जीवनमा देखिएका सबै सपना सहजै पूरा हुँदैनन् । केही सपना पूरा गर्न वर्षौंको सङ्घर्ष, अथक मेहनत, धैर्यता र आत्मविश्वासको आवश्यकता पर्छ । जब निरन्तरको प्रयासले सफलता प्राप्त हुन्छ, त्यो क्षण जीवनकै सबैभन्दा ठूलो उपलब्धि बनेर स्मृतिमा बसिरहन्छ ।
लोकदोहोरी गायिका भूमिका गिरीको जीवन पनि यस्तै सङ्घर्ष र सफलताको प्रेरणादायी कथा हो । दाङको विकट नाका क्षेत्रबाट सुरु भएको उनको साङ्गीतिक यात्रा आज राष्ट्रिय सीमाभन्दा बाहिर फैलिएको छ। स्वदेशदेखि विदेशसम्म नेपाली लोकसंगीत गुञ्ज्याउँदै उनी लोकदोहोरी क्षेत्रमा स्थापित नामका रूपमा परिचित छिन् ।
दाङको राजपुर गाउँपालिका–१, पटौली नाका क्षेत्रमा बुबा हेमराज गिरी र आमा अञ्जली गिरीको कोखबाट जन्मिएकी भूमिका सानैदेखि संगीतप्रति विशेष रुचि राख्थिन् । विद्यालयमा आयोजना हुने सांस्कृतिक कार्यक्रम, स्थानीय क्लबका प्रतियोगिता तथा गाउँघरका साङ्गीतिक कार्यक्रममा उनी उत्साहपूर्वक सहभागी हुन्थिन् । नाच्ने, गाउने र गीत सिर्जना गर्ने कला बाल्यकालदेखि नै उनको स्वभावमा थियो । यही रुचिले पछि उनलाई नेपाली लोकदोहोरी संगीतको स्थापित गायिकाका रूपमा परिचित गरायो ।
बाल्यकालको एउटा अविस्मरणीय क्षण आज पनि उनको मनमा ताजै छ । नाका क्षेत्रमा प्रत्येक वर्ष आयोजना हुने २२ गाउँस्तरीय खेलकुद तथा सांस्कृतिक प्रतियोगितामा पहिलो पटक सहभागी भएर विजेता बनेको त्यो क्षणले उनको आत्मविश्वासलाई नयाँ उचाइ दिएको थियो । उनी भन्छिन्,‘आज त्यो प्रतियोगिता सानो लाग्न सक्छ, तर त्यो बेला मेरो लागि त्यही नै सबैभन्दा ठूलो मञ्च थियो । पहिलो पटक सहभागी भएर जित हासिल गर्दा संगीतमा केही गर्न सक्छु भन्ने विश्वास जागेको थियो । त्यो खुसी आज पनि मनमा उत्तिकै ताजा छ ।’
स्थानीय कार्यक्रम र जिल्लास्तरीय प्रतियोगितामा आफ्नो प्रतिभा देखाउँदै अघि बढेकी भूमिका करिब डेढ दशकअघि गायिका बन्ने ठूलो सपना बोकेर काठमाडौं पुगिन् । राजधानीमा सफलता सहज थिएन । पाँचदेखि सात वर्षसम्म उनले विभिन्न दोहोरी साँझमा गीत गाउँदै आफ्नो पहिचान बनाउन सङ्घर्ष गरिन् । आर्थिक अभाव, अवसरको कमी र प्रतिस्पर्धाका अनेक चुनौतीकाबिच पनि उनले आफ्नो लक्ष्य छाडिनन् । निरन्तरको मेहनतले अन्ततः उनको जीवनमा नयाँ मोड ल्यायो ।
करिब १३ वर्षअघि रोइला गीत ‘लौका चाख्ने मौका देऊ’ मार्फत् उनले पहिलो पटक स्टुडियोमा स्वर भर्ने अवसर पाइन् । त्यो दिन उनको साङ्गीतिक जीवनकै सबैभन्दा महत्वपूर्ण दिनमध्ये एक बन्यो । ‘पहिलो पटक स्टुडियोमा गीत रेकर्ड गर्दा लागेको खुसी आज पनि शब्दमा व्यक्त गर्न सक्दिनँ’, उनी सम्झिन्छिन् । ‘त्यो अवसरले मलाई अझ धेरै मेहनत गर्न प्रेरणा दियो ।’
पहिलो गीतपछि गायक रामजी खाँडसँगको सहकार्यमा सार्वजनिक भएको ‘तिउन मिठो बनायो चुकैले गोल’ अप्रत्याशित रूपमा लोकप्रिय बन्यो । यही गीतले भूमिका गिरीलाई नेपाली लोकदोहोरी संगीतमा स्थापित गरायो । गीत सुपरहिट भएपछि देशभरका मेला, महोत्सव तथा साङ्गीतिक कार्यक्रममा उनको माग बढ्न थाल्यो । दर्शक, श्रोताले उनको गायनलाई खुलेर रुचाए, जसले उनको साङ्गीतिक यात्रालाई नयाँ उचाइमा पु¥यायो ।
राष्ट्रिय मञ्चमा स्थापित भएपछि उनको यात्रा अन्तर्राष्ट्रिय स्तरसम्म विस्तार भयो । सन् २०१५ मा पहिलो पटक जापानमा आयोजित साङ्गीतिक कार्यक्रममा सहभागी भएर उनले विदेशी भूमिमा नेपाली लोकसंगीत प्रस्तुत गरिन् । त्यसयता उनले जापानसहित करिब २२–२३ देशमा साङ्गीतिक प्रस्तुति दिइसकेकी छन् । विदेशी भूमिमा नेपाली गीत गाएर प्रवासी नेपालीहरूको माया र सम्मान पाउनु आफ्ना लागि जीवनकै अर्को अविस्मरणीय उपलब्धि भएको उनी बताउँछिन् ।
‘दाङको दुर्गम नाका क्षेत्रमा जन्मिएकी म एक दिन विश्वका विभिन्न देशमा पुगेर नेपाली गीत गाउँछु भन्ने कल्पना पनि गरेकी थिइनँ,’ उनी भन्छिन् । ‘लगन, मेहनत र निरन्तर कर्मले असम्भवजस्तो लाग्ने सपना पनि पूरा हुने रहेछ । विदेशमा बसेका नेपालीहरू आफ्नै भाषा र गीत सुनेर भावुक बनेको देख्दा आफूले गरेको सङ्घर्ष सफल भएको अनुभूति हुन्छ ।’
गायनसँगै नृत्य र अभिनयमा पनि उत्तिकै सशक्त भूमिका आफ्ना अधिकांश गीतमा आफैं मोडलिङ गर्छिन् । उत्कृष्ट स्टेज प्रस्तुतिका कारण उनी लोकदोहोरी क्षेत्रमा ‘स्टेज क्विन’ का रूपमा परिचित छिन् । उनी कार्यक्रमको सङ्ख्याभन्दा गुणस्तरलाई प्राथमिकता दिन्छिन् । ‘हरेक कार्यक्रममा पुग्नु ठूलो कुरा होइन,’ उनी भन्छिन्, ‘दर्शकले सम्मान र माया गर्ने कार्यक्रममा पुगेर आफ्नो प्रस्तुति दिन पाउनु नै मेरो सबैभन्दा ठूलो सफलता हो । कलाकारलाई दर्शकको मायाभन्दा ठूलो पुरस्कार अर्को हुँदैन ।’
डेढ दशकभन्दा लामो साङ्गीतिक यात्रामा भूमिका गिरीले धेरै लोकदोहोरी गीतमा स्वर दिएकी छन् । गायनसँगै मोडलिङ र गीत सिर्जनामा पनि उनी सक्रिय छिन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी सदस्यका रूपमा नेपाली लोकसंगीतको संरक्षण र प्रवर्धनमा निरन्तर योगदान दिँदै आएकी छिन् ।
घरकी जेठी छोरी भूमिकाका दुई भाइ र एक बहिनी छन् । गाउँकै विद्यालयबाट औपचारिक शिक्षा सुरु गरेकी उनले आज आफ्नो सङ्घर्ष, लगन र आत्मविश्वासका बलमा नेपाली लोकदोहोरी क्षेत्रमा विशिष्ट पहिचान बनाएकी छिन् । उनी मान्छिन्, सफलता एकै दिनमा प्राप्त हुँदैन; त्यसका लागि निरन्तर अभ्यास, धैर्यता र आफ्नो लक्ष्यप्रतिको इमानदार समर्पण आवश्यक हुन्छ ।
दाङको सानो नाका क्षेत्रबाट सुरु भएको उनको यात्रा आज विश्वका विभिन्न देशसम्म पुगेको छ । यो केवल एउटी गायिकाको सफलता होइन, आफ्नो सपना पूरा गर्न निरन्तर सङ्घर्ष गर्ने हरेक व्यक्तिका लागि प्रेरणाको कथा हो । आफ्नो मौलिक गायन, सशक्त प्रस्तुति र दर्शकप्रतिको सम्मानका कारण भूमिका गिरी आज पनि नेपाली लोकदोहोरी संगीतको लोकप्रिय र विश्वासिलो नामका रूपमा निरन्तर अघि बढिरहेकी छन् ।
प्रस्तुति : हिमाल महरा