बालविवाह र महिला संघर्षको यथार्थ बोकेको ‘गौँथली’ साउन १ देखि प्रदर्शनमा

दाङ, २० असार। बालविवाह, महिला संघर्ष, शिक्षा र पारिवारिक सम्बन्धको संवेदनशील कथा प्रस्तुत गर्ने नेपाली चलचित्र ‘गौँथली’ आगामी साउन १ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ।

प्रदर्शनको तयारीस्वरूप चलचित्रको भावनात्मक ट्रेलर सार्वजनिक गरिएको छ। करिब ३ मिनेट २० सेकेन्ड लामो ट्रेलरले शिक्षाको सपना बोकेकी एक युवतीले सामाजिक कुरीति, पितृसत्तात्मक सोच र वैवाहिक जीवनमा भोग्नुपरेका चुनौतीबीच गरेको संघर्षलाई मार्मिक रूपमा चित्रण गरेको छ। अटिजम भएका युवकसँग विवाह गरेपछि उनले भोग्ने मानसिक तथा सामाजिक पीडा, महिलाको शिक्षा, घरेलु हिंसा र परम्परागत सोचका कारण चकनाचुर हुने सपनालाई ट्रेलरले प्रभावकारी ढंगले प्रस्तुत गरेको छ।

चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले शनिबार तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा निर्देशक डा कपिल रिजालले चलचित्रले मनोरञ्जनसँगै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्य बोकेको बताउनुभयो। उहाँका अनुसार चलचित्रको मूल विषय बालविवाह, महिला सशक्तीकरण, शिक्षाको महत्त्व र पारिवारिक जिम्मेवारी हो।

चलचित्रको कथा डा भोला रिजालले लेख्नुभएको हो। चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, रवीन्द्र झा, लुनिभा तुलाधर, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना, राजेन्द्र नेपाली, अंशु ओली र प्रिन्स नेपालीको अभिनय रहेको छ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष नारायणी रजौरेले सामाजिक रूपान्तरणका लागि सन्देशमूलक चलचित्रको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो। त्यसैगरी तुलसीपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बिमल रिजालले यथार्थपरक र समाज परिवर्तनका पक्षमा बनेका चलचित्रलाई सबैले साथ दिनुपर्ने धारणा राख्नुभयो।

कार्यक्रम चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाका अध्यक्ष निरला अर्यालको अध्यक्षतामा भएको थियो भने सहजीकरण सचिव एकराज भण्डारीले गर्नुभएको थियो। भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको चलचित्रको निर्देशन डा कपिल रिजालले गर्नुभएको हो। चलचित्रको पटकथा तथा संवाद लेखनमा निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेको सहकार्य रहेको छ।

निर्माण पक्षका अनुसार ‘गौँथली’ ले मनोरञ्जन मात्र नभई बालविवाह अन्त्य, महिला शिक्षा र समानताको पक्षमा समाजमा सकारात्मक बहस सिर्जना गर्ने अपेक्षा गरिएको छ।