प्रमोद आचार्य
दंगीशरण, १६ असार । दंगीशरण गाउँपालिकाले २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाएको छ । गाउँपालिकाले वडा नम्बर २ को बङ्गलापुरस्थित किसानको खेतमा पुगेर सामूहिक धान रोपाइँ गर्नुका साथै उत्कृष्ट किसानलाई नगद, दोसल्ला तथा सम्मानपत्रले सम्मान गरेको हो ।
गाउँपालिकाले हरेक वर्ष धान दिवस मनाउँदै आएको र किसानलाई कृषि पेसाप्रति आकर्षित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कृषि शाखा प्रमुख सरु भुसालले जानकारी दिइन् । उनका अनुसार यस वर्षदेखि धान दिवसको अवसरमा उत्कृष्ट किसानलाई सम्मान तथा पुरस्कृत गर्ने कार्यक्रमको सुरुवात गरिएको हो । उत्कृष्ट किसान छनोटका लागि गाउँपालिकाले आवेदन आह्वान गरेको थियो ।
प्राप्त आवेदनकाका आधारमा स्थलगत अनुगमन गरी तोकिएको मापदण्ड पूरा गरेका किसान तथा कृषि फर्मलाई छनोट गरी सम्मान गरिएको कृषि शाखाले जनाएको छ । कार्यक्रममा सन्तोषी चौधरी, रविन्द्र चौधरी, कल्पना कवर, दीपकराज खत्री, परागु चौधरी, सुशील देवकोटा, मैराज चौधरी, रुद्रसिंह रावत र धर्मराज खड्कालाई नगद, दोसल्ला तथा सम्मानपत्रसहित सम्मान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले भारतबाट आयात हुने धानको बिउमा निर्भर नहुन आग्रह गरे । स्थानीय स्तरमै उत्पादन भएका उन्नत जातका बिउ प्रयोग गर्न किसानलाई अनुरोध गरे । उनले रासायनिक मलको प्रयोग क्रमशः घटाउँदै जैविक तथा कम्पोस्ट मलको उत्पादन र प्रयोग बढाउन गाउँपालिकाले आवश्यक बजेट विनियोजन गर्ने योजना रहेको बताए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपाली, वडा नं. ३ का अध्यक्ष शुकलाल चौधरी, वडा नं. ५ का अध्यक्ष निरज बस्नेत, वडा नं. २ का अध्यक्ष डम्बर खत्रीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । गाउँ सुधार समूहका अध्यक्ष देवीराम चौधरीको अध्यक्षतामा तथा गाउँपालिका अध्यक्ष गिरीको प्रमुख आतिथ्यता एवम् गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काको विशिष्ट अतिथ्यतामा कार्यक्रम भएको थियो ।