दाङ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

अमरराज आचार्य
दाङ, २० असार । दाङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिले शुक्रवार घोराहीमा आयोजना गरेको कार्यक्रममा दाङ्लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री रामजीप्रसाद घिमिरेले जिल्ला समन्वय समितिका प्रमुख नित्यान्द शर्मालाई प्रमाण–पत्र प्रदान गरेर घोषणा गरेका हुन् । सबै पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकेपछि जिल्लालाई घोषणा गरिएको हो ।

५९ महिनासम्मका सबै बालबालिकालाई खोप दिइएपछि घोषणा गरिएको हो । २०८३ असार एक गते बसेको जिल्ला खोप समन्वय समितिको बैठकले प्रदेश खोप समन्वय समितिलाई घोषणाका लागि माग गरिएको थियो ।

प्रदेश समन्व समितिले असार १२ गते घोषणाका लागि अनुमति दिएसँगै दाङलाई दाङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय दाङका खोप फोकल पर्सन भानुज्योति वलीले जानकारी दिए ।

स्वास्थ्य कार्यालय दाङका प्रमुख टिबी गुरुङले अहिले पनि सबै बालबालिकालाई खोप प्रदान गर्न विभिन्न समस्या रहेको बताए । खोप लगाउने ड्रप आउट, बसाइँ सराइ गरी आउने÷जाने चुनौती, दातृ निकायको सहयोग घट्दै गएको उनको भनाइ छ । खोप कार्यक्रम सरकारको सबैभन्दा प्रभावकारी कार्यक्रम रहेको उनले बताए ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री घिमिरेले खोप पाउनु बालबालिकाको अधिकार भएको बताए । खोपले स्वस्थ नागरिक बनाउन सहयोग पुग्ने बताउँदै दातृ निकायको सहयोगमा सरकारले सबै बालबालिकालाइ खोप दिएर स्वस्थ नागरिक बनाउने काम गरिरहेको बताए ।

बालबालिकाको भविष्यप्रति राज्य मात्र नभई अभिभावक सचेत हुनु पर्ने उनले बताए । खोप पाउनबाट कुनै पनि बालबालिका छुट्न नदिन सबैलाई सचेत हुन उनले आग्रह गरे । सरकारको तर्फबाट स्वास्थ्य क्षेत्रको सुधारमा अझै पनि धेरै काम गर्न बाँकी रहेको मन्त्री घिमिरेले बताए । बजेट नहुँदा गर्न चाहेर पनि काम गर्न नसक्ने अवस्था रहेको बताउँदै उनले भने, ‘स्रोत साधन सीमित हुँदा आवश्यक काम गर्न नसक्ने अवस्था रहेको छ ।’

जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले सबैको सामूहिक प्रयासबाट जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा सफल भएको बताए । सरकारको प्रभावकारी कार्यक्रमका रूपमा खोप कार्यक्रम रहेको उनले बताए । यसले स्वस्थ नागरिक उत्पादनमा सहयोग पुग्ने बताए ।

घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले स्वास्थ्य नै समृद्धिको आधार भएको बताउँदै समयमै गुणस्तरीय खोप बालबालिकालाई दिइनु पर्ने बताए । स्वस्थ नागरिकले नै देशको विकासमा सहयोग पु¥याउने नगर प्रमुख चौधरीले बताए । कार्यक्रममा लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगी र राप्ती गाउपालिका अध्यक्ष प्रकाश विष्टले खोप अभियानलाई प्रभावकारी बनाउन स्थानीय तहबाट मेहनतका साथ काम भएको बताए ।

फलस्वरूप खोप अभियानले जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनासम्म पु¥याएको बताए । प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेले खोप अभाव हुन नदिन सम्बन्धित निकायले समयमै ध्यान दिनु पर्ने बताए । समयमा सचेत हुन नसक्दा खोप पाउनबाट बालबालिका वञ्चित हुनु पर्ने अवस्था आउन सक्ने उनले बताए ।

कार्यक्रम जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख शर्माको अध्यक्षता तथा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री घिमिरेको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालय दाङका अधिकृत शरद घिमिरेले गरेका थिए ।

उत्कृष्ट स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थालाई सम्मान

कार्यक्रममा उत्कृष्ट १० स्वास्थ्यकर्मीलाई सम्मान गरिएको थियो । त्यस अवसरमा घोराहीका देवा योगी, तुलसीपुरका सुमन डाँगी, लमहीका शीला चौधरी, राप्तीका यज्ञबहादुर कार्की, गढवाका सुनिता चौधरी, राजपुरका शिवप्रसाद यादव, दंगीशरणका सीता गौतम, शान्तिनगरका मोहनबहादुर रावत, बबईका कल्पना भण्डारी र बंगलाचुलीका गोमा नेपालीलाई नगद र प्रमाणपत्रले सम्मान गरिएको थियो । १० स्थानीय तहका उत्कृष्ट १० स्वास्थ्य संस्थालाई पनि सम्मान गरिएको थियो ।

घोराही उपमहानगरपालिकाको नारायणपुर स्वास्थ्यचौकी, तुलसीपुर उपमहानगरपालिकाको पवननगर स्वास्थ्यचौकी, लमही नगरपालिकाको कोलही नगर स्वास्थ्य केन्द्र, राप्ती गाउँपालिकाको लालमटिया स्वास्थ्यचौकी, गढवा गाउपालिकाको गोबरडिहा स्वास्थ्यचौकी, राजपुर गाउँपालिकाको खङ्ग्रनाका सामुदायिक स्वास्थ्य इकाइ, दंगीशरण गाउँपालिकाको हेकुली स्वास्थ्यचौकी, शान्तिनगर गाउँपालिकाको धनौरी स्वास्थ्यचौकी, बबई गाउँपालिकाको आधारभूत स्वास्थ्य केन्द्र चरकमटिया, बंगलाचुली गाउँपालिकाको आधारभूत स्वास्थ्य केन्द्र लहापेलाई सम्मान गरिएको थियो ।