भुवन पोख्रेल
नेपालमा नयाँ राजनीतिक शक्तिको नेपाली समाजमा वैचारिक उकुसमुकुसको स्थिति देखिएको छ । पुराना राजनीतिक दलहरु लोकतान्त्रिक अभ्यासदेखि अन्योल झै देखिन्छन् । पुराना राजनीतिक दल आफूलाई समय सान्दर्भिक बनाउनतर्फ घोत्लिनुको साटो आरोप प्रत्यारोप कुसंस्काले विभाजनको घेरातर्फ धकेलिँदै छन् ।
गौरवशाली इतिहास बोकेको नेपाली कांग्रेसको पनि नयाँ परिदृश्यमा आफूलाई कसरी सच्चाएर अघि बढ्नेभन्दा पनि वैचारिक धरातल भासिँदै लग्नेतर्फ नेताहरु उद्रत देखिन्छन् । कांग्रेसको ढुलुमुले चरित्रले नै अहिले मझधारको हुनु पर्ने पार्टी किनारामा पछारिन पुगेको छ । यतिले पनि कांग्रेसजनको चेत खुल्न सकेको छैन ।
कांग्रेसको चुनावी परिणाम अनियमित आकस्मिकता होइन नेतृत्व वर्गको सुशासन र अपरादर्शीताको परिणाम हो । कांग्रेसले ढिलो वा चाडो आफूलाई सरकार बाहिर राखेर प्रतिपक्षको भूमिकामा ढाल्नु थियो, त्यो अहिले भएको छ । तर, पनि नेपाली कांग्रेस दल मात्र होइन कांग्रेसका शुभचिन्तकहरुमा पनि अहिले वैचारिक उकुसमुकुसको स्थिति झेल्नु पर्ने देखिन्छ ।
कांग्रेसभित्रको आन्तरिक लोकतन्त्र कमजोर हुँदा देउवामा गएर कांग्रेस विर्सजन हुने त होइन भन्ने खतरा बढेको छ । विशेष महाधिवेशनमा विद्रोह गरेर आएको नेतृत्वले राम्रै सवाल उठाइरहँदा पनि नागरिकले गगनको आवाजलाई सुन्नै नखोज्ने स्थिति सिर्जना कसले गरेका छन् त्यसको जवाफ पार्टी भित्रैबाट खोज्नु पर्ने देखिन्छ ।
जनताले वर्षौँ विश्वास गरेर जिताएको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसलाई चट्क्कै छोडेर दुईचार वर्षदेखि भर्खरै अस्थित्वमा आएको रास्वपालाई पत्याएर भारी बहुमतले जिताइसकेका छन् । अब नेपाली कांग्रेसले प्रतिपक्षमा बसेर विरोधका लागि विरोध गर्नुभन्दा आफूलाई सच्चाएर अघि बढ्नु पर्ने देखिन्छ ।
नेपाली समाजको मनोविज्ञान नियाल्दा पुराना दलहरु नेपाली कांग्रेसलगायत एमाले, माओवादीतर्फ जनताको वितृष्णा बढेको छ र नयाँ सरकारप्रति आशाको सञ्चार भएको देखिन्छ । यो लहरमा नेपाली कांग्रेस पनि बढारिन पुगेको यो यर्थाथले गर्दा नयाँ शक्ति उदयीमान भएको छ । अहिले रास्वपाले जनलहर प्राप्त गरेको छ ।
रास्वपाले भर्खरै आफ्नो पहिलो महाधिवेशन सम्पन्न गरेको छ । यो पार्टीले पनि आफूलाई प्राप्त व्यापक जनादेशको कति सम्मान गर्नसक्छ र दीर्घकालीन लोकतान्त्रिक शक्तिका रुपमा कति दह्रोसँग संस्थागत हुनसक्छ त्यो पर्खेर हेर्न बाँकी छ । यस अघि नेपाली कांग्रेस, माओवादी, एमालेलगायत पुरान शक्तिहरुले व्यापक जनादेश प्राप्त गरेर पटक–पटक सत्तामा पुगेका थिए ।
उनीहरुले प्राप्त अवसरलाई पटक–पटक कुल्चे, जनअपेक्षाको सम्बोधन र जनमतको कदर गर्न नसक्दा जनताले उनीहरुलाई पाखा लगाएका हुन् । स्वार्थ समूहको झुण्डबाट यदि पुराना पार्टीहरु बचेर पारदर्शी र सुशासनका लागि आफ्नो दल र सरकार समर्पित भएको भए जनताले यसरी पराजित गराउने थिएनन् । अझै पनि पुराना राजनीतिक दलहरुको चेत खुलेको चाही पटक्कै छैन ।
नेपाली कांग्रेसले यति ठूलो आरोह अवरोश पार गरेर विशेष महाधिवेशनद्वारा गगन थापाको नेतृत्व अस्थित्वमा आएको थियो । यसलाई नेतृत्व युवा पुस्तामा हस्तान्तरण भएको सङ्केतको रुपमा के अब नेपाली कांग्रेस सच्चिएर आएको हो त भन्ने जनतामा के आशा पलाएको चाही थियो तर त्यो आशाको मुना पलाउन पनि नपाउँदै कांग्रेसमा चरम निराशाको भूमरी फेरि देखिन्छ ।
नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद चुलिँदै छ । पुसमा विशेष महाधिवेशन सकिएयता कांग्रेसभित्र तिव्र असन्तुष्टी देखिएको छ । असन्तुष्ट नेताहरुको अगुवाइ पूर्णबहादुर खड्का, विमलेन्ख्र निधि, शशांक कोइराला, प्रकोशमा सिंह र कृष्ण सिटौलालगायतले गरेका छन् । कांग्रेस एक ढिक्का रहेन फुट्ने भन्ने संशय पैदा भएको छ ।
पार्टी विभाजनको सङ्घारमा पुग्नु कदापी राम्रो होइन, एकताको पक्षमा पार्टी उभिनुपर्छ । नेपाली कांग्रेसका पार्टी कार्यालय दुईवटा खुल्नुपर्छ विडम्बना टास्नुपर्छ । नेपाली कांग्रेसको नेतृत्वसँग कुरा नमिलेपछि विशेष महाधिवेशनबाट विस्थापित पक्ष नयाँ दल गठन गर्ने निष्कर्षमा पुगेको छ ।
गगन थापा विशेष महाधिवेशनबाट नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरुले समान्तर गतिविधि गर्दै आएका छन् । आन्तरिक विवादको किचलोमा फसेको कांग्रेस गत प्रतिविधि सभाको चुनावमा ३८ पसटमा खुम्चिन पुग्यो । चुनावी परिणामको धक्कासँगै गगनलाई पराजयको दोष वा सजाय लगाइयो ।
अहिले पार्टी संस्थापन पक्षले राष्ट्रिय भेला रोक्न नसक्दा पार्टी फुटउन्मुख भएको छ । विशेष महाधिवेशनबाट नेता र नीति बदलेको कांग्रेसले पुराना नेताहरुलाई समेट्न नसकेको आरोप खेप्दै आएको छ । गगन सभापति भएपछि सार्वजनिक रुपमै सबै नेताहरुलाई एकताको आह्वान र सम्माजनक रुपमा टिकट दिएका थिए तर पनि विशेष महाधिवेशन इतर पक्ष गुट र फुटको सङ्घारतर्फ अघि बढिसकेको छ ।
नेपाली कांग्रेसको इतिहास जति लामो छ, पार्टीभित्र गुटको इतिहास पनि उत्तिकै लामो छ । राणाकाल र पञ्चायतकालमा व्यवस्था परिवर्तनका लागि सङ्घर्ष थियो तर बाहिर छताछुल्ल भने थिएन । चुनावी राजनीतिमा आएपछि २००७, २०१७ र २०४७ यता भने गुटबिच खुलेमा द्वन्द्व भए ।
नेपाली कांग्रेस स्थापनाकालदेखि अहिलेसम्ममा पार्टीमा दुई पटक ठुला विभाजन भएका छन् । विभाजन हुँदा दुई पटक नै नेपाली कांग्रेस नेतृत्वको सरकार थियो । नेपाली कांग्रेस जे जस्तो भए पनि इतिहासको पुराना दल हो । लोकतान्त्रिक मूल्यमान्यता र आदर्शलाई अपनाउने वाचा गरेर आजभन्दा आठ दशक अगाठि गठित दल हरेक राजनीतिक व्यवस्था परिवर्तनका आन्दोलहरुमा नेपाली कांग्रेस शीर्ष स्थानमा नेतृत्व लिएर अग्रपंक्तिमा उभिएको इतिहास साक्षी छ ।
पटक–पटक सत्ता सञ्चालनको अवसर पाउँदा पनि नागरिकको अपेक्षा पूरा गर्न नसकेको आरोप खेप्न नेपाली कांग्रेसको सङ्गठन बाध्य छ । व्यवस्था परिवर्तनको आन्दोलनहरुको नेतृत्व गरेको जस लिइरहँदा परिवर्तनलाई दिगो र जनताको आकांक्षा पूरा गर्न नसकेकोमा कांग्रेस नेतृत्व आलोचित बन्न पुगेको हो । कांग्रेसको गौरवशाली इतिहास हुँदा हुँदै पनि आन्तरिक सङ्घर्षबाट पार्टीभित्रको वैचारिक सङ्घर्षले र टकरावले कांग्रेसजनहरु तितरवितर बन्न पुगेको छ ।
२३÷२४ भदौको जेन–जी विद्रोहले तत्कालीन सत्ता सहायक कांग्रेसलाई सत्ताधारी एमालेसँग सडक किनारामा धकेलिदिएको छ । भौतिक प्रहारसम्म व्यहोर्नु बाध्य सभापति देउवाले पूर्णबहादुर खड्कालाई कार्यबहाक सभापतिको जिम्मेवारी सुम्पेका थिए ।
बदलियो जनकांक्षाका अनुरुप अब कांग्रेसमा युवा नेतृत्व अनिवार्य देखिएकोले विशेष महाधिवेशनले गगन नेतृत्वको चयन गरेको थियो । यथास्थितिमा कांग्रेसको रथ घिसार्न चाहनेहरुले पार्टी फुटाउने दिशातर्फ केन्द्रित देखिन्छ । नेपाली कांग्रेसका नेताहरुबिच तिक्तता यति बढेको छ कि एकअर्कामा आरोप प्रत्यारोपको श्रृङ्खला नै चर्को छ ।
नेपाली कांग्रेसका माथिदेखि तलसम्मका नेता कार्यकर्ता चिरिएर विभाजनको घेरामा जाने सम्भावना देखिन्छ । अहिले सबैको ध्यान कांग्रेस बैठक र कार्यबाहक सभापति खड्कातिर केन्द्रित देखिन्छ । इतिहासको चाप बुझेर खड्काले कांग्रेसलाई स्वफूर्त रुपमा अगाडि बढ्न सघाउने छन् वा गुटका केही नेताको स्वार्थना कांग्रेस र आम कांग्रेसजनको अपेक्षामाथि कुठराघात गर्ने छन् भन्ने प्रश्न खड्कामाथि तेस्रिएको छ ।
निर्वाचन आगाडी महाधिवेशन गरेर नयाँ नेतृत्व र नीतिसहित जनतामा जाँदा कांग्रेस क्षति कम गरेर राष्ट्रिय राजनीतिमा फेरि फर्कन सक्ने विन्दुमा देखिन्छ । तर, नेकपा एमालेका नेता केपी ओली कै झै अहंकार दम्भ र लालसाको गर्तमा फस्यो भने कांग्रेसले आफूलाई कसरी राष्ट्रिय राजनीतिको पंक्तिमा उभ्याउन सक्ला र सान्दर्भिक देखिएला भन्ने कुरामा संशय देखिन्छ ।
उपचारका लागि काठमाडौँबाट सिंगापुर पुगेका देउवातिर आशंका आँखा तेस्राउन र आशंका गर्नेहरुलाई भोलि इतिहासले प्रश्न गरेर औंला उठाउने छ । देउवाले सार्वजनिक रुपमा बाटो छोडिदिएका छन् । देउवाले सार्वजनिक रुपमा बाटो छोडिदिएका छन् । त्यसलाई सम्हालेर पार्टीलाई एक ढिक्का राखेर समाधान खोज्नु पर्ने दायित्व बाँकी नेताको काँधमा छ ।
विशेष महाधिवेशनको माग गर्नेमा कुनै एउटा समूहका मात्र छैनन् । इतर र संस्थापन दुवैतर्फका पार्टीमा सुधार चाहने देशैभरका नेता कार्यकर्ता उक्त पक्षमा उभिएका छन् । विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्नेहरुलाई समय गुज्रिसकेको भन्दै अपमानित गरेकामा पनि उनीहरु आक्रोशमा थिए ।
व्यक्ति गुट र गिरोह केन्द्रित यस्ता कुत्सित मानसिकतामा फसेर कांग्रेस अनिर्णयको बन्द बनाउनु हुँदैन । इतिहासले ल्याएका चुनौतीलाई सामान गरेर देश र जनताका अघिल्लातिर जिम्मेवार दलका रुपमा उभिने कि फुटको चुलो बालेर पार्टीको भविष्य धमिलो बनाउने कांग्रेस नेतृत्वको हातमा छ ।
गगन थापासँग शक्ति सङ्घर्ष गर्न देउवा खड्का समूह दृढ देखिन्छ तर कोइराला समूहको भने डुलमुले देखिन्छ । गगन विश्वप्रकाशको विशेष महाधिवेशन पक्षधर कांग्रेसमा युवा नेतृत्वको बाहुल्यता देखिन्छ । खढ्का, कोइराला समूहका भने पुराना र पाको उमेरका प्रतिष्ठित नेताहरुको बाहुल्यता देखिन्छ ।
कांग्रेसको यस पटकको विभाजन पुस्तागत अंह र सङ्घर्ष जस्तो देखिएको छ तर मूल विचार भने एक छ र विपी कोइरालाले लगाएको जुत्तामा खुट्टा हालेको बताउँदै आफ्नो शरीरमा रगत नभए पनि आफूसँग विपीको विचार र गणेशमानको आँट भएको दाबी गरेको छन् । कांग्रेस फुटे दुवै पक्षलाई लाभ हुने छैन बरु अरु दललाई सजिलो हुन्छ ।
कांग्रेस फुट्नु आत्मघाती निर्णय सिवाय अरु केही हुनेछन् । कांग्रेस एक ढिक्का हुँदा त यस्तो चुनावी परिणाम व्यहोर्नु परेको छ भने फुटको चिरामा विभाजन मै चुनावी मैदानमा उत्रिदा त कांग्रेस सिध्धिने पक्का हुन्छ । कि सच्चिने कि सिध्धिनेभन्दा कांग्रेस नेतृत्वलाई अर्को विकल्प छैन । अहिलेको अवस्थामा नेपाली कांग्रेसका नेतृत्वबिच गम्भीर समीक्षा हुन जरुरी छ ।
नेतृत्वको प्रत्यक्ष रुपमा कार्यकर्ताको भावना नबुझेसम्म नेपाली कांग्रेस पार्टी पुनः चलायमान हुन सक्दैन । पार्टीलाई एकजुट राख्न सबै तहका नेताहरुले त्याग र उदाहरण देखाउनु पर्नेमा जोड दिएका पार्टी सबलीकरण हुन्छ । नेताहरुबिच तिक्तता यति बढेको छ कि एकअर्कामा आरोप प्रत्यारोपको श्रृङ्खला नै चल्दो छ । व्यक्ति, गुट र गिरोह केन्द्रित यस्ता कुत्सित मानसिकतामा फसेर कांग्रेसलाई अनिर्णयको बन्दी बनाउनु हुँदैन ।
नेपाली कांग्रेसको विशेष महाधिवेशन प्रक्रिया सम्मत भएको कुरा निर्वाचन आयोगले घोषणा गरिसकेको छ । सर्वोच्च अदालतले दिएको वैधानिकताबाट पनि विधिसम्मत र प्रक्रिया सम्मत भएको प्रमाणित भइसकेको छ । यो चुनौतीहरुलाई समयमै सामना गर्न पार्टीको आन्तरिक जीवन नै रुपान्तरण गर्नुपर्छ । नीतिगतm साङ्गठनिक लगायत पक्षको रुपान्तरण गरी नेपाली कांग्रेसलाई सफल र लोकप्रिय पार्टी बनाउन लागि पर्नुपर्छ ।
यता संस्थापन पक्षका नेताहरुले छुट्टै भेला छ, कार्यालय छुट्टै खोलेका छन्, बैठक पनि छुट्टै बसेका छन् यसले पार्टीलाई कमजोर र अप्ठेरोमा पार्न सक्छ । विचारमा फरक भए पनि पार्टी विधि र नीति र सबैले मान्नुपर्छ । कांग्रेसको इतर पक्षले असार २२ गतेदेखि चुनदेखिस्थिति नयाँ कार्यालयबाट काम गर्ने भन्ने बताएका छन् ।
विधिको शासन र लोकतन्त्र प्राप्तिका लागि नेपाली कांग्रेसले आठ दशक भयो लामो लडाइ लड्यो अहिले विधिके शासन स्थापना भयो र लोकतन्त्रको स्थापना पनि अब पार्टीभित्र पनि पार्टीको विधानको छातामुनि सबै रहनुपर्छ । कांग्रेस छरिएर समेटिएर, सम्हालिएर अघि बढ्नुपर्छ । नेतृत्वलाई स्वीकार गरिसकेपछि विधि र प्रक्रिया अन्तर्गत भएका गतिविधिहरु पनि स्वीकार गर्नुपर्छ ।
विधिको शासन र विधानको सर्वोच्चतालाई हामी सबैले स्वीकार गर्न तयार हुनुपर्छ । पार्टी सङ्गठनलाई सुदृढ बनाउनुपर्छ । पार्टीको जनाधार बलियो बनाउने, पार्टीलाई लोकप्रिय बनाउने कुरामा, पार्टीको एकजुट हुनुपर्छ । अस्वस्थ अभ्यास गरे धने पार्टी तितरवितर हुन्छ, स्वस्थ प्रतिस्पर्धा भयो भने गुट हुनुको पनि अर्थ रहन्छ । पार्टी व्यक्तिगत छायाँबाट मुक्त भई संस्थाको रुपमा काम हुनुपर्छ ।
एउटा व्यक्तिले पार्टी चलाउने होइन, पार्टी पद्धतिले चल्छ । युवाको ठूलो सङ्ख्या नेतृत्वमा आउन चाहेका छन्, अझै पनि युवालाई अवसर नदिए अहिलेको युगको चुनौतीलाई सामना गर्न सकिँदैन, जनताको बिचमा दरिलो र गर्विलो गरी पार्टीलाई उभ्याउन सकिँदैन । युवाको सहभागिता र युवा नेतृत्व समयको माग र आवश्यकता हो ।
पुरानो पुस्ताभन्दा राम्रो गर्ने युवाहरु आए अहिले उनीहरुको बाटो छेक्नु हुँदैन तगरो बन्नु हुँदैन, अहिले विश्वप्रकाश, गगन, गुरुराज जस्ता ५० का हाराहारी पुगेका नेताहरुभन्दा झनै राम्रो गर्ने युवा आए भने नेतृत्व छोड्न तयार हुनुपर्छ । पदाको लागि कांग्रेसमा बसिरहनु र युवालाई मौका नै नदिनु पार्टी यथास्थितिमा चल्नु हो । कांग्रेस पार्टी विधि, नीति र सिद्धान्त अनुरुप चल्नुपर्छ ।
नयाँ नेतृत्व आउनुपर्छ, बढाखाडाले सम्मानजनक ठाउँमा बसेर नयाँलाई अवसर दिनुपर्छ । नेतृत्वको अहंकारले कांग्रेस फुटको सङ्घारमा जानु हुँदैन । अहिले कांग्रेसभित्र आन्तरिक विवाद र शक्ति सङ्घर्ष चर्किएको छ । इतर समूहले एकता नभए नयाँ पार्टी बनाउने चेतावनी दिएका छन् । यस्तो परिस्थितिमा नेपाली कांग्रेसलाई लोकतन्त्रको आवाज बनाउने हो भने एकताबद्ध बनाउन प्रयास गर्नुपर्छ ।