प्रेरणाको विन्दु
तुफानबाबु श्रेष्ठ
जीवन एउटा यात्रा हो, जहाँ हरेक व्यक्तिले आफ्नो लक्ष्यतर्फ अघि बढ्ने क्रममा अनेकौँ चुनौती, अवरोध र कठिनाइको सामना गर्नुपर्छ । कतिपय चुनौती यस्ता हुन्छन्, जसले हाम्रो आत्मविश्वासलाई नै परीक्षा दिन्छन् । त्यस्तो बेला हामी दुई बाटामध्ये एउटा रोज्न बाध्य हुन्छौँ– डरका कारण पछाडि हट्ने कि साहसका साथ जोखिम उठाएर अगाडि बढ्ने । इतिहासका सफल व्यक्तिलाई हेर्दा एउटा कुरा स्पष्ट देखिन्छ, उनीहरूले असफलताको डरलाई जितेर नयाँ सम्भावनाको खोजी गरेका थिए ।
प्रस्तुत कथा ‘जमेको नदी’ ले पनि डर, साहस र आत्मविश्वास बिचको यही सङ्घर्षलाई सरल तर गहिरो रूपमा चित्रण गरेको छ । लद्दाखको एउटा सानो र रमणीय गाउँमा सुमित र रोहित नाम गरेका दुई साथी बस्थे । उनीहरू युवावस्थामा थिए र आफ्नो भविष्यप्रति ठूला सपना बोकेका थिए ।
गाउँमा सीमित अवसर भएकाले एक दिन उनीहरूले गाउँ छोडेर सहर जाने र त्यहाँ कुनै काम व्यवसाय खोज्ने निर्णय गरे । भोलिपल्ट बिहानै उनीहरूले आवश्यक सामान तयार पारे र उत्साहका साथ यात्रामा निस्किए । लामो समयसम्म हिँड्दै जाँदा उनीहरूको बाटोमा एउटा ठूलो नदी आइपुग्यो । चिसो अत्यधिक भएकाले नदीको पानी पूर्ण रूपमा जमेको थियो । नदीको सतह बाक्लो बरफले ढाकिएको थियो ।
तर त्यो जमेको नदी पार गर्नु सजिलो थिएन । बरफ चिप्लो थियो । एक पटक खुट्टा चिप्लिए गम्भीर चोट लाग्न सक्थ्यो । त्यसैले दुवै साथी केही समय रोकिए र वरिपरी पुलको खोजी गर्न थाले । उनीहरूले धेरै टाढासम्म नजर दौडाए, तर कतै पनि नदी पार गर्ने सुरक्षित पुल भेटिएन । अन्ततः रोहितले निराश हुँदै भन्यो– ‘हाम्रो भाग्य नै खराब रहेछ । अब फर्कौं । गर्मी मौसम आएपछि फेरि सहर जाने योजना बनाऔँला’ तर सुमितको सोच फरक थियो । उसले दृढ स्वरमा भन्यो– ‘नदीपारी नै सहर छ । हामी यति टाढासम्म आइपुगेका छौँ । अब फर्किने होइन, अगाडि बढ्ने समय हो ।’
यति भन्दै ऊ सावधानीपूर्वक बरफमाथि पाइला चाल्न थाल्यो । रोहित आत्तिँदै चिच्यायो– ‘के गर्दैछौ ? तिमी पागल भयौ कि क्या हो ? लड्छौ, चोट लाग्छ !’ उसको कुरा सकिन नपाउँदै सुमितको खुट्टा चिप्लियो र ऊ लड्यो । रोहितले तुरुन्त भन्यो– ‘मैले भनेकै थिएँ नि, नजाऊ भनेर !’ तर सुमित निराश भएन । ऊ उठ्यो र फेरि अघि बढ्न थाल्यो । एक कदम, दुई कदम, तीन कदम गर्दै अघि बढ्दा फेरि ऊ लड्यो । यस पटक पनि उसले हार मानेन । रोहितले निरन्तर सम्झाइरह्यो, ‘बस, अब पुग्यो । फर्किऔँ । अझ अगाडि गयौ भने ठूलो चोट लाग्न सक्छ ।’
तर सुमितले उसको कुरा सुने पनि आफ्नो लक्ष्य बिर्सेन । उसले प्रत्येक पटक लडाइबाट केही सिक्दै गयो । विस्तारै उसले बरफमा कसरी सन्तुलन मिलाउने, कसरी पाइला चाल्ने र कसरी चिप्लिनबाट बच्ने भन्ने सिप सिक्यो । केही समयपछि उसले आत्मविश्वासका साथ नदी पार गरिसकेको थियो । नदीको अर्को किनारमा पुगेर उसले मुस्कुराउँदै रोहितलाई भन्यो– ‘हेर, मैले नदी पार गरें । अब तिम्रो पालो’ तर रोहित अझै डराइरहेको थियो ।
उसले टाउको हल्लाउँदै भन्यो– ‘म सक्दिनँ । म यहीँ सुरक्षित छु ।’ सुमितले सोध्यो– ‘तर तिमीले पनि त सहर जाने निर्णय गरेका थियौ नि ?’ रोहितले उत्तर दियो– ‘म यो जोखिम लिन सक्दिनँ ।’ सुमितले केही भनेन । उसले मनमनै सोच्यो, ‘सक्दैन कि गर्न चाहँदैन ?’ त्यसपछि ऊ आफ्नो गन्तव्यतर्फ अघि बढ्यो र रोहित त्यहीँ उभिरह्यो ।
वास्तवमा, हाम्रो जीवनमा पनि यस्ता ‘जमेका नदी’ बारम्बार आउँछन् । कहिले ती कठिन परीक्षा बनेर आउँछन्, कहिले आर्थिक समस्या, कहिले नयाँ अवसरको चुनौती, त कहिले आफ्नै डर र असुरक्षाको रूपमा । त्यस्तो अवस्थामा केही मानिस रोहितझैँ सुरक्षित स्थानमै बस्न रुचाउँछन् । उनीहरू असफलताको डरले नयाँ प्रयास गर्न हिच्किचाउँछन् । तर केही मानिस सुमितझैँ जोखिम उठाउँछन् । उनीहरू लड्छन्, असफल हुन्छन्, फेरि उठ्छन् र अन्ततः सफलता हासिल गर्छन् । सफलताको बाटोमा घाउ, चोट र असफलताका क्षण आउन सक्छन् । तर ती अस्थायी हुन्छन् । बरु जीवनभर प्रयास नगरेर बसेको पछुतो अझ पीडादायी हुन्छ ।
‘जमेको नदी’ कथा केवल दुई साथीहरूको यात्रा होइन, यो हरेक व्यक्तिको जीवनसँग जोडिएको प्रेरणादायी सन्देश हो । डर स्वाभाविक हो, तर डरकै कारण अवसर गुमाउनु बुद्धिमानी होइन । जोखिम बिना प्रगति सम्भव हुँदैन । जीवनमा कहिले काहीँ लड्नु, चोट खानु र असफल हुनु पनि सफलताको यात्राको हिस्सा हो । पिँजडाभित्रको चरा सबैभन्दा सुरक्षित हुन सक्छ, तर उसको वास्तविक अस्तित्व खुला आकाशमा स्वतन्त्र रूपमा उड्नमा निहित हुन्छ । त्यसैले प्रश्न सुरक्षा रोज्ने कि सम्भावनाको आकाश चुम्ने भन्ने होइन, प्रश्न आफ्नो सपनाका लागि साहसिक कदम चाल्ने कि डरको कैदी बनेर बस्ने भन्ने हो । निर्णय सधैँ हाम्रो आफ्नै हातमा हुन्छ ।