गुटभन्दा माथि उठे बलियो बन्छ कांग्रेस

प्रिया स्मृती गजमेर

नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा नेपाली कांग्रेसको योगदान अतुलनीय छ । प्रजातन्त्र स्थापनादेखि बहुदलीय व्यवस्था पुनःस्थापना, शान्ति प्रक्रिया हुँदै संविधान निर्माणसम्मका हरेक महत्वपूर्ण राजनीतिक परिवर्तनमा नेपाली कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको इतिहास कसैले नकार्न सक्दैन ।

लोकतन्त्र, नागरिक स्वतन्त्रता र संवैधानिक शासन व्यवस्थाका लागि कांग्रेसले गरेको संघर्ष नेपाली राजनीतिक इतिहासको महत्वपूर्ण अध्याय हो । तर विडम्बना, यति गौरवशाली इतिहास बोकेको पार्टी पछिल्ला वर्षहरूमा आन्तरिक गुटबन्दी, नेतृत्वबीचको अविश्वास, वैचारिक कमजोरपन र संगठनात्मक शिथिलताका कारण चुनौतीपूर्ण अवस्थामा पुगेको देखिन्छ ।

राजनीतिक दलको बल केवल निर्वाचनमा प्राप्त हुने मत वा सिट संख्याले मात्र मापन हुँदैन । दलभित्र कति लोकतान्त्रिक अभ्यास छ, संगठन कति अनुशासित छ, नेतृत्व कति उत्तरदायी छ, कार्यकर्ताको मनोबल कस्तो छ र जनतासँगको सम्बन्ध कति बलियो छ भन्ने पक्षले दलको वास्तविक शक्ति निर्धारण गर्छ । यही दृष्टिले हेर्दा आज नेपाली कांग्रेसले आत्मसमीक्षा गर्नुपर्ने धेरै विषय छन् ।

कांग्रेसभित्र देखिएको सबैभन्दा ठूलो समस्या व्यक्ति केन्द्रित गुटगत राजनीति हो । लोकतान्त्रिक पार्टीमा विचार, नीति र कार्यक्रमका आधारमा बहस हुनु स्वाभाविक र आवश्यक पनि हो । फरक मत राख्नु लोकतन्त्रको सुन्दर पक्ष हो । तर जब विचारभन्दा व्यक्ति ठूलो बन्छ, नीति भन्दा समूहगत स्वार्थ हावी हुन्छ र संगठनभन्दा गुटको हितलाई प्राथमिकता दिइन्छ, त्यसले पार्टीलाई कमजोर बनाउँछ ।

गुटगत प्रतिस्पर्धाले योग्य र इमानदार कार्यकर्तालाई निरुत्साहित बनाउने, अवसर सीमित समूहमा केन्द्रित गर्ने तथा नयाँ नेतृत्वको विकासलाई अवरुद्ध गर्ने काम गरेको देखिन्छ । यसको प्रत्यक्ष असर पार्टीको जनाधारमा पनि पर्छ । आज धेरै कार्यकर्ताले आफ्नो योगदानभन्दा कुन गुटसँग निकटता छ भन्ने आधारमा अवसर पाइन्छ भन्ने गुनासो गर्ने गरेका छन् ।

यस्तो अवस्था दीर्घकालसम्म रहिरहँदा संगठन कमजोर हुनु स्वाभाविक हो । त्यसैले कांग्रेसले अब व्यक्ति केन्द्रित राजनीति होइन, संस्था केन्द्रित राजनीति अभ्यास गर्न आवश्यक छ । पार्टीका निर्णय विधान, प्रक्रिया र संस्थागत छलफलबाट हुनुपर्छ । जिम्मेवारी वितरणमा योग्यता, क्षमता, इमानदारी, योगदान र कार्यसम्पादनलाई प्राथमिक आधार बनाउनुपर्छ ।

नेपाली कांग्रेसलाई पुनः सशक्त बनाउन नियमित वैचारिक प्रशिक्षण अपरिहार्य छ । लामो समयदेखि पार्टीभित्र वैचारिक अध्ययन र राजनीतिक प्रशिक्षण कमजोर बन्दै गएको अनुभूति हुन्छ । राजनीतिक संगठन चुनावी अभियानले बलियो हुँदैन; विचारले बलियो हुन्छ । कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले स्थापित गर्नुभएको राष्टिूयता, प्रजातन्त्र र समाजवादको सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक छ । उहाँले लोकतान्त्रिक समाजवादलाई नागरिक स्वतन्त्रता, सामाजिक न्याय, आर्थिक समान अवसर, नैतिक राजनीति र जनउत्तरदायित्वसँग जोड्नुभएको थियो । आजका नेता तथा कार्यकर्ताले बीपीका विचारलाई भाषणमा मात्र होइन, व्यवहारमा उतार्न सके मात्र कांग्रेसको मौलिक पहिचान पुनः स्थापित हुन सक्छ ।

यसका लागि प्रत्येक वडा, पालिका, जिल्ला र प्रदेश तहमा नियमित वैचारिक प्रशिक्षण सञ्चालन गरिनुपर्छ । बीपीका पुस्तक, विचार र राजनीतिक दर्शनमाथि अध्ययन अभियान चलाउनुपर्छ । युवालाई नेतृत्व विकास, सार्वजनिक नीति, सुशासन, संविधान, लोकतान्त्रिक संस्कार र सामाजिक सेवासँग जोड्ने कार्यक्रम सञ्चालन गर्नुपर्छ । अध्ययनशील, सक्षम र नैतिक नेतृत्व उत्पादन नगरी कांग्रेसको दीर्घकालीन भविष्य सुरक्षित हुन सक्दैन ।

त्यसैगरी कांग्रेसले जनतासँगको सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता छ । चुनावको समयमा मात्र जनताको घरदैलो पुग्ने संस्कृतिले दीर्घकालीन विश्वास निर्माण गर्न सक्दैन । कार्यकर्ताहरूले वर्षभरि शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, विपद् व्यवस्थापन, रक्तदान, सरसफाइ, कृषि, युवा रोजगारी तथा सामाजिक सचेतनासम्बन्धी अभियानमा सक्रिय सहभागिता जनाउनुपर्छ ।

जब पार्टीका कार्यकर्ता समाजका हरेक सुख दुःखमा जनतासँगै उभिन्छन्, तब मात्र जनविश्वास बलियो बन्छ । आन्तरिक लोकतन्त्र कांग्रेसको अर्को महत्वपूर्ण आधार हो । फरक विचार राख्ने संस्कृतिलाई सम्मान गर्ने, खुला छलफल गर्ने र अन्तिम निर्णय भएपछि सबैले त्यसलाई इमानदारीपूर्वक कार्यान्वयन गर्ने अभ्यास विकास गर्नुपर्छ ।

असहमतिलाई दुश्मनीका रूपमा होइन सुधारको अवसरका रूपमा लिन सक्ने राजनीतिक परिपक्वता आवश्यक छ । नेतृत्व चयनमा पारदर्शिता, आर्थिक अनुशासन, नियमित कार्यसम्पादन मूल्याङ्कन र जवाफदेहिताको प्रणालीलाई प्रभावकारी बनाउनुपर्छ । पार्टीभित्र सुशासन कायम गर्न सके मात्र जनतासमक्ष सुशासनको पक्षमा विश्वसनीय रूपमा उभिन सकिन्छ ।

आजको बदलिँदो राजनीतिक परिवेशमा कांग्रेसले नयाँ पुस्तालाई आकर्षित गर्ने रणनीति पनि अपनाउनुपर्छ । डिजिटल प्रविधि, सामाजिक सञ्जाल, नीति अनुसन्धान, नवप्रवर्तन, उद्यमशीलता, शिक्षा र रोजगारीका सवालमा स्पष्ट दृष्टिकोणसहित युवा पुस्तालाई नेतृत्वमा अवसर दिनुपर्छ । अनुभव र ऊर्जाको सन्तुलित संयोजनबाट मात्रै पार्टीलाई समयानुकूल बनाउन सकिन्छ ।

कांग्रेसले आफ्ना ऐतिहासिक योगदानलाई मात्र स्मरण गरेर बस्ने समय अब छैन । विगत गौरवको विषय हुन सक्छ तर भविष्य निर्माण वर्तमानको कार्यशैलीले निर्धारण गर्छ । जनताले अब इतिहासभन्दा परिणाम खोजिरहेका छन् । त्यसैले कांग्रेसले संगठनात्मक सुधार, वैचारिक स्पष्टता, नैतिक नेतृत्व, जनमुखी कार्यक्रम र संस्थागत संस्कृतिलाई प्राथमिकता दिन सके मात्र आफ्नो पुरानो जनविश्वास पुनः स्थापित गर्न सक्छ ।

राजनीति सत्ता प्राप्त गर्ने माध्यम मात्र होइन, जनताको सेवा गर्ने साधन हो भन्ने बीपी कोइरालाको मूल सन्देश आज पनि उत्तिकै सान्दर्भिक छ । यदि नेपाली कांग्रेसले गुटगत स्वार्थभन्दा माथि उठेर लोकतान्त्रिक समाजवाद, नैतिक राजनीति, जनउत्तरदायित्व, आन्तरिक लोकतन्त्र र संगठनात्मक अनुशासनलाई व्यवहारमा लागू गर्न सक्छ भने पार्टी फेरि जनताको पहिलो रोजाइ बन्ने आधार निर्माण हुनेछ ।

इतिहासले कांग्रेसलाई बारम्बार अवसर दिएको छ । अब त्यो अवसरलाई उपलब्धिमा रूपान्तरण गर्ने जिम्मेवारी वर्तमान नेतृत्व, सम्पूर्ण कार्यकर्ता र पार्टीका शुभेच्छुक सबैको काँधमा छ । गुटभन्दा माथि उठेर संगठन, विचार र राष्टूलाई केन्द्रमा राख्ने साहस नै नेपाली कांग्रेसको नयाँ पुनर्जागरणको आधार बन्न सक्छ ।