छर्छरे खानेपानीको अध्यक्षमा नेपाली

गोरक्ष समाचारदाता
तुलसीपुर, २२ असार । तुलसीपुर उपमहानगरपालिका–१७ र १८ का उपभोक्तालाई खानेपानी उपलबध गराउँदै आएका तुलसीपुर उपमहानगरपालिका–१७ फोर्टिनाइनस्थित छर्छरे खानेपानी सरसफाइ उपभोक्ता समितिको शनिवार र आइतवार दुई दिनसम्म चलेको आठौँ साधारणसभा तथा अधिवेशनले समितिका सचिव आशाराम नेपाली (शंकर)को नेतृत्वमा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ ।

निर्वाचन संयोजक चिरन्जीवी तिल्क्यानीको संयोजकत्वमा गठित तीन सदस्यीय समितिले नेपालीको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन गरेको थियो । निर्वाचन समितिको सदस्यमा स्थानीय समाजसेवी गिरिराज पाण्डे र राकेश परियार थिए । दुई दिनसम्मको सहमति प्रयासपछि आइतवार बिहान सर्वसम्मत रूपमा नेतृत्व चयन भएको हो ।

सर्वसम्मत नेतृत्वमा बरिष्ठ उपाध्यक्षमा भगवती श्रेष्ठ, उपाध्यक्षमा खगेन्द्रबहादुर डाँगी, सचिवमा झुपलाल नेपाली, सहसचिवमा डम्बरबहादुर वली, कोषाध्यक्षमा कमलबहादुर रावत, सदस्यमा तुलसा बुढा चौधरी, मीनबहादुर वली र लीला नेपाली चयन भएका छन् । सर्वसम्मत चयन भएका कार्यसमितिका पदाधिकारीलाई आइतवारै निर्वाचन समितिले शपथ ग्रहण गराएको छ ।

साधारणसभा तथा अधिवेशन समितिका अध्यक्ष गेहराज पौडेलको अध्यक्षता, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका प्रमुख प्रकाशजंग शाहको प्रमुख आतिथ्यता तथा तुलसीपुर–१७ का वडाध्यक्ष थलराज पुरीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो । समितिका उपाध्यक्ष माधव अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाली कांग्रेस, रास्वपा, नेकपा एमाले तथा नेपाली कम्युनिस्ट पार्टीका प्रतिनिधि, विभिन्न टोल विकास संस्थाका प्रतिनिधि, पूर्वअध्याक्षहरू, छिमेकी खोनेपानी संस्था बेलझुण्डी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका प्रतिनिधि, जुरपनिया मैना तारा खानेपानी तथा मङ्गरी खानेपानीका प्रतिनिधिलगायतले साधारणसभा एवम् अधिवेशनको पूर्ण सफलताको कामना गरेका थिए ।

सो अवसरमा समितिको वार्षिक प्रतिवेदन सचिव आशाराम नेपालीले प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष जेनी भण्डारीको विशेष कारण उपस्थिति हुन नसकेको भन्दै लेखा प्रतिवेदन कार्यलय प्रमुख प्रकाश वलीले पढेर सुनाएका थिए । दुवै प्रतिवेदनलाई साधारणसभाको बन्दसत्रले सर्वसम्मत रूपमा अनुमोदन गरेको छ ।

कार्यक्रमको सहजीकर समितिका सचिव आशाराम नेपालीले गरेका थिए । सो अवसरमा नियमित बिल बुझाउने उपभोक्तालाई सम्मानसमेत गरिएको थियो । झन्डै दुईदशक अघिदेखि पानीका लागि सङ्घर्षरत छर्छरे खानेपानी समितिले अथक प्रयासपछि विगत एक दशकदेखि उपभोक्तालाई डिपबोरिङबाट शुद्ध, सफा र स्वच्छ पिउने पानी उपलब्ध गराउँदै आएको छ । समितिका धारा सङ्ख्या दिनानुदिन बढिरहेका छन् ।

बेलझुण्डीको उत्तरी सीमादेखि दुधराससम्म तथा बघौसी र झिँगैसमेतका स्थानीयलाई ओभरहेड ट्याङ्कीबाट पिउने पानी वितरण गर्दै आएको छर्छरे खानेपानीका झन्डै पाँच सय निजी धारा वितरण गरिएका छन् । यसबाट करिब छ हजार बढी उपभोक्ता लाभान्वित भएका छन् ।