डा कृष्णराज डिसी शिक्षामा मात्र होइन साहित्यमा समेत चम्किलो व्यक्तित्व हुन् । निरन्तर चार दशकसम्म शिक्षा क्षेत्रमा लागेका डिसी ६ दशकको उमेरसम्म पनि नथाकेका व्यक्ति हुन् । शिक्षाविद्को भूमिकामा समेत चिनिएका डिसीको प्रारम्भिक शिक्षा भने गाउँको स्कुलबाट सुरु भयो । सल्यान जिल्लाको प्रावि थारमारे लष्टम बनेचौरमा प्राथमिक शिक्षा अध्ययन पूरा गरेर उनले निम्न माध्यमिक शिक्षा भने जनकल्याण निमावि थारमारेबाट पूरा गर्दै मावि शिक्षा भानुुभक्त साधारण मावि दमाचौर सल्यानबाट पूरा गरे ।
उच्च शिक्षा महेन्द्र बहुमुखी क्याम्पसबाट स्नातक तहसम्म अध्ययन गर्दै त्रिविवि किर्तिपुरबाट नेपाली साहित्यमा स्नातकोत्तर उत्तीर्ण गरे । अध्ययन र अध्यापनलाई सँगसँगै लगेका उनले विद्यावारिधि पनि त्रिभुवन विश्वविद्यालय किर्तिपुरबाटै सकाए । राष्ट्रकवि माधव घिमिरेका फुटकर कविताहरुको समीक्षातमक अध्ययनमा २०६१ सालमा पूरा गर्दै उनले विद्यावारिधिको पद पाए । अहिले पनि उनी विद्यावारीधि गर्ने विद्यार्थीका निर्देशकका रुपमा काम गरिरहेका छन् । २०३९ सालदेखि प्राविबाटै अध्यापन पेसा थालेका डिसी, २०४४ सालदेखि ०४७ सालसम्म निमावि तहमा अध्यापन गर्दै २०६० मङ्सिर २४ देखि २०७९ मङ्सिर ६ गतेसम्म माध्यमिक तहमा द्वितीय श्रेणीमा घोराहीको पद्मोदय नमुना उच्च माविमा अध्यापन गर्दै २०७१ वैशाखदेखि २०७६ सम्म सोही विद्यालयकै प्राचार्यको जिम्मेवारीमा काम गरे ।
उमेर हदका कारण त्यहाँबाट निवृत्त भए, तर उनको शिक्षा क्षेत्रको लगाम भने रोकिएन । उनी घोराहीको गु्रुकुल एकेडमीको प्राचार्यको भूमिकामै २०७९ मङ्सिर ३० गतेदेखि २०८३ असार २ गतेसम्म सेवारत रहे । हाल उनी एसियन वल्ड स्कुुलको प्रबन्ध निर्देशकका रुपमा जिम्मेवारी सम्हाल्न थालेका छन् । उनै शैक्षिक अभियन्ता डा. कृष्णराज डिसीसँग दाङ जिल्लाको शैक्षिक अवस्थाका विषयमा गोरक्षकर्मी खेमराज रिजालले गरेका कुराकानीको सारसंक्षेप ।
स्वागत छ, तपाईलाई गोरक्ष शिक्षा वार्तामा ।
धन्यवाद, तपाई अनि तपाईको लोकप्रिय पत्रिका गोरक्ष राष्ट्रिय दैनिक पत्रिका परिवारलाई । मेरो शैक्षिक गन्तव्यका विषयमा सोधिखोजी गर्दै मलाई शिक्षा वार्तामा आमन्त्रण गर्नुभएकोमा ।
जिल्लाकै प्रतिष्ठित गुरुकुल एकेडमीमा प्राचार्यको जिम्मेवारीमा हुनुहुन्थ्यो, किन त्यो जिम्मेवारी छाडेर एसियन वल्र्ड स्कुलमा आउनु भो ?
जिन्दगी एउटा नटुङ्गिने यात्रा हो । यात्राका क्रममा कहिले काहीँ गन्तव्य फेर्न मन पनि लाग्दो रहेछ, कतै बाध्यताले, कतै थप उत्साहले त कतै जिम्मेवारीको पृथकताले आफूलाई समयानुकुल बगाउनु पर्दो रहेछ । खासमा मैले गुरुकुल छाड्नेको कारण मैले अझै सक्रिय भएर अर्को स्कुलमा फेरिएको जिम्मेवारी पनि निर्वाह गर्न सक्छु भन्ने उर्जाले पनि हो । साथै म अहिले जोडिएको मेरो स्वामित्व पनि छ । स्कुललाई आधुनिक शिक्षाको आकर्षक गन्तव्य बनाउन सक्ने वागडोर सम्हाल्ने म सँग योजनाहरू पनि छन् । साथीहरूको चाहनालाई पनि त मैले आत्मसात गर्नै प¥यो नि । मैले यो स्कुललाई केही नयाँ दिसामा डो¥याउन सक्छु भन्ने आत्मविश्वासले यो स्कुलमा भर्खरै जोडिन पुुगेँ ।
एसियन वल्र्ड स्कुलको परिचय गराउनुस् न ?
यो स्कुल खासमा मुनाफामाभन्दा पनि टिक्ने र बिक्ने शिक्षा दिनका लागि खुलेको हो । प्लस टु पढ्ने त अन्य थुप्रै स्कुल छन् तर मण्टेश्वरी विधिदेखि विद्यार्थीको रुचि र क्षमताअनुसार उसलाई भविष्यको गन्तव्यको मार्ग देखाउने यो स्कुल हो । सत प्रतिशत अङ्ग्रेजी माध्यमबाट पठन पाठन हुने यो स्कुल घोराहीकै पृथ्वी चोक नजिकै छ ।
मनोरम र शान्त वातावरणमा वातानुकुलित कक्षा कोठाको समेत व्यवस्थापन भएको यो स्कुलमा अहिले मण्टेश्वरीदेखि कक्षा बाह्रसम्म करिब पाँच सय विद्यार्थी अध्ययनरत छन् । शिक्षक शिक्षिका एवम् कर्मचारीहरू करिब एक सयको हाराहारीमा । लगानी त्यस्तै पच्चिस÷३० करोड रुपैयाँको होला । नयाँ नाममा र नयाँ व्यावस्थापनमा सुरु भएको यो स्कुलले बाह्र कक्षासम्म पढ्न विद्यार्थीलाई जिल्ला छाड्नु पर्दो रहेनछ भनेर प्रमाण्ति गर्ने छ भन्ने हामीलाई विश्वास पनि छ ।
बाह्र कक्षासम्म विभिन्न विषय पढाउने अन्य स्कुलहरू पनि त धेरै छन् नि ?
स्कुलहरू त छन् तर हामी कहाँ बिक्ने शिक्षान्दा पनि सर्टिफिकेट लिएर विदेश पलायन हुने शिक्षाको विकास भएको छ । अहिले हामीले बाह्र कक्षासम्म पढाइरहेका छौँ । अब अर्को वर्ष हामीले यही स्कुलमा प्राविधिक शिक्षाको पढाइ पनि सुरु गर्ने अन्तिम तयारी गरी सम्बन्धन लिने काम समेत प्रक्रियागत रूपमा अन्तिम चरणमा पुुगेको छ । मेकानिक्सको पढाइदेखि सूचना प्रविधिसम्म, फरेस्ट्रीदेखि होटल म्यानेजमेन्ट सम्मको प्राविधिक शिक्षा दिन हामी पाइपलायनमा छौँ ।
अहिले प्राविधिक सिपको अभावमा हामीले धेरै सन्तानहरूलाई विदेश पठाउन बाध्य भएका छौँ । मुलुकलाई दक्ष प्राविधिक जनशक्तिको अत्यन्तै खाँचो छ । त्यसैले युवाहरूको विदेश पलायनलाई रोक्न पनि हामीले समयानुकुल शिक्षाको अभ्यास थाल्दै जाने छौँ । हामीसँग फरक शैक्षिक अनुुभव छन्, फरक सोंच छन्, फरक मान्यता छन् । त्यसैले पनि हामी आशावादी छौँ कि हामीले दाङ जिल्लालाई शैक्षिक गन्तव्य बनाउने छौँ । दक्ष शिक्षक, दक्ष जनशक्ति, सुविधा सम्पन्न भौतिक व्यावस्थापनलगायत शान्त शैक्षिक वातावरणमा पठनपाठन गराउनसके विद्यार्थी बाह्र पढ्न बाहिर जानुु नै पर्ने छैन भन्नेमा हामी विश्वस्त छौँ । अनि हामीलाई थप शैक्षिक वातावरण बनाउन प्रशस्त जग्गा पनि उपलब्ध हुने अवस्था छ । यी सबै पूर्वाधारका सम्भावनालाई क्याच गर्दै र क्यास गर्दै हामी फेरि पनि शिक्षा क्षेत्रमै जोडिन पुुगेका छौँ ।
तपाईहरूले शिक्षा क्षेत्रमा लगानी बढाउँदै जाँदा सरकार भने निजी विद्यालयप्रति अनुुदार देखिन्छ नि ?
यो एकदमै गलत बुुझाइ हो । अहिले सरकारी कर्मचारी र सामुुदायिक विद्यालयका शिक्षकहरूले छोराछोरीलाई पनि सरकारी विद्यालयमै पढाउनु पर्छ भन्ने गलत भास्य सिर्जना गरिँदै छ नि त्यो राम्रो पक्ष होइन । हामीले हे¥र्यौ भने अहिले पनि उच्च अहोदाका कर्मचारीका छोराछोरीको रोजाइ भनेकै संस्थागत विद्यालयहरू नै हुुन् । अर्को कुरा विद्यार्थीको कहाँ पढ्ने ? कहाँ नपढ्ने भन्ने त संविधान प्रदत्त राइट टु च्वाइसको अधिकार पनि छ नि । हो, सामुदायिक विद्यालय सबैमा पढाइ राम्रो छैन भन्ने चाही होइन ।
मुलुकका विभिन्न सहरका केही विद्यालय निजी विद्यालयको भन्दा राम्रो शैक्षिक गुणस्तर भएका पनि छन् । दाङ जिल्लामै पनि यस्ता नमुना केही विद्यालय नभएका होइनन् । तर, सबै सामुदायिक विद्यालयहरूको शिक्षा गुणस्तरीय र चित्त बुुझाउने खालको भने छैन । त्यसैले राज्यले पनि सामुदायिक विद्यालयलाई सुधार्र्दै जाने र संस्थागत विद्यालयहरूलाई प्रोत्साहन गर्दै लग्न सकेमा मात्र शिक्षा क्षेत्रमा अपेक्षित सुधार हुन सक्छ जस्तो लाग्छ मलाई । संस्थागत विद्यालयलाई बन्द गराउँदैमा सरकारी विद्यालयको शैक्षिक गुणस्तर माथि उठ्ने त होइन नि ।
अन्तमा आम अभिभावकहरूलाई केही थप भन्न चाहनुुहुन्छ ?
मैले अघि नै भनिहाले नि, संविधानले नै सबैलाई राइट टु च्वाइसको अधिकार दिएको छ । त्यसैले अभिभावकहरूले पनि आफ्ना बच्चाहरूलाई कहाँ पढाउँदा गुणस्तरीय शिक्षा पाउन सक्छन् भन्नेमा एक पटक सोँच्न पनि आग्रह गर्दछु । एक पटक एसियन वल्र्डलाई पनि नजिकबाट नियाल्न र बुुझ्न पनि सक्नु हुन्छ । आजका विद्यार्थी भोलिका कर्णधारहरू हुन् । त्यसैले विद्यार्थीलाई सही शिक्षा दिन सकेमा मात्र मुलुक समृद्ध बन्न सक्छ । त्यसमा आम अभिभावकज्युहरू गम्भीर भएर सोँच्नु हुने छ भन्नेमा हामी पूर्ण विश्वस्त पनि छौँ ।