दाङमा २७ प्रतिशत धान रोपाइँ

दाङ,१६ असार ।  दाङमा यस वर्ष असार १५ गतेसम्म २७ प्रतिशत क्षेत्रफलमा धान रोपाइ भएको छ । दाङमा यो बर्ष धान खेती हुने अनुमान गरिएको ३६ हजार दुई सय हेक्टर जमिनमध्ये हालसम्म करिब २७ देखि ३० प्रतिशतसम्म जमिनमा रोपाइँ भएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ ।
जिल्लामा सिँचाइ सुविधा भएको जमिनमा करिब २७ देखि ३० प्रतिशतसम्म धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र दाङका प्रमुख नवराज भण्डारीले जानकारी दिएका छन् । प्रमुख भण्डारीका अनुसार पर्याप्त वर्षा नभए पनि देउखुरी क्षेत्रमा राप्ती नदीको सिँचाइ पुगेको ठाउँमा करिब ८० प्रतिशत रोपाइँ भइसकेको छ । दाङ उपत्यकामा भने रोपाइँ हुन सकेको छैन ।
दाङ उपत्यकामा डिपबोरिङको सिँचाइ सुविधा हुने केही ठाउँमा किसानले धान रोपे पनि आकाशे पानीमा निर्भर अधिकांश खेतमा अझै रोपाइँ हुन सकेको छैन । पानी परेपछि मात्रै खोलामा पानी आउने र त्यसैबाट सिँचाइ हुने भएकाले धेरैजसो खेत बाँझै रहेको छ ।
देउखुरीको तुलनामा दाङ उपत्येकामा केही ढिला धान रोपाइँ हुने भएकाले अझै किसान आत्तिनु पर्ने अवस्था नरहेको प्रमुख भण्डारी बताउँछन् । ‘धान रोपाइँका लागि किसानले बयाड राखे पनि आत्तिनु पर्ने गरी ढिलाइ भएको अवस्था छैन’, कार्यालय प्रमुख भण्डारीले भने, ‘पानी परेमा धान खेतीका लागि प्रशस्त समय छ ।’ किसान धान रोप्नका लागि ब्याड राखेर तयारी अवस्थामा रहेको र असारको अन्तिमसम्म पानी नपरेमा मात्रै समस्या हुन सक्ने प्रमुख भण्डारीको भनाइ छ ।
कार्यालय प्रमुख भण्डारीले यो वर्ष कम वर्षाद् हुने पूर्वानुमान गरिएकाले किसानलाई खेती गर्दा ध्यान दिनसमेत अनुरोध गरेका छन् । कृषि ज्ञान केन्द्र दाङका अनुसार देउखुरी क्षेत्रमा राप्ती गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा धान रोपाइँ अन्तिम चरणमा पुगेको छ ।
जिल्लाको ६५ हजार नौ सय ८० हेक्टर खेतीयोग्य जमिनमध्ये यस वर्ष ३६ हजार दुई सय हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । पछिल्ला वर्षमा खेतीयोग्य जमिनमा प्लटिङ विस्तार हुनुका साथै व्यावसायिक तरकारी खेती बढ्दै जाँदा धान खेती हुने क्षेत्रफल क्रमशः घट्दै गएको केन्द्रको भनाइ छ ।