कविता : मेरो देश

प्रिन्सिका पोख्रेल

गृह सम्हाल्ने शक्ति राख्छु भन्ने म,
आजै मेरै चक्षुलाई सिङ्गारिरहेका छन् नयन जलले,
फेरि सम्झिएँ, घरकी जेठी छोरी म
नै कमजोर भए आमाबुवाको रित्तो गोजी भर्छ कसले ?

आँखैमा आएको पिर घाटीमै लिएर निले
पिडा बिर्सने प्रयास गर्छु भनी गगनलाई नियाले जस्तो गरे,
उड्यो सेतो हवाइजहाज मेरै शिरमाथि
फेरि सम्झिएँ, चाँदी झै टलक्क टल्किने मेरो सेतो सगरमाथालाई
अहिलेसम्म आफ्नो स्नेहको ऋण लगाएको मेरो प्यारो देशलाई ।

मेरो देश, यहाँका डाँडापाखा, लेकबेसीको सुन्दरता
निशाको खुल्ला आकाशमा बसी गाइने ती टुक्का र भाका
डाँफे, मुनाल नाच्ने गर्थे जसरी
लाली लगाई शर्मले मुसुक्क हाँसेकी लालीगुराँस
सम्पूर्णको यादले रोक्न सकेन मैले आफूलाई
फेरि खसी गए आँसुका थोपा वर्षा ऋतुमा पर्ने झरी
हरियो डाँडापाखालाई अब त्याग्नै प¥यो,
हातको मेरो हरियो पासपोर्टका लागि
छोडी जाने बकुल्ला झै चटक्क छोड्नु परेको छ
अहिलेसम्म आफ्नो स्नेहको ऋण लगाएको मेरो प्यारो देशलाई ।

कलकल बग्ने चिसो झरनाको जलमा तिर्सना मेट्ने म
सगरमाथाको सौन्दर्यपूर्ण आवरणमा हराउँदै कागजमा आकृति कोर्थे म
आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको घुइँचोमा छु
देशप्रतिको माया, ममतालाई सेतो कात्रोमा बेरेर अग्निमा राख्दै छु
जुन मुलुकको भूमिले बनायो मेरो बाल्यकाल दन्त्यकथाको परी झै
अन्त्यमा समयको खेल यस्तै, रोकिने रहेनछ घडीको सुई
जीवन रहेनछ त्यस्तो मेरी आमाले चन्द्रमा देखाउँदै सुनाएको कथा झै
बाल्यकालको डन्डी बियो कता हराएछ, त्यही खोज्दा खोज्दै बाल्यकाल नै सकिएछ
परिपक्वताको जिम्मेवारी काँधमा लिई, छोड्दै छु मेरो प्यारो देशलाई ।

–गोर्खा इन्टरनेसनल मा.वि., घोराही

कक्षा १०