संविधानका आधारभूत संरचनामा कुनै सम्झौता हुँदैन : सभापति थापा

काठमाडौं,२५ असार । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी संविधानप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् । संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण विषयक कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै सभापति थापाले संविधान निर्माण गर्ने बेलाको मूल शक्ति कांग्रेस रहेको बताएका छन् ।

‘हामी यो संविधानप्रति पूर्ण रूपमा प्रतिबद्ध छौँ, जिम्मेवार छौँ’, सभापति थापाले भने,‘अहिले प्रचण्ड बहुमत लिएर आएको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार छ । रास्वपाले संविधानभित्रका कतिपय कुरालाई संशोधनका लागि अगाडि सारेको छ । हामी कुनै पनि पूर्वाग्रह नराखी रास्वपाको सरकारसँग काम गर्न चाहन्छौँ ।’ सरकारले संविधान निर्माणका क्रममा भएका घटनालाई बुझ्न उनले आग्रह गरे । नेपालभित्रको संवेदनशीलता बुझ्न प्रधानमन्त्रीलाई उनको आग्रह छ । सभापति थापाले प्रतिनिधिसभा नियमावलीले नै संविधानलाई मिच्ने काम गरेको बताए । संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण विषयक कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै थापाले यो असंवैधानिक रहेको भन्दै पार्टीको संसदीय दलको तर्फबाट अदालतमा रिट दर्ता भएको उल्लेख गरे ।

संविधानको रक्षा गर्ने कुरामा न्यायालयले आफ्नो जिम्मेवारी पूरा गर्नेमा कांग्रेस विश्वस्त रहेको थापाले बताए । सुशासन र डेलीभरीका सन्दर्भमा नेपाली कांग्रेसले व्यापक होमवर्क गरेको उनले बताए । ‘नेपालमा सुशासनलाई ठीक बनाउन, सेवा प्रवाह ठीक बनाउन संविधानसँग जोडिएका के–के विषय छन् यसमा अहिले प्रवेश गरौँ, व्यापक छलफल गरौँ, सुधार गरौँ र ठीक बनाऔँ’, उनले भने,‘त्यसपछि विश्वासको वातावरण बनेपछि निर्वाचन प्रणालीमा, संघीयताभित्र सुधार गर्नुपर्ने विषयका सन्दर्भमा, संसदीय व्यवस्थाभित्र सुधार गर्ने विषयका सन्दर्भमा, समानुपातिक, समावेशी प्रतिनिधित्वका विषयमा थप छलफल गरेर एउटा आधार बनाऔँ ।’

सभापति थापाले कतै पनि भागबण्डा नगर्ने बताएका छन् । भागबण्डाको युग सकिएको भन्दै सभापति थापाले भने,‘नेपाली कांग्रेसले न पार्टीमा न त देशमा कहीँ भागबण्डा गर्छ । भागबण्डाको युग सकियो अब हामी काहीँ पनि भागबण्डा गर्दैनौँ ।’ उनले कतै भाग नदिने र नमाग्ने पनि बताए । संवैधानिक परिषद्को बनोटमा शुद्धता चाहिएको उनको भनाइ छ । उनले भने,‘न्यायाधीशदेखि अख्तियार लगायतका नियुक्ति वा संवैधानिक निकायका नियुक्तिको विषयमा छलफल गरौँ ।’

सभापति थापाले संवैधानिक निकायहरूमा भागबण्डा भन्दा पनि कार्यक्षमता र पारदर्शिताका आधारमा ‘शुद्धता’ हुनुपर्नेमा जोड दिए। उनले संवैधानिक परिषद्को विद्यमान संरचना र नियुक्ति प्रक्रियामाथि पुनर्विचार गर्नुपर्ने आवश्यकता रहेको बताएका थिए । न्यायाधीश नियुक्ति, अख्तियार दुरूपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायहरूमा हुने नियुक्तिका सन्दर्भमा अब नयाँ ढङ्गले छलफल हुनुपर्ने उनको तर्क छ ।

उनले भने, ‘हामीलाई केही पनि चाहिएको छैन। नेपाली कांग्रेस पार्टीले न आफ्नो पार्टीभित्र भागबन्डा गर्छ, न देशमा कतै भागबन्डा गर्छ। हामी कतै पनि भागबन्डा गर्दैनौँ। भागबन्डाको युग अब सकिएको छ। हामी कसैलाई भाग दिँदैनौँ, न त कसैसँग भाग माग्छौँ। हामीलाई त्यहाँ भाग चाहिएको छैन, हामीलाई त्यहाँ शुद्धता चाहिएको छ। अब प्रश्न उठ्छ–त्यो शुद्धता कसरी सुनिश्चित गर्ने ? त्यसका लागि संवैधानिक परिषद्को बनोट कस्तो हुने, त्यसलाई कसरी सुधार गर्ने, वा उदाहरणका लागि न्यायाधीशको नियुक्तिदेखि लिएर अख्तियार दुरूपयोग अनुसन्धान आयोग लगायत अन्य संवैधानिक निकायका पदाधिकारीहरूको नियुक्ति कसरी गर्ने भन्ने विषयमा खुला छलफल गरौँ ।’ उनले संविधान संशोधनको सन्दर्भमा कांग्रेसले आफ्नो स्पष्ट दृष्टिकोण बनाउँदै गर्दा यस्ता संरचनागत सुधारका विषयलाई प्राथमिकता दिने समेत संकेत गरे।