नैतिक शिक्षाको अभाव भ्रष्टाचार मौलाउँदै गएको छ

नारायणप्रसाद श्रेष्ठ

व्यवहारमा सरलता, वचनमा कोमलता, दृष्टिमा भरोसा, कर्ममा निस्वार्थ र विश्वास, यी मानवीय चरित्रमा नभई नहुने गुण हुन् । जबसम्म मानव आचरणमा उल्लिखित गुण र व्यवहार हुँदैन तबसम्म सम्वृद्धि राष्ट्रको परिकल्पना अधुरो रहन्छ । त्यति मात्र होइन मानिसको जीवन पनि सधै अधुरो गतिभित्र सीमित रहिरहन्छ । मानिस अनुहारले होइन गुण र दोषबाट पहिचान भएका हुन्छन ।

पूर्वाधरदेखि उत्तरार्ध सम्मको इतिहासलाई हेर्ने हो भने जीवनको सफलता असफलता तथा व्यक्ति, समाज र राष्ट्रको समुन्नती यिनै गुणले परिस्कृत हुँदै आएको पाइन्छ । नैतिकतामा आधारित ज्ञान, सिप र भरोसायुक्त क्षमताबाट नै सम्वृद्धिको आधार तयार भएको देखिन्छ । तसर्थ नीति र नैतिकतामा आधारित जीवनशैली अपनाउन सबैले आफूले आफैलाई म स्वयम् नैतिक धरातलमा कति खरो भएर उत्रिएको छु त्यसको मूल्याङ्कन गर्न जान्नु पर्दछ । राष्ट्रले पनि बालमनोविज्ञानमा असर गर्ने गरी नैतिक शिक्षामा कति उदारता देखाउन सकेको त्यस्को गम्भीर चिन्तन गर्नुपर्दछ ।

एउटा घरको जग जति मजबुत हुन्छ त्यति नै त्यो घरको अवस्था बलियो रहन्छ । मनोविज्ञानलाई आधार मान्ने हो भने एउटा वयस्क व्यक्ति तब मात्र सफल हुन्छ । जब उसको बाल्यकाल नैतिक शिक्षामा आधारित ज्ञान सिप र अनुशासनले युक्त हुन्छ । नैतिक शिक्षामा आधारित आचरण र व्यवहारबाट परिपोषित हुँदै हुर्केको हुन्छ । त्यसैले कुनै पनि क्षेत्र चाहे त्यो सामाजिक, आर्थिक, सांस्कृतिक, राजनीतिक किन नहोस्, त्यसको सफलता र असफलता उसले प्राप्त गरेको नैतिक ज्ञान सिप र क्षमताले देखाउने चरित्रबाट प्रमाणित भएको हुन्छ । उसले बालापनमा प्राप्त गरेको ज्ञान, सिप र संस्कारले आर्जन गरेको नैतिकज्ञानले निर्माण गरेको हुन्छ । उसले प्रारम्भिक जगबाट प्राप्त गरेको ज्ञानबाट हुन्छ ।

तसर्थ यस कुरालाई गम्भीर भएर मनन गर्नु बुद्धिमानी ठहर छ । कुनै पनि राष्ट्र तब मात्र सक्षम हुन्छ । जब उसको प्रारम्भिक शिक्षा नैतिकतामा आधारित भई ज्ञान सिप र क्षमतामा परिस्कृत हुँदै आएको हुन्छ । बाल मस्तिष्कदेखि नै नैतिकतामा आधारित शिक्षा नीतिले परिपोषित हुन्छ । किनकि राष्ट्र तब सफल भएको मानिन्छ जब उसभित्र राज्य सञ्चालन गर्ने व्यक्ति योग्य कुशल र क्षमतावान प्रतिभाशाली नैतिक धरातलमा उभिन सक्ने व्यक्तिको उपस्थिति रहन्छ । त्यसैले राज्यले नीति अवलम्बन गर्दा सर्वप्रथम नैतिक धरातलमा रहेको शिक्षा र अनुशासनलाई पूर्ण रुपले जवाफदेहीपूर्ण दृष्टिले हेर्न सक्नुपर्दछ । मानिस राम्रो, अनुहार र चाकडीमा होइन योग्य र क्षमतावान हुनुपर्छ ।

मानिस राम्रो दिलले हुन्छ, जातले हुँदैन देवकोटाले त्यसै भनेका होइनन । नेपाल अहिले यही नैतिकताको अभावले सकसमा परेको अवस्था छ । नैतिक धरातल कमजोर भई परिस्कृत हुँदै आएको भ्रष्टाचार प्रवृत्तिले देशको अवस्था दिन प्रतिदिन कमजोर हुँदै गरेको विभिन्न तथ्याङ्कले देखाइरहेको छ । यसको मुल कारण हाम्रो शिक्षा नीतिमा देखिएको गलत प्रवृत्ति र स्वार्थपरक चिन्तन हो । अझ पनि हामीले हाम्रो शिक्षा नीतिमा नैतिक शिक्षा र संस्कारलाई जोड्न सकेनौँ र आफ्नो भुगोल र परिवेश अनुकुल शिक्षा नीति लागू गर्न सकेनौँ भने हामीले जतिसुकै मिठा कुरा गरे पनि त्यो मित्थ्या हुनेछ ।

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउँदा हामीले विविध कार्यक्रम गरी धुमधामसँग अहिले पनि सम्पन्न गरिरहेका हुन्छौँ । भ्रष्टाचार गर्नु राष्ट्रको लागि घातक हो । कोही कसैले पनि भ्रष्टाचार जन्य अपराध गराउनु र गर्नु हुँदैन भनी संवेदनशील भएर मीठा मिठा आश्वासन पनि बाटिरहेका हुन्छौँ । सञ्चार माध्यमबाट भ्रष्टाचार मुक्त समाजको परिकल्पना गर्न सबैलाई उत्साहित गर्दै प्रचारप्रसार पनि गरिरहेका छौँ । भ्रष्टाचार गर्ने गराउनेलाई अपराधी मानी हदैसम्मको कारबाही हुनुपर्छ भन्ने कुरामा पनि समर्थन जनाइरहेका छौँ । जनचेतनामूलक कार्यक्रम पनि गरिरहेका छौँ । सामाजिक सद्भाव कायम गरी भ्रष्टाचार मुक्त देश समाज बनाउने प्रण पनि गरिरहेका हुन्छौँ ।

भ्रष्टाचारीले राष्ट्र र राष्ट्रियतामाथि आघात पु¥याइरहेका कुराहरु पनि भन्न बिर्सेका छैनौँ तर विडम्बना मान्नुपर्छ भ्रष्टाचारलाई निर्मूल गर्ने कुरामा जब राज्य संयन्त्रले तदारुक्ता देखाउँछ । तब–तब यसको तिरस्कार गर्ने वातावरण पनि तयार गरिरहेका छौँ । भ्रस्टलाई उत्साहित गर्ने कार्य गर्दै आएका छौँ । वास्तवमा यस्तो काम गर्नु अपराध हो । दण्डनीय हो । यस्तो गैर जिम्मेवारी नैतिक पतन हुने कार्य गर्नु गराउनु र उत्साहित गर्नु यो कसैको लागि पनि राम्रो विषय होइन । वास्तवमा यसको मुल कारण हाम्रो शिक्षा नीति नै मान्नु पर्छ । विगत केही समयको इतिहास हेर्ने हो भने हाम्रो शैक्षिक प्रणाली नै नीति हिन दिशामा अग्रसर भएको देखिन्छ ।

राजनैतिक छायाले पढ्ने पढाउने वातावरण कमजोर भएको पाइन्छ । पढ्ने अवसर पाएकाले पनि नैतिक शिक्षा पाएको देखिँदैन । सरकार र अभिभावक दुवैको ध्यान नपुगेको देखिन्छ । भ्रस्टचरित्र हाबी हुनुमा र भ्रष्टाचार बढ्नुमा यही कारण हो जस्तो लाग्छ । तसर्थ देशलाई भ्रष्टाचार मुक्त गरी राष्ट्रलाई समृद्धि उन्मुख गराउनु छ भने भ्रष्टाचार जन्य अपराधीलाई हदैसम्मको कारबाही गरी गराई सबैले होस्टेमा हैसे गरी सामाजिक सद्भाव कायम गरी अगाडि बढ्नु पर्ने देखिन्छ । तसर्थ यसको लागि तल्लो निकायदेखि नीति निर्माण तहसम्मको निकायले गम्भीर रुपले चिन्तन गरी आफूमा हुनु पर्ने नैतिक आचरण प्रदर्शन गर्नुपर्ने देखिन्छ । हुन त यस्तो कार्य आफैमा चुनौती नभएको होइन । तथापि राष्ट्रलाई समृद्धि उन्मुख गराउन भइरहेको संयन्त्रलाई कडाईका साथ पालन गर्नु सिवाय अर्को विकल्प पनि छैन ।

काग कराउँछ पिना सुक्छ भनेझैँ भ्रष्टाचार गर्न हुँदैन पनि भन्दै हिँड्ने तर व्यवहार र कर्ममा यसलाई प्रशय दिँदै जाने हो भने यसले कस्तो सार्थकता ल्याउला ? भ्रष्टाचार के हो ? र किन गर्नु हुँदैन ? भन्नेतर्फ थोरै मात्र ध्यान दिने हो भने अहिलेसम्म हामीले प्राप्त गरेको शिक्षा नीतिमा देखिएको कमजोरीलाई देखाउन सक्ने आधार तयार भएको छ । हामी कस्तो परिवेशमा हुर्केको समाज र नैतिक शिक्षामा आधारित जीवनचरित्रभित्र हुर्केका छौँ ? हेर्न बुझ्न सक्नुपर्दछ । कतै हाम्रो परिवेश र हाम्रो आचरण र यसको दोषी त छैन ? सामाजिक वातावरणमा हुर्केको देखासिकी र विलासिताले लेपन लागेको हाम्रो मन मस्तिष्कमा अडेको हाम्रो संस्कार पनि कतै दोषी त छैन ?

वर्तमान परिवेशलाई हेर्ने हो भने मानिसमा बढ्दै गएको विलासी को सहभागी हामी सबै भएका त छैनौँ भन्ने आधार कमजोर छ । यसरी चुनौतीको रुपले देखा परेको हाम्रो आचरण र व्यवहारलाई सच्याउन जरुरी छ । नैतिक शिक्षामा आधारित शिक्षा नीतिलाई अवलम्बन गर्दै यसको पछाडि आउने कारणलाई खुलस्त बनाई धर्म र संस्कृति, पाप र पुण्य र संस्कारलाई गाँसेर हेर्न सबै जिम्मेवार हुनु पर्ने भएको छ । भ्रष्टाचार गर्नु भनेको पतित हुनु हो । नैतिकहीन हुनु हो । नैतिकहीन आचरण चाहे त्यो रुपैयाँ पैसामा होस् वा वस्तुको लेनदेनमा स्वार्थपरक चिन्तनमा या छाडा संस्कृति र संस्कारमा होस् यी सबै भ्रष्टाचार को परिभाषातिर परिभाषित हुने हुँदा यसतर्फ सबैको गम्भीर ध्यान जान जरुरी छ ।

सरकारले अहिले भ्रष्टाचार विरुद्धकोको अभियान चलाउन तथा अपराधीलाई कानुनी दायरामा ल्याई कारबाही गर्न लागि परेको छ । यसबारे विभिन्न संयन्त्र पनि बनाएको देखिन्छ तर प्रश्न उठछ के ती भ्रष्टाचार मुक्त हुन सकेका छन् ? नीति निर्माण तह कति जिम्मेवार छ ? अख्तियार दुरुपयोग गर्नेलाई कानुनी दायरामा ल्याई कारबाही गर्ने निकाय जसले भ्रष्टाचार जस्तो जधन्य अपराध कार्य गर्ने गराउनेलाई कारबाही गर्न सक्छ ? त्यो स्वयम् कति निस्वार्थ छ ? यहा रक्षक नै भक्षक भएको इतिहास लेखिएकै छ । अल्पविकसित राष्ट्र नेपालको लागि यो भन्दा बढी दुर्भाग्य के हुन सक्छ । प्रथम यस्तालाई कानुनी दायरामा ल्याई कारबाही गर्ने क्षमता राख्न सक्नुपर्दछ ।
क्षमतावान र प्रतिभाशाली व्यक्तिको छनोट गरी भ्रष्टाचार मुक्त समाजको आधार तयार गर्न अब सबै जुट्नै पर्ने भएको छ । बच्चैदेखि नैतिक शिक्षामा आधारित शिक्षा नीति र संस्कारको अवलम्बन गर्दै आचरण र व्यवहारमा शुद्धता ल्याउनु अहिलेको लागि निकै जरुरी देखिन्छ । लोभले लाभ, लाभले बिलाप भने झै अति गरे खती हुन्छ । यो सबैले बुझ्न जरुरी छ । तसर्थ नीति र नैतिकता, मानिसको विचार र कर्मलाई शुध्द्ब र परिस्कृत गर्ने एक मात्र अचुक संस्कार र कर्म भएकोले यसको गम्भीर भएर चिन्तन गर्न जरुरी छ चेतना भया ।