दाङ,२६ असार । दाङको देउखुरीमा जिल्लास्तरीय प्रथम बाघनाथ भलिबल कप प्रतियोगिता २०८३ हुने भएको छ । श्री बाघनाथ भलिबल ट्रेनिङ सेन्टरको आयोजनामा गढवा गाउँपालिका–३ खैरेनीमा असारको ३१ गतेदेखि साउन १ गतेसम्म तीन दिन जिल्लास्तरीय प्रथम बाघनाथ भलिबल प्रतियोगिता हुने भएको हो ।
खेलाडी उत्पादन, खेल प्रतिभाको पहिचान तथा समाजमा खेल संस्कृतिको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न थालिएको आयोजक श्री बाघनाथ भलिबल ट्रेनिङ सेन्टरले जनाएको छ । स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेलू भन्ने मूल नाराका साथ सञ्चालन हुने प्रतियोगिता खुला पुरुष भलिबलतर्फ हुनेछ।
आयोजकका अनुसार प्रतियोगितामा जिल्लाभित्रका विभिन्न क्लब तथा टोलीहरूले सहभागिता जनाउन सक्नेछन्। प्रतियोगितामा प्रथम हुने टोलीले नगद ५१ हजार एक सय ११ रुपैयाँसहित कप तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टोलीले नगद २१ हजार एक सय ११ रुपैयासहित कप तथा प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीका लागि दर्ता शुल्क ५ हजार ५ सय ५५ रुपैयाँ तोकिएको छ।
टिम दर्ताका लागि असार ३० गते बेलुका ६ बजेसम्मका लागि समय रहेको आयोजकले जनाएको छ । प्रतियोगिताका खेलहरु गढवा गाउँपालिका–३ खैरेनीस्थीत राप्ती टेक्निकल स्कुल नजिकै हुनेछन् । प्रतियोगिताको संरक्षकमा गढवा गाउँपालिका– ३ वडा कार्यालय रहेको छ ।