राप्तीमा समुदायमा आधारित रोग निगरानी सम्बन्धी अभिमुखीकरण

मसुरिया, १७ असार । राप्ती गाउँपालिकाले जनप्रतिनिधि तथा सरोकारवालाहरूका लागि समुदायमा आधारित रोग निगरानी प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रम प्रदान गरेको छ।

गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा बुधबार गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा समुदायस्तरमा देखापर्ने सरुवा तथा नसर्ने रोगहरूको समयमै पहिचान, सूचना संकलन, प्रतिवेदन तथा प्रतिकार्य प्रक्रियाबारे जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा जनस्वास्थ्य निरीक्षक पोषणराज शर्माले रोग निगरानीका चरण, यसको महत्त्व, प्रतिकार्यको अवधारणा तथा नेपालमा सञ्चालनमा रहेको रोग निगरानी प्रणाली लगायतका विषयमा सहजीकरण गरेका थिए ।

उनले समुदायमा देखिने विभिन्न रोगका लक्षण पहिचान, शंकास्पद बिरामीको विवरण संकलन, स्वास्थ्य संस्थामा समयमै सूचना प्रवाह गर्ने प्रक्रिया तथा रोग नियन्त्रण र रोकथामका उपायबारे जानकारी गराए । उनले महामारी तथा प्रकोपजन्य रोगहरूको प्रारम्भिक सूचना व्यवस्थापनमा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि तथा स्थानीय समुदायको भूमिका महत्वपूर्ण रहने बताए। समयमै सूचना प्राप्त हुन सके रोग फैलिन नदिन, जोखिम न्यूनीकरण गर्न तथा आवश्यक प्रतिकार्यका कामलाई प्रभावकारी बनाउन सहज हुने उनको भनाइ थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष प्रकाश विष्टले समुदायमा आधारित रोग निगरानी प्रणाली स्वास्थ्य क्षेत्रको महत्वपूर्ण आधार भएको बताए । अध्यक्ष विष्टले पछिल्लो समय प्रविधिको विकाससँगै रोग निगरानी प्रणालीलाई थप प्रभावकारी बनाउन अनलाइन रिपोर्टिङ प्रणाली सञ्चालनमा ल्याइएको जानकारी दिएका थिए । उनले स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि तथा समुदायबीचको समन्वय बलियो भएमा रोग निगरानी प्रणाली अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गर्दै स्वास्थ्यसम्बन्धी कुनै पनि असामान्य घटना वा रोगका लक्षण देखिए तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरे।

स्वास्थ्य शाखा प्रमुख नारायण राउतका अनुसार समुदायस्तरमै रोगको प्रारम्भिक संकेत पहिचान गरी सम्बन्धित निकायमा तत्काल जानकारी गराउने क्षमताको विकास गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो।