पत्रकारिता र साहित्यले दिएको पहिचान …

जीवनमा मानिसले अनेक सपना देख्छ । ती सपनामध्ये केही पूरा हुन्छन्, केही अधुरै रहन्छन् । तर, निरन्तर इमानदारीपूर्वक आफ्नो कर्ममा लागिरहँदा कहिले काहीँ यस्ता क्षण आउँछन्, जसले वर्षौँको मेहनत, सङ्घर्ष र समर्पणलाई एउटा अर्थ दिन्छ ।

जीवनमा पनि यस्तै एउटा अविस्मरणीय क्षण आयो, जब नेपाल सरकारले मलाई २०७८ सालमा जनसेवा पदक प्रदान गर्ने निर्णय गरेको खबर सुनायो । त्यो दिन मैले केवल एउटा पदक मात्र पाएको थिएन, पत्रकारिता, साहित्य र समाजसेवामा बिताएका दुई दशकभन्दा लामो यात्राको सम्मान प्राप्त गरेको अनुभूति भएको थियो भन्छन्, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन ।

‘सम्मान भन्ने कुरा खोजेर पाइँदैन । आफ्नो कर्ममा निरन्तर लागिरहँदा समाजले दिने विश्वास र राज्यले गर्ने मूल्याङ्कन नै सबैभन्दा ठुलो पुरस्कार हो भन्ने मेरो विश्वास छ’,प्रियासन भन्छन्,‘जनसेवा पदकको घोषणा भएको दिन मेरो मनमा खुसीसँगै जिम्मेवारीको अनुभूति पनि उत्तिकै बढेको थियो, त्यो क्षण आज पनि सम्झँदा मन गर्वले भरिन्छ । त्यो खुसीको क्षण थियो ।’

२०३६ साल वैशाख १ गते दाङको घोराही उपमहानगरपालिका–१४, मिलनचोकमा बुबा जीतबहादुर चौधरी र आमा कृष्णा श्रेष्ठको कोखबाट जन्मिएका प्रियासन सानै उमेरदेखि पढाइसँगै समाजका गतिविधिप्रति चासो राख्थेँ, सिक्नका लागि ध्यान दिन्थे र मेहनत गर्दथे । घोराही उपमहानगरपालिका–१६ तेरौटेस्थित श्री सिर्जनशील आधारभूत विद्यालयबाट औपचारिक शिक्षा सुरु गरेका प्रियासनले सबइन्जिनियरसम्म अध्ययन गरे तर वास्तविक परिचय इन्जिनियरिङभन्दा फरक पत्रकारिता र साहित्यतर्फ बनायो । आफूले अध्ययन गरेको सबइन्जिनियरसम्बन्धी कामलाई छोडेर २०६१ सालदेखि पत्रकारिता पेसामा सक्रिय बने ।

पत्रकारितालाई केवल पेसाका रूपमा मात्र नभएर समाजप्रतिको उत्तरदायित्वका रूपमा लिएँ । सत्य र तथ्यलाई जनतासामु पु¥याउने दायित्वसँगै समाजका समस्या उजागर गर्ने, विकासका सम्भावना खोज्ने र सकारात्मक बहस सिर्जना गर्ने प्रयासलाई निरन्तरता दिने गरि दाङबाट प्रकाशित गणतन्त्र राष्ट्रिय दैनिकको प्रकाशक तथा सम्पादकका रूपमा काम गर्दै आएका छन् । पत्रकारिताले मलाई समाजलाई नजिकबाट चिन्ने अवसरसँगै साहित्य लेखनमा समेत प्रेरित गरेको बताउँछन् ।

साहित्यलाई मनोरञ्जनको माध्यम मात्र नभई समाज परिवर्तनको अभियानका रूपमा लिने गरेका प्रियासनले उपन्यास, कथा, गीत र लेखमार्फत् सामाजिक यथार्थ, विकास, सुशासन, नैतिकता, प्रेम, सङ्घर्ष र मानवीय संवेदनालाई पाठकमाझ पु¥याउने प्रयास गर्दै आएका छन् । प्रियासनका ‘रोदनपछि’, ‘भूमरी’, ‘पुनरागमन’, ‘पल्लवी’, ‘सहनशीला’, ‘लक्की चार्म’, ‘सेल्फी’, ‘एयरहोस्टेज’, ‘लकडाउन लभ’ लगायत १३ वटा उपन्यास, सपनाभित्रको सपना कथा सङ्ग्रह, सम्पादकीय लेख सङ्ग्रहसहित १६ वटा कृति प्रकाशित भएका छन् । आफ्ना कृतिहरू पाठकको हातमा पुग्दा प्रत्येक पटक नयाँ खुसी मिल्ने गरेको भन्दै प्रियासन बताउँछन् ।

पत्रकारितासँगै चलचित्र क्षेत्रमा पनि कार्यकारी निर्माताका रूपमा काम गर्ने अवसर पाएँ । दाङमा निर्माण भएको ‘परशुराम’ को कायकारी निर्माता हुन भने सात वटा गीत रेकर्ड भएका छन् । उन्यास, कथा, लेखसँगै गीतले समाजमा नयाँ पुराना पुस्तासँग घुलमिल बनाउन सहयोग गरेको बताउँछन् । यी सबै उपलब्धिभन्दा माथि राज्यबाट प्राप्त जनसेवा पदकको सम्मान विशेष लाग्ने गरेको बताउँछन्, किनकि त्यो कुनै एउटा पुस्तक, एउटा समाचार वा एउटा कार्यक्रमको मूल्याङ्कन थिएन, त्यो त लामो समयदेखि समाजका लागि निरन्तर गरिरहेको योगदानको समग्र सम्मान थियो ।

प्रियासन भन्छन्,‘यदि पत्रकारिता र साहित्यमा नलागेको भए सायद यो सम्मान प्राप्त हुने थिएन । आज समाजले चिन्ने सबिन प्रियासन भन्ने पहिचान मेरो व्यक्तिगत होइन, पत्रकारिता, साहित्य र सामाजिक सेवाले निर्माण गरेको पहिचान हो । त्यसैले जनसेवा पदक मेरो मात्र उपलब्धि होइन, मसँगै हिँडेका सहकर्मी, पाठक, शुभेच्छुक र मेरो परिवारको पनि साझा सम्मान हो ।’

नेपाल पत्रकार महासंघ, राप्ती साहित्य परिषद् तथा त्रिभुवननगर जेसीजलगायत विभिन्न संस्थाबाट सम्मानित हुँदाको क्षण पनि खुसी भएको भन्दै प्रियासन भन्छन् अर्काे बिर्सन नसकिने सम्मान भनेको ‘वर्ष उत्कृष्ट युवा सम्मान’ त्रिभुवननगर जेसीजद्वारा प्रदान गरिएको ‘वर्ष उत्कृष्ट युवा पुरस्कार’ ले युवा पुस्ताले गरेका कामको कदर भएको अनुभूति गराएको थियो। पत्रकारिता र सामाजिक क्षेत्रमा गरेको योगदानको मूल्याङ्कन भएर प्राप्त भएको त्यो सम्मान पनि जीवनका अविस्मरणीय क्षणमध्ये एक क्षण भएको उनी बताउँछन् ।

सामाजिक अभियानमा सक्रिय रहँदा दाङको विकासका विभिन्न मुद्दामा काम गर्ने अवसर पाएँका छन् । घोराही–तुलसीपुर सडकमा पुल निर्माणका लागि आवाज उठाउनेदेखि लुम्बिनी प्रदेशको राजधानी दाङ ल्याउने अभियान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाको पहल तथा ‘घोराही बनाऔँ अभियान’ मार्फत् नागरिक सहभागितालाई बढाउने प्रयास पनि जीवनका महत्वपूर्ण क्षण भएको बताउँछन् । विकास केवल सरकारको दायित्व होइन, नागरिकको पनि साझा जिम्मेवारी हो भन्ने विश्वासका साथ आजपनि घोराही बनाउन अभियानका माध्यमबाट घोराहीको विकाससँगै लुम्बिनी प्रदेशकै नमुना सहरका रूपमा विकास गर्न सक्रिय छन् ।

झापा निवासी सुशीला शिवाकोटीसँग वैवाहिक जीवनमा बाँधिएका प्रियासन दम्पत्तिका एक छोरा सुप्रिम रहेका छन् । जीवनमा सम्मानभन्दा ठूलो कुरा जिम्मेवारी भएको बताउँदै । एउटा पदकले मानिसलाई ठूलो बनाउँदैन, बरु अझ विनम्र र उत्तरदायी बन्न प्रेरित गर्ने बताउँछन् । जनसेवा पदक प्राप्त गरेपछि समाजप्रति थप उत्तरदायी बढाउन भूमिका खलेको भन्दै पत्रकारिता, साहित्य र सामाजिक सेवामार्फत् सकारात्मक परिवर्तनका लागि निरन्तर लागिरहेको बताउँछन् । प्रेस चौतारी नेपालको जिल्ला अध्यक्ष हुँदै दुई कार्यकाल केन्द्रीय उपाध्यक्षको भूमिका निर्वाह निर्वाह गरिसकेका प्रियासन पत्रकारको साँझा सस्था नेपाल पत्रकार महासंघ दाङ शाखाको अध्यक्ष हुँदै अहिले केन्द्रीय सचिव एवं घोराही बनाऔ अभियानका संयोजकको जिम्मेवारीमा रहेका छन् ।