पुरन्धारालाई पराजित गर्दै त्रिशिद्देश्वरी दाङ भ्याकेशनल लिगको फाइनलमा

विकास  भट्टराई

दाङ,२१ असार । पुरन्धारालाई पराजित गर्दै त्रिशिद्देश्वरी दाङ भ्याकेशनल लिगको फाइनलमा प्रवेश गरेको छ । दाङ जिल्ला क्रिकेट संघको आयोजना तथा नेवा सप्लायर्सको आर्थिक सहयोगमा सुरु भएको लिगको फाइनलमा त्रिशिद्देश्वरी स्पोट्र्स क्लव तुलसीपुर प्रवेश गरेको हो ।

दाङ जिल्लाका सक्रिय ९ क्रिकेट क्लबहरुबिच एक आपसमा खेल्ने गरेर ३ वर्ष अघिबाट संचालन भएको नेवा सप्लायर्स दाङ जिल्ला क्लबस्तरीय भ्याकेशनल लिग क्रिकेट प्रतियोगिताअन्तर्गत एक दिवसियका लिग चरणका ३६ खेल सम्पन्न भएका छन । लिगबाट छानिएका शिर्ष ४ टिमबिच रातो बलले २ दिने सेमिफाइनल खेल खेल्ने तय भए पश्चात २ दिने पहिलो सेमिफाइनल खेलमा पुरन्धारा क्रिकेट क्लब बबईलाई ६० रनले पराजित गर्दै त्रिशिद्देश्वरी स्पोट्र्स क्लब तुलसीपुर दाङ जिल्ला भ्याकेशनल लिगको फाइनलमा प्रवेश गरेको हो ।

असार २० गतेबाट सुरु भएको पहिलो २ दिने सेमिफाइनल खेलमा पहिला टस जितेर ब्याटिङ गरेको त्रिशिद्देश्वरीले पहिलो इनिङ्स ४६.३ ओभर खेल्दै आफ्नो सम्पूर्ण विकेट गुमाएर १४३ रनमा समेटिएको थियो । त्रिशिद्देश्वरीका लागि विजय डाँगीले २३ रन, सन्दिप भुलले २२ रन, कमल चौधरीले १६रन र दानिस अन्सारीले १४ रन जोडे । बलिङ्मा पुरन्धाराका लागि सुजल वलीले ४ विकेट, सर्गम भारती र अनुप डाँगीले समान २–२ विकेट लिएका थिए ।

१४४ रनको ट्रेललाई पछ्याएको पुरन्धारा दोस्रो इनिङ्स २१.२ ओभर खेल्दै आफ्नो सम्पूर्ण विकेट गुमाएर ४३ रनमा समेटियो । पुरन्धाराका लागि मनोज केसीले २६ रन बाहेक अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन् । बलिङमा त्रिशिद्देश्वरीका लागि करन कुमार र शंकर बुढाले समान ३–३ विकेट, दानिस अन्सारीले २ विकेट लिएका थिए । त्यसपछि १०० रनको अग्रता लिएको त्रिशिद्देश्वरीले तेस्रो इनिङ्स २१.२ ओभर खेल्दै आफ्नो सम्पूर्ण विकेट गुमाएर ६३ रन बनायो । जस्मा ब्याटिङतर्फ शंकर बुढाले ३१ रन र सुमन वलीले १४ रन जोडे । बलिङ्मा पुरन्धाराका सुजल वलीले ५ विकेट र तेजबहादुर केसीले ४ विकेट लिए ।

जवाफी १६४ रनको लक्ष्य पछ्याएको पुरन्धाराले चौथो इनिङ्स ३२.३ ओभर खेल्दै आफ्नो सम्पूर्ण विकेट गुमाएर १०३ रनमै समेटियो । पुरन्धाराका लागि प्रिन्स थापाले ४५ रन र मनोज केसीले १७ रन बनाए । बलिङमा त्रिशिद्देश्वरीका लागि शंकर बुढाले ५ विकेट र दानिस अन्सारीले २ विकेट लिए । योसँगै पुरन्धारालाई ६० रनले पराजित गर्दै त्रिशिद्देश्वरी फाइनल पुग्न सफल भएको छ । खेलको प्लेयर अफ द म्याच बलिङमा ८ विकेट लिने र ब्याटिङमा ३७ रन बनाउन सफल खेलाडी शकर बुढा भएका थिए । योसँगै अर्को सेमिफाइनल खेल असार २२ र २३ गते घोराही क्रिकेट एकेडेमी र देउखुरी वारियर्स स्पोट्र्स क्लब लमहीबिच हुनेछ भने फाइनल खेल असार २६,२७ र २८ गते ३ दिने हुने भएको छ ।