष अध्ययनमा सहभागी गराउँछ भने उनीहरुले वातावरण संरक्षणको महत्व अनुभवबाट बुझ्छन् ।

उनीहरुले फोहोर व्यवस्थापन, प्लास्टिक न्यूनीकरण, वर्षा पानी सङ्कलन, वृक्षारोपण तथा ऊर्जा बचतजस्ता कार्यमा सक्रिय सहभागिता जनाउँदा सिकाइ व्यवहारमा रुपान्तरण हुन्छ । यसैगरी स्वास्थ्य शिक्षालाई पनि व्यवहारसँग जोड्न सकिन्छ । विद्यार्थीहरुले स्थानीय स्वास्थ्य संस्थाको अवलोकन गर्न सक्छन्, पोषणसम्बन्धी सर्वेक्षण सञ्चालन गर्न सक्छन्, सरसफाइ अभियानमा सहभागी हुन सक्छन् वा मानसिक स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सक्छन् । यस्तो सिकाइले पुस्तकमा सीमित जानकारीलाई जीवनोपयोगी ज्ञानमा रुपान्तरण गर्छ ।

डिजिटल प्रविधि, समुदायसँगको सहकार्य र २१औँ शताब्दीका सिप

डिजिटल प्रविधिको विकासले पर्खालविहीन कक्षाकोठाको अवधारणालाई अझ व्यापक बनाएको छ । इन्टरनेट, डिजिटल पुस्तकालय, भर्चुअल प्रयोगशाला, शैक्षिक भिडियो, अन्तरक्रियात्मक सिकाइ प्लेटफर्म, कृत्रिम बुद्धिमत्ता र अनलाइन सहकार्यका माध्यमले विद्यार्थीलाई विश्वका उत्कृष्ट स्रोतहरुसम्म पहुँच दिएको छ ।

आज एउटा विद्यालयले आफ्नै कक्षाकोठाबाट विश्वका विभिन्न देशका विद्यालयसँग अनुभव आदानप्रदान गर्न सक्छ । वैज्ञानिकसँग संवाद गर्न सक्छ । सङ्ग्रहालयको भर्चुअल भ्रमण गर्न सक्छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन सक्छ । यसले सिकाइको दायरा अभूतपूर्व रुपमा विस्तार गरेको छ । तर यहाँ एउटा महत्व पक्ष बुझ्न आवश्यक छ । प्रविधि आफैँ शिक्षा होइन; प्रविधि शिक्षाको माध्यम मात्र हो ।

यदि प्रविधिको प्रयोग केवल नोट पठाउने, गृहकार्य दिने वा परीक्षा सञ्चालन गर्ने काममा सीमित रह्यो भने त्यसले अपेक्षित परिवर्तन ल्याउन सक्दैन । प्रविधिले विद्यार्थीको जिज्ञासा बढाउन, अनुसन्धानलाई सहज बनाउन, सहकार्यको अवसर विस्तार गर्न र सिर्जनात्मकता अभिवृद्धि गर्न सके मात्र त्यसको वास्तविक उपयोग हुन्छ ।

नेपालका विद्यालयहरुमा पनि पछिल्ला वर्षहरुमा डिजिटल प्रविधिको प्रयोग विस्तार हुँदै गएको छ । धेरै विद्यालयमा स्मार्ट बोर्ड, कम्प्युटर प्रयोगशाला, इन्टरनेट सेवा, डिजिटल सामग्री तथा अनलाइन सिकाइका अभ्यास सुरु भएका छन् । तथापि, प्रविधिको पहुँच सबै विद्यालयमा समान छैन । ग्रामीण तथा दुर्गम क्षेत्रमा विद्युत्, इन्टरनेट, उपकरण र प्राविधिक जनशक्तिको अभाव अझै चुनौतीका रुपमा रहेको छ । त्यसैले प्रविधिको विस्तारसँगै समान पहुँच सुनिश्चित गर्नु पनि राज्यको प्राथमिक दायित्व हो ।

पर्खालविहीन कक्षाकोठाको अर्को बलियो आधार समुदायसँगको सहकार्य हो । विद्यालय र समुदायबिचको सम्बन्ध जति बलियो हुन्छ, सिकाइ त्यति नै जीवनसँग जोडिन्छ । समुदाय विद्यार्थीका लागि जीवित पाठ्यपुस्तक हो । स्थानीय किसानले कृषि सिकाउन सक्छन् । कारीगरले हस्तकलाको ज्ञान दिन सक्छन् । स्वास्थ्यकर्मीले स्वास्थ्य शिक्षा दिन सक्छन् । स्थानीय उद्यमीले व्यवसाय व्यवस्थापनका व्यवहारिक पक्ष सिकाउन सक्छन् । कलाकारले सिर्जनात्मक अभिव्यक्ति र सांस्कृतिक सम्पदाको महत्व बुझाउन सक्छन् ।

यसरी विद्यालयले समुदायभित्र रहेका ज्ञान, सिप र अनुभवलाई शिक्षण प्रक्रियामा समेट्न सके सिकाइ अझ प्रभावकारी बन्छ । नेपालको सांस्कृतिक विविधता, भौगोलिक विशेषता र स्थानीय ज्ञान प्रणाली आफैँमा एउटा विशाल शैक्षिक प्रयोगशाला हो । हिमाली क्षेत्रमा हिमनदी र जैविक विविधता, पहाडी क्षेत्रमा जलाधार र सामुदायिक वन, तराई क्षेत्रमा कृषि, वन्यजन्तु र औद्योगिक गतिविधि– यी सबै सिकाइका जीवित स्रोत हुन् ।

विद्यालयले स्थानीय सन्दर्भलाई पाठ्यक्रमसँग जोड्न सके विद्यार्थीले आफ्नै समाजलाई गहिरो रुपमा बुझ्न सक्छन् । यसले स्थानीय पहिचानप्रति गर्व, सामाजिक उत्तरदायित्व र राष्ट्रिय एकताको भावना पनि बलियो बनाउँछ ।

आज विश्वले विशेष रुपमा जोड दिएको अर्को पक्ष हो– २१औँ शताब्दीका सिप । केवल विषयगत ज्ञान अब पर्याप्त मानिँदैन । विद्यार्थीमा आलोचनात्मक सोच, सिर्जनात्मकता, सञ्चार क्षमता, सहकार्य गर्ने बानी, समस्या समाधान गर्ने क्षमता, डिजिटल साक्षरता, भावनात्मक बुद्धिमत्ता, नैतिक नेतृत्व, अन्तरसांस्कृतिक समझ र जीवनभर सिक्ने बानी विकास हुनु आवश्यक छ ।

यी सिपहरु व्याख्यानबाट मात्र विकास हुँदैनन् । विद्यार्थीले समूहमा काम गर्दा सहकार्य सिक्छ । अनुसन्धान गर्दा आलोचनात्मक सोच विकसित हुन्छ । परियोजना सञ्चालन गर्दा योजना निर्माण र नेतृत्व क्षमता बढ्छ । समुदायसँग काम गर्दा सामाजिक संवेदनशीलता विकसित हुन्छ । प्रस्तुति गर्दा सञ्चार क्षमता सुधारिन्छ । असफलताबाट पुनः प्रयास गर्दा धैर्य र आत्मविश्वास बढ्छ । त्यसैले अनुभवात्मक सिकाइ २१औँ शताब्दीका सिप विकास गर्ने सबैभन्दा प्रभावकारी माध्यमका रुपमा स्थापित भएको छ ।

यसका लागि विद्यालय नेतृत्व पनि परिवर्तनशील हुनुपर्छ । प्रधानाध्यापक केवल प्रशासनिक प्रमुख भएर मात्र पुग्दैन । उनी शैक्षिक नेतृत्वकर्ता, नवप्रवर्तनका प्रवर्धक र सिकाइ संस्कृति निर्माण गर्ने अभियन्ता बन्नुपर्छ । विद्यालयले शिक्षकलाई नयाँ विधि प्रयोग गर्न प्रोत्साहन गर्नुपर्छ । असफल प्रयासलाई पनि सिकाइको अवसरका रुपमा स्वीकार गर्नुपर्छ । नवप्रयोगलाई सम्मान गर्ने वातावरण निर्माण हुनुपर्छ ।

अभिभावकको भूमिका पनि उत्तिकै महत्व छ । कतिपय अभिभावक अझै पनि राम्रो शिक्षा भनेको धेरै गृहकार्य, धेरै परीक्षा र धेरै अंक भन्ने धारणा राख्छन् । तर आजको शिक्षाले विद्यार्थीको समग्र विकासलाई प्राथमिकता दिन्छ । त्यसैले अभिभावकले पनि अनुभवात्मक सिकाइको महत्व बुझेर विद्यालयसँग सहकार्य गर्न आवश्यक छ । घरमा जिज्ञासा बढाउने वातावरण, पुस्तक पढ्ने बानी, सामाजिक उत्तरदायित्वका गतिविधिमा सहभागिता र संवादमुखी पारिवारिक संस्कृति सिर्जना गर्न सके सिकाइ अझ प्रभावकारी बन्छ ।

अन्ततः पर्खालविहीन कक्षाकोठा कुनै नयाँ भवनको नाम होइन, यो नयाँ सोचको नाम हो । यसले विद्यालयलाई समाजसँग, पाठ्यक्रमलाई जीवनसँग, ज्ञानलाई व्यवहारसँग र विद्यार्थीलाई भविष्यसँग जोड्ने कार्य गर्छ । यही दृष्टिकोणले शिक्षालाई प्रमाणपत्र प्राप्त गर्ने प्रक्रियाबाट जीवन निर्माण गर्ने प्रक्रियामा रुपान्तरण गर्न सक्छ ।

आगामी दशकमा सफल हुने शिक्षा प्रणाली त्यो हुनेछ, जसले विद्यार्थीलाई केवल उत्तर दिने होइन, सही प्रश्न सोध्न सिकाउँछ; केवल जानकारी दिने होइन, ज्ञान सिर्जना गर्न प्रेरित गर्छ; केवल प्रतिस्पर्धा होइन, सहकार्यको मूल्य सिकाउँछ र केवल रोजगारीका लागि होइन, जिम्मेवार, नैतिक, सिर्जनशील र आत्मनिर्भर नागरिक बन्नका लागि तयार पार्छ । यही भविष्यको शिक्षाको वास्तविक मार्ग हो ।