लीलाधर वली
दाङ, २५ असार । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत देउखुरी क्षेत्रमा हुने दुर्घटनाका घाइतेलाई उपचारमा सहजताका लागि लमहीमा निर्माण सुरु गरिएको ट्रमा सेन्टरको बजेट अभावका कारण निर्माणमा ढिलाइ भएको छ । करिब तीन वर्षभित्र निर्माण सक्ने गरी २०७७ चैत २४ गतेदेखि सुरु भएको निर्माणको काम अझै पूरा हुन सकेको छैन ।
तीन वर्षभित्र निर्माण सकिनु पर्ने ट्रमा सेन्टरको करिब ८० प्रतिशत निर्माण सकिएको सहरी विकास तथा भवन कार्यालयका निमित्त प्रमुख ईश्वरीप्रसाद देवकोटा बताउँछन् । कार्यालय प्रमुख देवकाटोका अनुसार ट्रमा सेन्टरको भवन अन्तर्गत पूर्वधार निर्माणको मुख्य काम सकिए पनि रंगरोगन, फर्निचरलगायतका काम हुन बाँकी छ । ट्रमा सेन्टरको सम्पूर्ण काम सक्नका लागि करिब सात करोड रुपैयाँ लाग्ने भए पनि प्रदेश सरकारले आधा कम तीन करोड रुपैया छुट्याउँदा चालु आर्थिक वर्षमा काम सम्पन्न गर्न नसकिएको उनको भनाइ छ ।
आगामी आर्थिक वर्ष पनि प्रदेश सरकारले तीन करोड रुपैयाँ मात्र विनियोजन गरेकाले निर्माण सकिनेमा अझै समय लाग्न सक्ने उनी बताउँछन् । ‘निर्माण कम्पनी काम सकेर हस्तान्तरण गर्न तयार छ तर सरकारले पर्याप्त बजेट नहुँदा निर्माण कम्पनीलाई काम गरेको भुक्तानी दिन सक्ने अवस्था छैन’, कार्यालय प्रमुख देवकोटाले भने, ‘बजेटको समस्या नभइदिएको भए निर्माणको काम सकिन्थ्यो ।’
करिब २२ कट्ठा क्षेत्रफलमा निर्माण हुन थालेको ट्रमा सेन्टर २०८० असार २३ गतेसम्म निर्माणको काम सक्ने गरी २०७७ चैत २४ गते भ्याटबाहेक १९ करोड ४१ लाख चार हजार १४ रुपैयाँमा लामा एन्ड गौरीशंकर हिमालयन कन्स्ट्रक्सन प्रालि काठमाडौंसँग ठेक्का सम्झौता भएको थियो । लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको ट्रमा सेन्टरलाई ५० शय्याको अस्पतालका रूपमा सञ्चालनमा ल्याउने गरी प्रदेश लुम्बिनी प्रदेशको राजधानी देउखुरी क्षेत्रमा निर्माण हुन थालेको ट्रमा सेन्टर समयमा निर्माण भएर सञ्चालनमा ल्याउन सके देउखुरी क्षेत्रमा हुने दुर्घटनासँगै अन्य बिरामीलाई उपचार गर्न सहज हुने अपेक्षा गरिएको छ ।
ट्रमा सेन्टर निर्माणलाई जति सक्यो चाँडै निर्माण सकेर हस्तान्तरण गर्ने पक्षमा रहे पनि पर्याप्त बजेट नहुँदा निर्माणको काममा ढिलाइ भइरहेको निर्माण कम्पनीका प्रतिनिधि आइतसिंह तामाङ बताउँछन् । उनका अनुसार मुख्य भवनको फिनिसिङसँगै क्यान्टिन, डाक्टर, नर्स र कर्मचारी क्वाटर निर्माण भइसकेको छ । शौचालयसँगै रँगरोगन, टायल लगाउनेलगायतका फिनिसिङको काम बाँकी रहेको तामाङ बताउँछन् ।
‘अहिलेको अवस्थामा पैसा नहुँदा व्यवसायीले काम गर्ने सामग्री दिँदैनन्, त्यसैमाथि सरकारले पर्याप्त बजेट विनियोजन गर्न सकेको छैन’, निर्माण कम्पनीका प्रतिनिधि तामाङ बताउँछन्, ‘सानो काम भए आफ्नो पैसा हालेर गर्न हुन्थ्यो । ठुलो काम छ, सानो पैसाले हुँदैन ।’ पछिल्लो पटक म्याद थप अनुसार यही असार मसान्तभित्र काम सकेर हस्तान्तरण गर्नुपर्ने भए पनि बजेट अभावका कारण निर्माण सकिने अवस्था नरहेको निर्माण कम्पनीका प्रतिनिधि बताउँछन् ।
बजेट अभाव नभएर चार÷पाँच महिनामा सबै काम सक्ने अवस्था रहे पनि बजेट अभावका कारण ढिलाइ भइरहेको उनले बताए । उनका अनुसार मुख्य भवन निर्माणको काम सकेर फिनिसिङ, रँगरोगन र झ्यालढोका जोडेर सकिएको छ । निर्माण कम्पनीले लमही नगरपालिका–५ लमहीमा ट्रमा सेन्टर निर्माणको काम २०७८ वैशाख १ देखि थालेको थियो । ट्रमा सेन्टर निर्माणको काम सुरु गरेको लामो समय भइसक्दा पनि बजेट अभावका कारण निर्माणमा ढिलाइ हुँदै आएको छ ।