किसानलाई ५० प्रतिशत अनुदानमा कृषि यन्त्र

गोरक्ष समाचारदाता
दाङ, २० असार । शान्तिनगर गाउँपालिकाले किसानलाई कृषि यन्त्र वितरण गरेको छ । गाउँपालिकाका किसानलाई कृषिमा सहजता प्रदान गर्न शान्तिनगर गाउँपालिकाले किसानलाई कृषि यन्त्र सहयोग गरेको हो ।

पालिकाका डेढ सय बढी किसानलाई अनुदान स्वरूप कृषि यन्त्रहरू एक कार्यक्रमको आयोजना गरी वितरण गरिएको हो । गाउँपालिकाले कृषि क्षेत्रको रूपान्तरण र आधुनिकीकरणका लागि चालु आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत एक सय ६५ जना किसानलाई कृषि यन्त्र वितरण गरेको हो ।

इबिडिङ (टेन्डर) प्रणालीमार्फत् खरिद गरी करिब ६० लाख रुपैयाँ बराबरको लागतमा कृषि उपकरण किसानलाई हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतले जानकारी दिए । उनले कृषिमा सकजता प्रदान गर्न र आधुनिकतासँग जोड्ने उद्देश्यले पालिकाले कृषि यन्त्रहरू किसानलाई अनुदानमा प्रदान गरिएको बताए ।

गाउँपालिका उपाध्यक्ष प्रेमाकुमारी बुढाथोकीले किसानलाई कृषिमा आकर्षित गर्न र किसानलाई आधुनिकतासँग जोडेर उत्पादन बढाउन एवम् किसानको समय बचत गर्ने उद्देश्यले कृषि यन्त्र वितरण गरिएको बताइन् । प्रमुख प्रशासकीय अधिकृत भेषराज चन्दले किसानलाई कृषि यन्त्र सहयोग कार्यक्रमले शान्तिनगर गाउँपालिकालाई कृषि उत्पादन र खाद्यान्नमा आत्मनिर्भर बनाउन टेवा पुग्ने विश्वास व्यक्त गरे ।

खेतीपातीमा लाग्ने समय, शारीरिक श्रम र उत्पादन लागत घटाई समग्र उत्पादकत्व बढाउने, वैदेशिक रोजगारीका कारण गाउँघरमा देखिएको कृषि मजदुरको अभावलाई प्रविधिमार्फत् पूर्ति गर्ने र युवा पुस्तालाई कृषिमा आकर्षित गर्ने उद्देश्यले गाउँपालिकाले यो कार्यक्रम ल्याएको कृषि शाखा प्रमुख सुप्रभा भण्डारीले जानकारी दिइन् ।

उनका अनुसार स्वीकृत प्रक्रियामार्फत खरिद गरिएका ४५ थान कम्बाइन राइस मिल, ३९ थान मिनिटिलर, ३५ थान इलेक्ट्रिक कर्न थ्रेसर, २५ थान ज्याब सिड प्लान्टर र २१ थान इलेक्ट्रिक च्याफ कटर गरी कूल एक सय ६५ थान आधुनिक कृषि सामग्री किसानलाई वितरण गरिएको थियो ।

५० प्रतिशत अनुदानमा आधुनिक औजारहरू पाएपछि स्थानीय किसान खुसी भएका छन् । गाउँपालिका, हेफर प्रोजेक्ट नेपाल र नेपाल महिला सामुदायिक सेवा केन्द्रको साझेदारीमा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यामशीलता विकास साझेदारी परियोजना, शान्तिनगर गाउँपालिका, वडा कार्यालयको संयुक्त बजेटमा कृषि यन्त्रहरू वितरण गरिएको हो ।

गाउँपालिका अध्यक्ष बस्नेतले ‘मिनिटिलर’ स्टार्ट गरेर यन्त्र वितरण उद्घाटन गरेका थिए । वडा नं. ६ का अध्यक्ष शेरबहादुर भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कृषि प्राविधिक केशव केसीले गरेका थिए ।