राम–भरत मिलाप : निःस्वार्थ प्रेम, त्याग र आदर्श

प्रेरणाको विन्दु

तुफानबाबु श्रेष्ठ

परिवार मानव जीवनको पहिलो विद्यालय हो, जहाँ प्रेम, सम्मान, त्याग र कर्तव्यबोधका मूल्य सिकिन्छन् । परिवारभित्रको एकता र आपसी विश्वासले व्यक्तिलाई मात्र होइन, सम्पूर्ण समाजलाई पनि सुदृढ बनाउँछ ।

आजको व्यस्त र प्रतिस्पर्धात्मक जीवनमा स–साना स्वार्थ र अहंकारका कारण परिवारभित्र सम्बन्ध कमजोर बन्दै गएका छन् । यस्तो अवस्थामा रामायणमा वर्णित राम–भरतको सम्बन्धले हामीलाई आदर्श भ्रातृत्व, निःस्वार्थ प्रेम र धर्मको मार्गमा हिँड्ने प्रेरणा दिन्छ । प्रस्तुत कथा पनि यही महान् सन्देश बोकेको छ ।

एक गाउँमा शशि र रवि नाम गरेका दुई दाजुभाइ बस्थे । रवि उमेरमा ठूलो भए पनि दुवैको स्वभाव निकै फरक थियो । उनीहरू सानो कुरामा पनि झगडा गर्थे । खेल्ने बेला होस्, खाना खाने समय होस् वा पढ्ने बेलामा, उनीहरूबिच विवाद भइरहन्थ्यो । कहिले काहीँ त सुत्नुअघि पनि उनीहरूको झगडा रोकिन्नथ्यो ।

एक दिन उनीहरूकी हजुरआमा भेट्न आइन् । उनले नातिको व्यवहार नजिकबाट हेरिन् र उनीहरूलाई आफ्नो कोठामा बोलाइन् । मुस्कुराउँदै उनले सोधिन्, ‘तिमीहरूलाई भगवान् रामको बारेमा थाहा छ ?’

शशीले उत्साहित हुँदै उत्तर दियो, ‘अवश्य थाहा छ । भगवान् राम अयोध्याका राजकुमार थिए । उहाँले रावणलाई पराजित गरेर माता सीतालाई उद्धार गर्नुभएको थियो ।’ हजुरआमाले सन्तुष्ट हुँदै भनिन्, ‘ठीक भन्यौ तर भगवान् राम केवल वीर योद्धा मात्र होइनन् । उहाँ सत्य, कर्तव्य, आज्ञापालन, दया र आदर्श चरित्रका प्रतीक पनि हुनुहुन्छ ।’

त्यसपछि उनले अर्को प्रश्न गरिन्, ‘अनि भरत को हुन्, थाहा छ?’ यस पटक रविले उत्तर दियो, ‘भरत भगवान् रामका भाइ हुन् ।’ हजुरआमाले भनिन्, ‘हो, तर त्यो मात्र होइन । भरत आदर्श भाइ र भगवान् रामका महान् भक्त पनि थिए । उनका जीवनबाट हामीले निःस्वार्थ प्रेम र त्यागको अनुपम उदाहरण देख्न सक्छौँ ।’ त्यसपछि उनले राम–भरतको कथा सुनाउन थालिन् ।

अयोध्याका राजा दशरथका चार पुत्रमध्ये राम जेठा थिए । राजा दशरथले आफ्नी कान्छी रानी कैकेयीलाई पहिले नै दुईवटा वरदान दिने वचन दिएका थिए । समय बित्दै जाँदा जब रामलाई युवराज घोषणा गर्ने तयारी भयो, कैकेयीले त्यही वरदान प्रयोग गरिन् । उनले आफ्ना पुत्र भरतलाई राजा बनाउन र रामलाई चौध वर्षका लागि वनवास पठाउन माग गरिन् ।

राजा दशरथ आफ्नो वचनबाट पछि हट्न सकेनन् । पिता र राजाको धर्म पालन गर्दै उनले कैकेयीको माग स्वीकार गरे । भगवान् राम पनि आज्ञाकारी पुत्रका रूपमा पिताको आदेश शिरोधार्य गर्दै वनवास जान तयार भए । माता सीता र भाइ लक्ष्मण पनि उहाँसँगै वनतर्फ प्रस्थान गरे । त्यसबेला भरत अयोध्याबाहिर थिए ।

फर्किएपछि उनले सम्पूर्ण घटना थाहा पाए । यो समाचारले उनलाई अत्यन्त दुःखी बनायो । उनले आफूलाई सिंहासनको योग्य ठानेनन् र स्पष्ट रूपमा घोषणा गरे कि अयोध्याको वास्तविक राजा केवल राम नै हुन् ।

भरतले तत्काल रामलाई फिर्ता ल्याउने निर्णय गरे । उनी मन्त्री, गुरुजन र अयोध्यावासीसहित वनमा पुगे । त्यहाँ रामलाई भेट्ने वित्तिकै भरत भावुक बने । उनले रामका चरणमा नतमस्तक हुँदै क्षमा मागे । दुवै भाइ प्रेम र सम्मानका साथ एक–अर्कालाई अङ्गालो हाले । भरतले बारम्बार रामलाई अयोध्या फर्किएर राज्य सञ्चालन गर्न आग्रह गरे तर रामले पिताको वचन पूरा गर्नु आफ्नो सर्वोच्च कर्तव्य भएको बताउँदै वनवास पूरा नगरी फर्कन अस्वीकार गरे ।

यो अत्यन्त मार्मिक भेटलाई इतिहासमा ‘राम–भरत मिलाप’ भनेर चिनिन्छ । यो केवल दुई भाइको भेट मात्र थिएन, बरु प्रेम, सम्मान, त्याग र समर्पणको अनुपम उदाहरण थियो । दुवै भाइको हृदयमा एकअर्काप्रति अथाह श्रद्धा र प्रेम थियो । अन्ततः भरतले रामका चरणपादुका लिएर अयोध्या फर्किए ।

उनले ती पादुकालाई सिंहासनमा स्थापना गरेर आफूलाई राजा होइन, रामका प्रतिनिधिका रूपमा प्रस्तुत गरे । चौध वर्षसम्म उनले राज्य सञ्चालन गरे, तर कहिल्यै आफूलाई शासक मानेनन् । उनका लागि वास्तविक राजा राम नै थिए । कथा समाप्त भएपछि हजुरआमाले नातिलाई सोधिन्, ‘अब भन त, यस कथाबाट के सिक्यौँ ?’

शशि र रविले एक–अर्कातर्फ हेरे । उनीहरू आफ्ना गल्तीप्रति सचेत भएका थिए । दुवैले एक स्वरमा भने, ‘हामीले बुझ्यौँ कि दाजुभाइबिच प्रेम, सम्मान र विश्वास हुनुपर्छ । अबदेखि हामी झगडा गर्ने होइनौँ, बरु राम र भरतजस्तै एकअर्कालाई माया र आदर गर्नेछौँ ।’ हजुरआमा खुसी भइन् । उनले दुवैलाई अङ्गालो हाल्दै भनिन्, ‘सधैं सम्झनु, परिवारको एकता सबैभन्दा ठूलो शक्ति हो । जीवनमा सत्य, कर्तव्य र प्रेमको मार्गमा हिँड्दा मात्र साँचो सफलता प्राप्त हुन्छ ।’

राम–भरत मिलापको कथा भ्रातृत्व, त्याग, कर्तव्य र निःस्वार्थ प्रेमको अमर सन्देश हो । यसले परिवारभित्रको प्रेम र सम्मानलाई जीवनको आधारस्तम्भका रूपमा प्रस्तुत गर्छ । रामले कर्तव्य र धर्मको पालना गरेर आदर्श जीवनको उदाहरण दिए भने भरतले त्याग, समर्पण र निष्ठाको सर्वोच्च रूप देखाए ।

आजको समाजमा पनि यदि हामीले राम र भरतका आदर्शलाई आत्मसात् गर्न सक्यौं भने परिवारमा मात्र होइन, समाजमा पनि प्रेम, सद्भाव र एकताको वातावरण निर्माण हुनेछ । वास्तवमा, साँचो महानता अधिकार प्राप्त गर्नुमा होइन, सम्बन्धको सम्मान गर्दै आफ्नो कर्तव्य निष्ठापूर्वक निभाउनुमा निहित हुन्छ ।