झिँगैमा खुल्यो कृषि सहकारी

गोरक्ष समाचारदाता

फोर्टिनाइन, २२ असार । विगत एक वर्षदेखिको निरन्तर प्रयासपछि तुलसीपुर उपमहानगरपालिका–१७ झिँगैमा देवीपुर कृषि सहकारी संस्था लिमिटेड सञ्चालनमा आएको छ । सहकारीलाई तुलसीपुर उपमहानगरपालिका कार्यपालिका बैठकले सञ्चालन अनुमति दिएसँगै सो सहकारी विधिवत रूपमा सञ्चालनमा जान थालेको छ ।

सहकारीको प्रारम्भिक साधारणसभा आइतवारै झिँगैस्थित फोर्टिनाइन माविमा सम्पन्न भएको छ । तदर्थ समितिका अध्यक्ष पूर्णबहादुर वलीको अध्यक्षता, तुलसीपुर उपमहानगरपालिका–१७ का वडाध्यक्ष थलराज पुरीको प्रमुख आतिथ्यता तथा सहकारी संघ प्रदेश संयोजक रूपबहादुर खत्रीको विशिष्ट आतिथ्यतामा प्रारम्भिक साधारणसभा सम्पन्न भएको हो ।

राज्यले उपलब्ध गराउने कृषि उपजलगायत विभिन्न सरकारी कृषि अनुदान कार्यक्रममा स्थानीय जोडिन नसकेपछि कृषि सहकारीमा जोडिन स्थानीय सरकारबाट सहकारी स्वीकृति लिएर विधिवत रूपमा सञ्चालनमा आएको साधारणसभामा बताइएको थियो । सहकारीले विभिन्न कृषिका कार्यक्रमसँगै सरकारबाट उपलब्ध गराइने अनुदानको रासायनिक मलको समेत कारोबार गर्ने तयारी गरेको छ । प्रारम्भिक साधारणसभाले तदर्थ समितिकै अध्यक्ष पूर्णबहादुर वलीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयनसमेत गरेको छ ।

नवनिर्वाचित समितिका पदाधिकारीलाई आइतवारै सहकारी संघ लुम्बिनी प्रदेश संयोजक रूपबहादुर खत्रीले पद र गोपनीयताको शपथ खुवाएका थिए । सर्वसम्मत चयन भएको समितिको उपाध्यक्षमा बिना बस्नेत, सचिवमा मुकुन्द रिजाल, कोषाध्यक्षमा मिनबहादुर ढाँगी छन् । यसैगरी सदस्यमा टोपबहादुर वली, मानबहादुर बस्नेत, चन्द्रा डाँगी, रामकुमार रिजाल र देउरुपा वली रहेका छन् ।

यसैगरी साधारणसभाले बामदेव अधिकारीको संयोजकत्वमा यमलाल रिजाल र रूपा चालिसे सदस्य रहेको लेखा समिति चयन गरेको छ भने ऋण उपसमिति पनि साधारणसभामै चयन भएको छ । साधारणसभाको सहजीकरण बामदेव अधिकारीले गरेका थिए । सो अवसरमा सचिव मुकुन्द रिजालले साङ्गठनिक प्रतिवेदन र प्रकाश वलीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । दुवै प्रतिवेदनलाई साधारणसभाले सर्वसम्मत रूपमा अनुमोदन गरेको छ ।