पत्र साहित्य : भाईलाई चिट्ठी

भाइ रमेश, आशिर्वाद

यहाँ नेपालमा हामी सबैलाई आरामै छ । यस पटकको मनसुुुन सुरु भएको छ । सबैको ध्यान धान खेति तिर गएको छ । वर्ष दिनको खाने खाद्यान्नतर्फ ध्यान जानु स्वाभाविकै कुरा हो । यस पटक तिमीले पठाएको आरामी पत्र भर्खरै मात्र आइ पुग्यो ।

त्यता अमेरिकातिर अध्ययनार्थ गएका तिमी र तिम्रा साथीहरुको पढाइ राम्रोसँग चलिरहेको कुरा सुन्न पाउँदा खुसी लागेको छ । यहाँको गतिविधि जान्न चाहेकोमा तिमीलाई धेरै–धेरै धन्यवाद भन्न चाहन्छु ।

भाइ रमेश, नेपालीमा एउटा भनाइ छ, लीला अपार छन् भगवान् हरिका भने झै जसको सरकार बने पनि किसानलाई फास्स न फुस्स । खेतीका बेलामा रासायनिक मल आउँदै छ भन्दा भन्दै हराइहाल्छ । विचरा किसान के गरुन् । मल दिने अफिसमा धाउँदा धाउँदै वर्षा सकिन्छ ।

सरकार छ कसको छ कसको छ थाहै पाउन गाह्रो छ । थोरै तिनो मल आयो भने के गर्ने ? किसानले सुर्ति खाने हैन । खेती गर्नलाई एक दुई किलोका दरले बाटो त पुग्द हो । जनतालाई उठाउने सरकार भए पो हुँदो हो ।

जनता मार्ने सरकारले के गरोस् । बिसौ वर्षसम्म सरकार सञ्चालकलाई देशमा कुन बालिका लागि कति क्षेत्रफलमा कति मल लाग्छ भन्नेसम्म जानकारी भएको जस्तो लाग्दैन । जानकारी भएको भए पुग्ने परिणामको मल किन सरकारले मगाउँदैन । मलका कारखाना खोल्नेतर्फ सरकारको ध्यान किन जादैन ।

किसान भन्छन् जति जोगी आए पनि कानै चिरेका भन्या जस्तै भइरहेछ । पुरानो समयमा देश खाद्यान्नमा आत्मनिर्भर थियो । त्यतिमात्र होइन खाद्यान्न देशमा पु¥याएर बचेको धान चामल विदेश भारत, बंगला देश, थाइलेण्ड आदि देशमा निर्यात गर्दथ्यो आज नेपालले अरबौ अरबको खाद्यान्न आयात गर्छ । हाम्रा नेताहरुले हामीले त के के न ग¥यौ भनेर गुड्डी हाक्न लाज मान्दैनन् ।

भाइ रमेश, देशको जुनसुकै क्षेत्रमा दृष्टि लाए पनि सन्तोष लिने ठाउँ कतै पनि देखिँदैन । सडक हे¥यो वर्ष दिन पुग्न नपाउँदै अनुहार बिग्रिसकेका देखिन्छन् । सडकमा परेका खाल्टाखुल्टीले गर्दा पटक–पटक दुर्घटना भएका कुराहरु हामी सबैले अनुभव गर्दै आएको कुरा हो ।

विभिन्न तहका परीक्षाहरु छिटो निकाल्ने प्रयास गर्दा गल्ति हुनपुग्यो । त्यसै कारण आन्दोलन गर्न विद्यार्थी बाध्य भएका छन् । कतिपयले त परीक्षा बिग्रियो भनेर आत्महत्या पनि गर्न पुगे । अहिले आएर हेर्दा विद्यार्थीको नभइ नतिजा निकाल्ने संस्थाकै कारण गल्ति भएको पाइयो ।

भाइ रमेश, भाद्र २३ र २४गते भएको जेन–जी आन्दोलनका कारण सरकारी कार्यालयहरु जलाइए । जनतासँग सम्बन्धित कागजहरु जले, त्यही निहँुुमा जनताले दुःख पाइरहेका छन् । जनतासँग आफ्ना कागजपत्र जस्तो पो त बुझाएका रसिन लालपुर्जा त छदै छन् । यिनै कागजहरुको फोटो कापी गराएर राखे त भई गोनि जनताले यसो भन्दा कर्मचारी हँुदैन भन्छन् ।

जताबाट पनि जनताले दुःख पाएकै छन् । जुन सरकार आए पनि जनताको पीर मर्का बुझ्दैनन् । जनताको हितमा उभिने सरकार कहिले आउला भनेर पीडितहरुले आफ्ना आवाज बुलन्द गरिरहेका छन् तर त्यसको कतै सुनवाइ छैन ।

भोलि अवश्य पनि सूर्य उदाउने छ भनेर पर्खनु बाहेक अर्को विकल्प छैन । भाइ रमेश, यहाँको ताजा देखा परेको परिस्थिति मैले तिमीलाई अवगत गराए । बाँकी कुराहरु अर्को पत्रमा जानकारी गराउने वाचा गर्दै हाललाई बिदा चाहन्छु ।

तिम्रो माया गर्ने दाजु
खगराज न्यौपाने