टेकबहादुर पुन
दाङ,१७ असार । लायन्स क्लब अफ देउखुरी गोरक्षले सामाजिक उत्तरदायित्वअन्तर्गत विपन्न तथा असहाय व्यक्तिहरूलाई सहयोग गर्ने उद्देश्यले ७० जोड कपडा हस्तान्तरण गरेको छ ।
क्लबले आयोजना गरेको कार्यक्रममा ७० जोड कपडा महाकाल युवा संघ लमहीका नगर इन्चार्ज ध्रुव केसीलाई हस्तान्तरण गरिएको हो । उक्त कपडा दुखी, गरिब, असहाय, अशक्त, एकल व्यक्तिहरू तथा बाटोमा अलपत्र परेका बटुवाहरूलाई आवश्यकताका आधारमा वितरण गरिने जनाइएको छ ।
कार्यक्रममा क्लबका अध्यक्ष रबिन्द्र जिसीले समाजका विपन्न वर्गसम्म सहयोग पुग्ने उद्देश्यले कपडा हस्तान्तरण गरिएको बताए । उनले सामाजिक सेवामार्फत मानवीय भावना अभिवृद्धि गर्न यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने उल्लेख गरे । समाजका विभिन्न क्षेत्रका संघ(संस्था र व्यक्तिहरू एकजुट भएर सहयोगको भावना विकास गर्न सके धेरै असहाय नागरिकसम्म राहत पुग्ने उनको भनाइ थियो ।
महाकाल युवा संघका नगर इन्चार्ज ध्रुव केसीले क्लबप्रति धन्यवाद व्यक्त गर्दै प्राप्त कपडा वास्तविक आवश्यकता भएका व्यक्तिहरूको पहिचान गरी निष्पक्ष रूपमा वितरण गरिने बताए । उनले सहयोग सही व्यक्तिसम्म पुग्ने गरी युवा संघले जिम्मेवारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे । क्लबका अध्यक्ष रबिन्द्र जिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष विष्णु पौडेल, सचिव गोविन्द रेग्मी, निवर्तमान अध्यक्ष शेषदत्त चौधरी, समाजसेवी मधु न्यौपाने, समाजसेवी लिला खनाललगायत सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
उपस्थित वक्ताहरूले सामाजिक सेवामूलक अभियानलाई निरन्तर अघि बढाउन सबै संघ(संस्था र नागरिकको सहकार्य आवश्यक रहेको धारणा राखेका थिए । उनीहरूले कपडा जस्ता आधारभूत आवश्यकताबाट वञ्चित नागरिकसम्म सहयोग पुर्याउने अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे । लायन्स क्लब अफ देउखुरी गोरक्षले यसअघि पनि स्वास्थ्य, शिक्षा, विपद् राहत तथा विभिन्न मानवीय सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । क्लबले आगामी दिनमा पनि समुदायको आवश्यकता अनुसार यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।