महिलालाई आत्मनिर्भर बनाउन लमहीमा प्रविधि हस्तान्तरण

प्रिया स्मृती गजेमेर

देउखुरी, २२ असार । महिलालाई सिप, रोजगारी र आत्मनिर्भरतासँग जोड्ने उद्देश्यले लमही नगरपालिकाले सञ्चालन गर्दै आएको लघु उद्यम प्रवर्धन कार्यक्रम अन्तर्गत उद्यमी महिलालाई प्रविधिमैत्री सामग्री हस्तान्तरण गरेको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास शाखामार्फत् सञ्चालन हुँदै आएको कार्यक्रम अन्तर्गत विभिन्न सिपमूलक तालिम पूरा गरेका महिला उद्यमीलाई व्यवसाय विस्तारमा सहयोग पुग्ने गरी आवश्यक उपकरण उपलब्ध गराइएको हो ।

लमही नगरपालिकाले विगतका वर्षदेखि नै महिलालाई विभिन्न सिपमूलक तालिम प्रदान गर्दै आएको छ । तालिमपछि उनीहरूलाई व्यवसाय सञ्चालन गर्न आवश्यक औजार तथा उपकरण उपलब्ध गराउँदै आएको नगरपालिकाले यस वर्ष पनि प्रविधि हस्तान्तरण कार्यक्रमलाई निरन्तरता दिएको हो ।

नगरपालिकाले सिप सिकाउने मात्र नभई सिकेको सिपलाई व्यवहारमा उतारेर आयआर्जन गर्न सक्ने वातावरण निर्माण गर्ने उद्देश्यले गरिबी निवारणका लागि लघु उद्यम विकास शाखामार्फत् विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

लघु उद्यम विकास शाखाकी उद्यम विकास सहजकर्ता रिता पुन मगरका अनुसार लमही नगरपालिका–३ मा कपडाको झोला उत्पादन गर्ने उद्यमी समूहलाई एक थान इलेक्ट्रोनिक ओभरलक मेसिन, दुई थान इलेक्ट्रोनिक सिलाइ मेसिन तथा एक थान टेबुल हस्तान्तरण गरिएको छ । त्यसैगरी वडा नम्बर ६ मा नयाँ उद्यम सुरु गरेका लेडिज चप्पल उत्पादन गर्ने उद्यमीलाई एक थान अम्ब्रेला सिलाइ मेसिन र एक थान स्टुल वितरण गरिएको छ ।

नगरपालिकाले उपकरण उपलब्ध गराएपछि उद्यमी महिलाले उत्पादनको गुणस्तर सुधार गर्न, उत्पादन क्षमता वृद्धि गर्न तथा बजारको माग अनुसार सामान उत्पादन गर्न सहज हुने विश्वास लिएको छ । पछिल्ला वर्षहरूमा लमही नगरपालिकाले सञ्चालन गरेका सिपमूलक तालिम तथा प्रविधि हस्तान्तरण कार्यक्रमबाट धेरै महिलाले आफ्नै व्यवसाय सञ्चालन गरी परिवारको आर्थिक अवस्था सुधार गर्न सफल भएको नगरपालिकाको दाबी छ ।

सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै लमही नगरपालिकाका कार्यवाहक नगर प्रमुख लक्ष्मी योगीले महिलाको आर्थिक सशक्तीकरण नगरपालिकाको प्रमुख प्राथमिकतामध्ये एक रहेको बताइन् । उनले महिलालाई सिप सिकाएर मात्र नहुने भन्दै उनीहरूले सिकेको सिपलाई व्यवसायमा रूपान्तरण गर्न आवश्यक प्रविधि, उपकरण र प्राविधिक सहयोग उपलब्ध गराउनु स्थानीय सरकारको दायित्व भएको उल्लेख गरेका छन् ।

लमही–३ का वडाध्यक्ष मनोजकुमार चौधरीले सिपमूलक तालिम र प्रविधि हस्तान्तरणले महिलामा आत्मविश्वास बढाएको बताए । उनले तालिमपछि प्राप्त सिपलाई निरन्तर अभ्यास गर्दै व्यवसाय विस्तार गर्न आग्रह गर्दै स्थानीय सरकारले उद्यमीको हौसला बढाउन आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनका अनुसार महिलाले उत्पादन गरेका सामग्रीको गुणस्तरमा विशेष ध्यान दिँदै बजारको माग अनुसार उत्पादन बढाउन सके अझ राम्रो आम्दानी गर्न सकिने छ । लमही नगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत महेश थापा ठेडीले स्थानीय तहको उद्देश्य बेरोजगार नागरिकलाई आत्मनिर्भर बनाउनु रहेको बताउँदै उद्यम विकास कार्यक्रमले त्यस दिशामा सकारात्मक परिणाम दिएको उल्लेख गरेका छन् ।

लमही नगरपालिका–५ का वडा सदस्य केशवराज अधिकारी, उद्यम विकास सहजकर्ता रिता पुन मगरले नगरपालिकाले सञ्चालन गर्दै आएको लघु उद्यम विकास कार्यक्रमले धेरै महिलाको जीवनमा सकारात्मक परिवर्तन ल्याएको बताएका थिए ।

कार्यक्रममा सहभागी उद्यमी महिलाहरूले नगरपालिकाबाट प्राप्त उपकरणले आफ्नो व्यवसाय सञ्चालन गर्न सहयोग पुगेको प्रतिक्रिया दिएका छन । उनीहरूले अब उत्पादन बढाउने, गुणस्तरीय सामग्री तयार गर्ने र आफ्ना उत्पादनलाई बजारसम्म पु¥याउने लक्ष्यका साथ अझ मेहनत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।