दाङमा पाँच हजार बढीको परीक्षण, छ सय पचासमा सिकलसेलको लक्षण

लीलाधर वली

दाङ, २२ असार । दाङमा पाँच हजार बढी नागरिकमा सिकलसेल एनेमिया तथा थालसेमियाको परीक्षण गर्दा छ सय ५० जना बढी सिकलसेल एनेमियाका शङ्कास्पद बिरामी फेला परेका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगै जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिएको शिविरबाट पाँच हजार ७० जनाको नमुना सङ्कलन गरेर स्क्रिनिङ गर्दा सिकलसेल एनेमियाका शङ्कास्पद छ सय ५० जना बिरामी भेटिएका हुन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतवार घोराहीमा आयोजना गरेको ‘एएमआर र सिकलसेल एनेमियासम्बन्धी सचेतना कार्यक्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी प्याथोलोजिस्ट जेनिस छत्कुलीले प्रतिष्ठानले सञ्चालन गरेको सिकलसेल एनेमिया स्क्रिनिङ कार्यक्रममा परीक्षण गरिएका पाँच हजार ७० मध्ये छ सय ७० जनामा असामान्य हेमोग्लोबिन भेटिएको जानकारी गराएकी थिइन् ।

उनका अनुसार प्रतिष्ठानसँगै प्रतिष्ठानले जिल्लाका विभिन्न स्वास्थ्य संस्था तथा विद्यालयमा सञ्चालन गरेको शिविरबाट सङ्कलन गरिएको नमुना परीक्षणबाट सिकलसेल र थालसेमियाको जोखिम अझै चुनौतीपूर्ण रहेको छ । शिविरका क्रममा तीन हजार एक सय ६१ जना महिला र एक हजार नौ सय नौ जना पुरुष गरी पाँच हजार ७० जनामा परीक्षण गर्दा चार हजार चार सय २० जनामा हेमोग्लोबिन सामान्य देखिएको छ भने छ सय ५० जनामा विभिन्न प्रकारका असामान्य हेमोग्लोबिन देखिएको प्रतिष्ठानकी प्याथोलोजिस्ट छत्कुलीले जानकारी गराएकी थिइन ।

उनका अनुसार परीक्षण गरिएकामध्ये ३३ जनामा सिकलसेल डिजिट, तीन सय ४७ जनामा सिकलसेल ट्रेट, तीन जनामा बिटा थालसेमिया मेजर, एक सय ५७ जनामा बिटा थालसेमिया ट्रेट, ५९ जनामा सिकलसेल बिटा थालासेमिया ट्रेट र ५१ जनामा अन्य प्रकारका हेमोग्लोबिन भेरियन्ट फेला परेको हो ।

पाँच हजार नागरिकमा सिकलसेल एनेमिया परीक्षण गर्ने उद्देश्य अनुसार प्रतिष्ठानले चालु आर्थिक वर्षमा घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट तीन सय तीन जना, सिद्धरत्ननाथ नमुना माध्यमिक विद्यालय नारायणपुरबाट एक हजार पाँच सय २७ जना, माध्यमिक विद्यालय सौँडियारबाट सात सय ५१ जना, कोठरी स्वास्थ्यचौकीबाट चार सय ९८ जना, राप्ती आधारभूत अस्पताल सिसहनियामा पाँच सय ६३ जना, दंगीशरण गाउँपालिकाको स्वास्थ्यचौकीमा चार सय ३२ जना, स्वास्थ्यचौकी झिङ्नी र माध्यमिक विद्यालय झिङ्नीबाट दुई सय ७७ जना र मानपुरमा रहेको दीपेन्द्र माध्यमिक विद्यालयबाट तीन सय १९ जनाको नमुना सङ्कलन गरी परीक्षण गरिएको थियो ।

स्वास्थ्यकर्मीले सिकलसेल र थालासेमिया वंशाणुगत रगतसम्बन्धी रोग भएकाले समयमै परीक्षण, परामर्श र जनचेतना आवश्यक रहेकोमा जोड दिएका छन् । विवाहपूर्व तथा सन्तान योजना अघि परीक्षण गर्न सके नयाँ पुस्तामा रोगको जोखिम घटाउन सकिने उनको भनाइ थियो । प्रतिष्ठानले बढी जोखिम रहेका समुदाय तथा क्षेत्रमा परीक्षण र सचेतना कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

रोगबारे सचेतनासँगै परीक्षण गर्नु पर्नेमा जोड

यसैबिच राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आयोजना गरेको एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) र सिकलसेल एनेमियासम्बन्धी सचेतना कार्यक्रमका सहभागीले औषधीको विवेकपूर्ण प्रयोग, स्वस्थ खानपान र नियमित स्वास्थ्य परीक्षण गर्नु पर्नेमा जोड दिएका छन् । उनीहरूले चिकित्सकको अनुमतिविना जथाभावी एन्टिबायोटिक औषधीको प्रयोग नर्गन आग्रह गर्दै जथाभावी प्रयोगले पछिल्लो समय जटिल प्रकारका समस्या देखिएकाले बिक्री गर्ने संस्थादेखि प्रयोग गर्ने नागरिकसम्म सचेतना आवश्यक रहेकोमा जोड दिएका थिए ।

प्रतिष्ठानका निमित्त निर्देशक डा सुरेश रसाइलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषयमा नागरिकलाई सचेत बनाउनु पर्ने बताए । उनले एन्टिबायोटिकका कारण पर्न सक्ने असरसँगै सिकलसेल रोगलाई नियन्त्रणका लागि समुदायमा सचेतनासँगै परीक्षणमा जोड दिनु पर्ने बताएका थिए । कार्यक्रमका विशिष्ट अतिथि घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले नागरिकमा सचेतनासँगै स्वस्थ खानपिन, सकारात्मक जीवनशैली, चिकित्सकको सल्लाहविना औषधी सेवन नगर्ने बानीको विकास गर्नु पर्ने बताए । नियमित स्वास्थ्य परीक्षणमा समेत ध्यान दिन नागरिकलाई आग्रह गरेका थिए ।

कार्यक्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निवर्तमान निमित्त निर्देशक एवम् प्राध्यापक डा जनार्दन पन्थी, नेपाल पत्रकार महासंघ दाङका कोषाध्यक्ष अमरक्षितिज भण्डारी, औषधी विक्रेता संघ दाङका अध्यक्ष सुनिल रेग्मीलगायतले एन्टिबायोटिकको गलत प्रयोग र सिकलसेल एनिमियाबारे सबै पक्ष जिम्मेवार बन्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा दाङका १० वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्य संस्थाका प्रमुख, प्रतिनिधिसँगै विभिन्न स्वास्थ्ययसम्बन्धी संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रतिष्ठानकी माइक्रोबायोलोजिस्ट डा. सुभद्रा पोख्रेल, डा. सुलभ रेग्मी र फार्माकोलोजिस्ट हेमन्त पन्थले एन्टिमाइक्रोबियल रेसिस्टेन्सका कारण, जोखिम र यसको रोकथामका उपाय र इन्टरनल मेडिसिन डा उपेन्द्र पौडेल र प्योथोलोजिस्ट जेनिस छत्कुलीले सिकल सेल एनेमियाबारे प्रस्तुतीकरण राखेका थिए । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेट्रन चन्द्रकुमारी गर्बुजाले विषय प्रवेश गराएको कार्यक्रमको सहजीकरण अस्पतालका प्रशासन अधिकृत शालिकराम कालाथोकीले गरेका थिए ।