तुलसीपुर उपमहानगरपालिका–१७ र १८ का करिब तीन हजार उपभोक्तालाई खानेपानी उपलब्ध गराउँदै आएको छर्छरे खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको हालै सम्पन्न आठौँ साधारणसभा तथा अधिवेशनले आशाराम नेपाली ‘शंकर’लाई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको छ । लगातार दुई कार्यकाल समितिको सचिवको जिम्मेवारी निर्वाह गरेका नेपाली खानेपानी संस्थालाई उपभोक्तामैत्री बनाउन करिब दशकदेखि प्रयासरत रहे ।
खानेपानीको अभावको व्यवस्थापनसँगै नयाँ डिपबोरिङ र ओभरहेड ट्याङ्की निर्माण सम्पन्न गरी आफ्नो कार्यक्षेत्रलाई विस्तार गर्दै पाइपलाइन विच्छ्याउँदै थप उपभोक्तालाई खानेपानी उपलव्ध गराउने अभियानमा समेत सक्रिय भूमिका निर्वाह गरे । पछिल्लो समयमा बढ्दो बसाइँ सराइका कारण यो क्षेत्रमा नयाँ घर बन्ने क्रम तीव्र भइरहँदा खानेपानीको माग दिनानुदिन बढ्दै गएको छ ।
धारा जडानका लागि दिनहुँजसो संस्थामा आवेदन आइरहन्छन् । थपिँदै गएका उपभोक्तालाई कसरी सहज रुपमा सफा र स्वस्थ पानी उपलब्ध गराउने भन्नेलगायतका विषयमा केन्द्रित रहेर गोरक्षकर्मी खेमराज रिजालले नवनिर्वाचित अध्यक्ष आशाराम नेपालीसँग गरेको कुराकानीको सार सङ्क्षेप ।
सर्वप्रथम बधाई अनि सफल कार्यकालको शुभकामना ।
तपाईँ अनि तपाईको लोकप्रिय पत्रिका गोरक्ष राष्ट्रिय दैनिक परिवारलार्ई धन्यवाद । हाम्रो सफलतामा यहाँहरूसँगको सकारात्मक सल्लाह र सुझावको पनि अपेक्षा गरेको छु ।
भर्खरै सम्पन्न अधिवेशनमा सर्वसम्मत रूपमा अध्यक्ष निर्वाचित हुनुभयो ? संस्थाको विगतका विषयमा बताइदिनुस् न ?
सबैभन्दा पहिले त मैले यहाँलाई छर्छरे खानेपानीको विगत स्मरण गराउन चाहन्छु । यहाँ बस्ती पातलो भएका बेला स्थानीय सबैको पानीको जोहो गर्ने ठाउ भनेकै जरुवा, सिम र केही खोल्सामा उम्रने मूल नै हो । घण्टौँ लगाएर पानीको जोहो गर्दै आएका यस क्षेत्रका स्थानीयको अगुवाइमा २०६१ सालमा छर्छरे खानेपानी दर्ता प्रक्रिया सुरु भयो ।
त्यसपछि २०६२ असार २० गते नेवा संस्था र स्थानीय जनसमुदायको सक्रियतामा साविक बिजौरी गाविस–२ हाल तुलसीपुर उपमहानगरपालिका–१९ स्थित जुरपनियादेखि तुलसीपुर–१८ बर्लेनी हुँदै घोराही–तुलसीपुर सडक खण्डको उत्तरतर्फका बस्तीमा पिपल चौतारा टोल विकास संस्था, एकीकृत नमुना टोल विकास संस्था र तुलसीपुर–१७ को तल्लो झिँगै पल्लो झिँगै र बर्काडाँडा गरी ११ किलोमिटर जति पाइपलाइन विस्तार गरी २८ वटा धारा २४ घण्टा पानी उपलब्ध गराइयो ।
स्थापनाकालमा एक सय ३१ घरधुरी मात्रै उपभोक्ता रहेको र कूल जनसङ्ख्या नौ सय ७५ मात्र थियो । हाल आएर २८ वटा सार्वजनिक धारालाई पूर्ण रूपमा कटौती गरी नेपाल सरकारको खानेपानी नीति अनुसार एक घर एक धारा भन्ने नारालाई साकार पार्दै तीन सय २८ वटा निजी धारा जडान गरी २५ सय ५० जनालाई यस समितिले सर्वसुलभ तरिकाले खानेपानी उपलब्ध गराउँदै आएको छ ।
खानेपानी उपभोक्ता संस्थाको चुनौतीका विषयमा पनि केही बताइदिनुस् न ?
मुख्य गरेर अहिले संस्थाको मुख्य स्रोतका रूपमा खानेपानीको मूल र डिप बोरिङको मात्रा घटिरहेको छ । डिप बोरिङ सञ्चालनका क्रममा विद्युतको न्यून भोल्टेजका कारण पानी नियमित रूपमा तान्नै कठिनाइ हुने अवस्था छ ।
यसैगरी विद्युत आपूर्ति पनि पटक पटक अवरुद्ध हुँदा उपभोक्तालाई तोकिएको समयमा पानी उपलब्ध गराउनै समस्या छ । यसैगरी बढ्दो जनसङ्ख्या तथा नयाँ बस्ती विस्तारसँगै खानेपानीको माग हरेक दिन बढिरहेको छ । सीमित आर्थिक स्रोतका कारण चाहेर पनि सबै योजना एकै पटक सञ्चालन गर्न सकिएको छैन । गुरुयोजनाविनैका साँघुरा बाटाका कारण पाइपलाइन विस्तारमा समेत ठुलो समस्या देखिएको छ । अहिले यी सबै चुनौतीसँग जुधेर हामीले काम गर्दै आएका छौँ ।
तपाईँले भर्खरै नेतृत्व सम्हाल्नुभएको छ, तपाईंको नेतृत्वको कार्यसमितिका भावि योजनाहरू के कस्ता छन् नि ?
खानेपानीसम्बन्धी निकायसँग समन्वय गरी मुहानको पानीलाई निरन्तर सञ्चालन गर्ने अभियानमा छौँ । यसैगरी डिप बोरिङमा देखिएको लो भोल्टेजको समस्यालाई समाधान गर्न ट्रान्सफर्मर जडान गर्न पनि हामीले तत्कालै पहल गर्ने छौँ । यसैगरी वैकल्पिक स्रोत हाम्रा लागि अपरिहार्य छ । किनकि यो एउटा डिपबोरिङको पानीले मात्र उपभोक्ताको माग थेग्न सक्ने छैन ।
त्यसैले वैकल्पिक रूपमा अर्को डिपबोरिङको योजनाका लागि पनि हामीले खानेपानी डिभिजन कार्यालय दाङ लुम्बिनी प्रदेश सरकारको खानेपानी मन्त्रालयमा प्रयास थाल्ने तयारीमा छौँ । यसैगरी अझै पनि धेरै स्थानमा पाइपलाइन विस्तार गर्नु पर्ने छ । त्यसका लागि स्रोत व्यवस्थापन गर्न हाम्रो प्राथमिकता छ । हामी चाहन्छौँ नेपाल सरकारको दिगो विकास लक्ष्य एक घर एक धाराको नीतिलाई पूरा गर्न हामी सधैँ तत्पर हुने छौँ ।
विद्युत अवरोध हुँदा पनि डिपबोरिङ निरन्तर सञ्चालन गर्न वैकल्पिक ऊर्जा वा कुनै उपयुक्त व्यवस्थाका लागि राज्यका सम्बन्धित निकायसँग समन्वय गरी दीर्घकालीन रूपमा समस्या समाधान गर्ने पहल पनि गर्ने छौँ । यसैगरी उपभोक्ताको खानेपानीसम्बन्धी साना–ठुला समस्यालाई संवाद, सहकार्य र लचकताका साथ समाधान गर्दै सेवाको गुणस्तरीयतालाई अझै प्रभावकारी बनाउने छौँ ।
एकता पारदर्शीता र सुशासन, स्वच्छ पानी स्वस्थ जीवन छर्छरे खानेपानीको पहिचान भन्ने मूल मान्यतालाई हामीले सफल बनाउन उपभोक्ता, छिमेकी खानेपानी संस्था, बुद्धिजीवी, राजनीतिक दल एवम् स्थानीय जनप्रतिनिधिलगायत सबैसँग समन्वय गरेर अघि बढ्ने हामीले योजना बनाएका छौँ ।
खानेपानी क्षेत्रलाई सरकारले कत्तिको सम्बोधन गरेको जस्तो लाग्छ ?
आधारभूत शिक्षा, आधारभूत स्वास्थ्य तथा स्वच्छ सफा एवम् पिउने पानीलार्ई सङ्घात्मक संविधान २०७२ ले मौलिक हकका रूपमा स्थापित गरेको छ । सरकारको नीति पनि एक घर एक धारा भन्ने छ तर खानेपानीलाई हेर्ने राज्यको दृष्टिकोण अत्यन्तै कमजोर छ । मुलुकका तीनै तहका सरकारको खानेपानी तथा सरसफाइ क्षेत्रमा लगानी निकै कमजोर अवस्थामा छ । खानेपानी सरकारको प्राथमिकतामा कहिलै परेको जस्तो लाग्दैन ।
खानेपानीलाई मौलिक हक भनेर निःशुल्क गर्न त हामीसँग विकल्प त हुनु प¥यो नि ? हामीले त दिनदिनै विद्युत महशुल सरकारलार्ई तिर्नु पर्ने छ । टुटफुट धाराको मर्मत, कर्मचारीलार्ई मासिक तलब, कार्यालय सञ्चालनलगायत थुप्रै खर्चका लागि सरकारले एक रुपैयाँ बजेट दिँदैन ।
संविधानमा लेखेर मात्रै निःशुल्क हुन्छ ? सरकारले लगानी गर्नु प¥यो नि । यही कारण संविधानमा लेखिनु एउटा कुरा हो, व्यवहारमा कार्यान्वयन गर्नु अर्को विषय । हामीलार्ई पानीको शुल्क लिने कुनै रहर छैन तर यसको जिम्मा सरकारले लिन सक्नु प¥यो ।
खानेपानीको मुहान संरक्षणमा के गर्न आवश्यक छ ?
मानव जीवनको मुख्य आधार नै पानी हो । पानीका स्रोत बर्सेनि घटिरहेको विषयलार्ई हामीले देखे नदेखे झैँ गरिरह्यौँ भने महासङ्कट अवश्यम्भावी छ । बाजा बजाएरै आइरहेको यो दशाप्रति हामी सबै गम्भीर बन्नुपर्छ । पानीका मुहान संरक्षणमा हामीले केही योजना बनाएर काम थाल्न जरुरी छ जस्तो मलाई लाग्छ ।
पानीका मूल नसुकाउनका लागि विकास निर्माणका गतिविधि गर्दा जस्तो कुनै बाटो बनाउँदा या पूर्वाधार निर्माण गर्दा पानीको प्राकृतिक मार्ग विनाश गर्नु हुँदैन । त्यसप्रति हामीले खबरदारी गर्ने छौँ । सबै क्षेत्रका बासिन्दा पानी सञ्चय र पुनर्भरणमा सचेत रहनुपर्छ । पानी संरक्षणका ठाउँ ठाउँमा साना÷ठुला पानी सञ्चय गर्ने भण्डार बनाउनेलगायतका योजना भएमा धेरै राहत हुन्छ ।
यसमा स्थानीय सरकारले विशेष रूपमा काम गर्न सक्छ । जल आपूर्ति प्रणालीलार्ई अक्षुण राख्न पानीका स्रोत संरक्षण गर्नुपर्छ । यसो गरेमा मात्र मानिसलार्ई पिउन तथा सिँचाइका लागि पानीको आपूर्ति हुन्छ । यसतर्फ हामीले योजना बनाएर काम गर्ने छौँ ।