मितव्ययिता अपनाउनु आजको आवश्यकता हो

एकराज शर्मा अधिकारी

राजनीति, अर्थनीतिमा आधारित हुन्छ । राजनीति श्रेष्ठ नीति हो । राजनीति सफल हुन अर्थनीति बलियो हुनुपर्छ । देशको अर्थनीति राम्रोसँग चल्न सकेन भने देश डामाडोल हुन्छ । अर्थनीति कमजोर भयो भने मूल्यवृद्धि हुन्छ ।

राजनीति घर हो भने अर्थनीति खम्बा हो । अर्थनीति जनताको जनजिविकासँग सम्बन्धित हुन्छ । अर्थनीति बलियो भएन भने विद्रोह हुन्छ । म निर्वाचित भएर आएको हुँ जे पनि गर्न सक्छु भनेर दम्भ देखाउन थाले उसको पतन हुन्छ । हाम्रो देश लोकतान्त्रिक अभ्यास भएको मुलुक हो ।

नेपालको नीति उदारवाद हो । एउटा विद्धान राजनीतिज्ञले भनेका छन्– बहुदलीय लोकतन्त्र भनेको वुर्जवा लोकतन्त्र हो । जहाँ बोकाको टाउको देखाएर कुकुरको मासु बेचिन्छ । अहिले अन्तर्राष्ट्रिय परिवेशले गर्दा नेपालमा एकदलीय व्यवस्था सम्भव छैन । नेपालमा विकासको मुख्य बाधक को हो भन्दा नेताले भन्छन्– कर्मचारी बाधक हुन् ।

कर्मचारीले नेतालाई बाधक ठान्छन्, नेपालमा कर्मचारी र नेतामा मेल छैन, आरोप प्रत्यारोप गर्दछन् । त्यसैले विकास हुन सकेको छैन । बजेट पारित भइसकेपछि पनि रुपान्तरण गरेर नयाँ कार्यक्रममा लगाउँछन् । अहिलेबाट बजेट रकम स्थानीय तहमा जाने हुँदा समयमै बजेट खर्च हुनसक्छ ।

एउटा राजनीतिज्ञको भनाइ अनुसार खर्चिलो चुनावले राजनीतिमा भ्रष्टाचार हुन्छ । त्यसैले चुनावमा बढी खर्च गर्ने बानी छोडौँ । संसारमा लोकतन्त्र भन्नु नाम मात्र हो, कहाँ छ लोकतन्त्र ? लोकतन्त्रमा त विरोधीको सम्मान हुन्छ । अमेरिकामा कम्युनिष्टलाई पार्टी खोल्नै दिँदैन । कसरी लोकतन्त्र भन्ने ?

लोकतान्त्रिक रुपबाट चुनाव भएपछि व्यवहारमा अलोकतान्त्रिक देखिन्छ । हामी जो जति काम गरेका छाँै राजनैतिक कारणले पछि छौँ । नेपालमा दक्षिण पन्थी र वामपन्थीमा मेल छैन । अब हामी राजनैतिक घेरामा अल्मलने होइन । देश सबैको हो । आफ्नै देशको स्रोतसाधन प्रयोग गरेर अर्थनीति बलियो गराउन लड्नुपर्छ ।

एउटा क्षेत्र बलियो बनायौँ भने अर्को क्षेत्रले विकास गरिरहन्छ । सरकारसँग देश बनाउने सोच नभएको होइन तर प्रणालीले साथ दिएको छैन । सरकार बाठो पनि हुनुपर्छ । काममा हेलचक्राइ गर्ने कम्पनीलाई कारबाही गर्न सक्नुपर्छ । फराकिलो सोच राखेर काम गर्नुपर्छ । हो, हाम्रो देश भू्रपरिवेशिष्ठत छ । त्यसैले समस्या छ, हामीसँग पानी जहाज, जलमार्ग छैन, रेल पनि छैन, हामीले हवाई मार्गमा जोड दिनुपर्छ ।

हाम्रो जस्तो भूपरिवेशिष्ठत देशको लागि विश्वशनीय सस्तो हवाई यातायातबाट नै हुन्छ । त्यसको लागि हाम्रो देशको हावापानी सुहाउँदो व्यवस्था ल्याएनौँ । देश बलियो नहुँदै सङ्घीयता ल्यायौँ । ज्यादा खर्च बढ्यो । सङ्घीयतालाई धेरै खर्च चाहिन्छ, त्यसको विचार पु¥याएनौँ हतारमा ल्यायौँ ।

एकातर्फ हिजो सेना र पुलिस कम थिए, द्वन्द्वमा सेना र प्रहरी बढाउनेतिर लाग्यौँ । अर्धसैनिक दल गठन गरियो । घटाउनतिर लागेनौँ, सेना र प्रहरीमा धेरै खर्च भइदिन्छ । त्यो कहाँबाट ल्याउने । चालिस हजारको सेना एक लाख पुग्यो । खारेज गर्नतर्फ गएनौँ । अर्कातर्फ सामाजिक सुरक्षा भत्तामा चालिस अरब रुपैयाँ खर्च हुन्छ ।

त्यो कहाँबाट ल्याउने ? द्वन्द्व सकिएको दश वर्ष हुँदा पनि हामीले क्षतिपूर्ति दिन सकेका छैनौँ । सङ्घीयता धान्न सकिन भन्ने बहस पञ्चायती राज ढल्नु भन्दा अगाडि पनि कुरा चलेको हो तर त्यसको कसैले वास्ता गरेनौँ । अहिले सङ्घीयता घर–घरमा आएको छ । अहिले हामी औद्योगिक क्रान्तिको युगमा छौँ ।

पहिलो युग थियो– पानी र कोइलाबाट चल्ने रेलको आविष्कार गर्ने । दोस्रो युग आयो बिजुलीको, तेस्रो युग आयो कम्प्युटरको, चौथो युग इन्टरनेटको यसरी युग परिवर्तन हुँदै आइरहेको छ । औद्योगिक क्रान्ति नगरी देश परिवर्तन हुन सक्दैन । हामी धेरै पछाडि छाँै । अरुको दाँजोमा जानुछ ।

अनावश्यक खर्च कटौती गर्न साहस चाहिन्छ र मितव्यतिता अपनाउनुपर्छ र औद्योगिक क्रान्ति गर्नुपर्छ । सबैभन्दा ठुलो शक्ति हो जनता, औद्योगिक क्रान्ति गरेर जनतालाई रोजगारी दिनुपर्छ । श्रम हाम्रो पाखुरामा छ, अन्यन्त्रबाट ल्याउनु पर्दैन । यहाँ प्राविधिक मात्रको आवश्यक छ, प्राविधिक तालिम लिनलाई नेपाली युवाहरुलाई छात्रवृत्ति दिएर विदेशमा सिप सिक्न पठाउनुपर्छ ।

सिप सिकेपछि स्वदेशमा आएर सेवा गर्नु पर्ने नियम सरकारले गर्न सक्नुपर्छ । सामान्य जनतामा जति धेरै शक्ति हुन्छ, त्यति शक्ति सैनिकसँग हुँदैन । जनतासँग मिल्न सक्ने शासकले नै अनुशासन कायम गर्नसक्छ । जनताको हितमा तत्पर रहने शासकले नै अकन्टक राज्य गर्नसक्छ ।

राज्य व्यवस्थालाई शान्तिपूर्वक सञ्चालन गर्नको लागि सबैभन्दा पहिला जनतालाई अनुशासित राख्नुपर्छ र आफू पनि अनुशासित हुनुपर्छ । शासकले नीति र नियमअनुसार कर्म गर्नुपर्छ । काम, क्रोध, लोभ, मोहमा फसेका शासकहरुले राज्य सञ्चालन गर्न सक्दैनन् । अभिमानले गर्दा रावण मारिए ।

लोभले गर्दा दुर्योधन मारिए, जनतालाई कस्तो गराउनुपर्छ भन्ने कुरा नेताको हातमा हुन्छ । चोर बनाउने कि साधु बनाउने ? नेता चोर भए जनता पनि चोर हुन्छन् । नेता क्रियाशील छ भने जनता पनि क्रियाशील हुन्छन् । कर्मचारी पनि क्रियाशील हुन्छन्, नेता विलासी छ भने कर्मचारी पनि विलासी हुन्छन् ।

मन्त्री पद सम्बन्धित विषयको ज्ञान भएकोलाई दिनुपर्छ । अयोग्य व्यक्तिले, देशलाई खोक्रो बनाइदिन्छ । शासकले जनतामाथि ठूलो कर लगाउनु हुँदैन । अहिले गाउँनै गाउँ भएको नेपाल सहरीकरण भएको छ, आवश्यकता बढ्दैछ । जनतामा कुनै विपत्ति पर्दा करमा छुट दिनुपर्छ ।

विलासी सामानमा करको भार वृद्धि गर्नुपर्छ । मितव्ययिता कम खर्च गर्ने बानी बस्नुपर्छ । छाप्रोमा बस्नेलाई महलमा बस्ने गराउनुपर्छ, यो समाजवादी नीति हो । महलमा बस्नेलाई छाप्रोमा बसाल्ने होइन, यो साम्यवादी नीति हो । सबैलाई कल्याण गर्ने नीति हो । मितव्ययिता थोरै खर्च गर्ने बानी बसाल्नुपर्छ ।