लुम्बिनी प्रदेशमा २०.८ प्रतिशत रोपाई

अमरराज आचार्य
दाङ, १६ असार । धान उत्पादनका लागि ऊर्वर भूमि रहेको लुम्बिनी प्रदेशमा मध्य असारसम्म २० प्रतिशत मात्र रोपाइँ भएको छ । आकाशे पानीको भरमा रोपाइँ गर्ने तराईका जिल्लामा धानको ब्याड छिप्पिँदै जाँदा किसानले समयमै रोपाइँ गर्न पाएका छैनन् । सिँचाइ अभाव र समयमा वर्ष नहुनाले किसानले हुर्किएको धानको ब्याड रोप्न पाएका छैनन् ।

लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयको तथ्याङ्क अनुसार हालसम्म प्रदेशभर २० दशमलव आठ प्रतिशत खेतीयोग्य जमिनमा धान रोपाइँ भएको छ । प्रदेशमा तीन लाख एक हजार तीन सय ७२ हेक्टर क्षेत्रफलमा खेती हुने गरेको छ । हालसम्म ६२ हजार छ सय ७० दशमलव ८७ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ ।

आकाशे पानीको भरमा खेती गर्नु पर्ने किसानको बाध्यता र समयमा वर्षा हुन नसक्नाले खेती हुन नसकेको हो । समयमा पानी नपर्दा केही स्थानमा किसानले हालसम्म धानको व्याडसमेत राख्न सकेका छैनन् । समयमै रोपाइँ नभए उत्पादन घट्छ कि भन्ने चिन्तामा किसान छन् । त्यसैमाथि धान खेतीका लागि किसानले सहज रूपमा मलसमेत पाउन नसकेको गुनासो गर्दै आएका छन् ।

लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा कम रोपाइँ बाँकेमा भएको छ । ३३ हजार सात सय ८० हेक्टरमा धानखेती हुने गरेकोमा हालसम्म एक सय ६८ दशमलव नौ हेक्टरमा मात्र धान रोपाइँ भएको छ । जुन क्षेत्रफलको शून्य दशमलव पाँच प्रतिशत मात्र हो । लुम्बिनीमा सबैभन्दा धेरै नवलपरासी पश्चिममा रोपाइँ भएको छ । निर्देशनालयका कृषि प्रसार अधिकृत नविन गैरेका अनुसार नवलपरासी पश्चिममा ५० प्रतिशत खेतीयोग्य जमिनमा धान रोपाइँ सकिएको छ ।

नवलपरासीमा २० हजार आठ सय ८७ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । हाल सम्म १० हजार चार सय ४३ दशमलव पाँच हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । यसैगरी ६३ हजार पाँच सय ५० हेक्टर क्षेत्रफलमा धान खेती हुने रूपन्देहीमा २७ हजार तीन सय २६ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । रुपन्देहीमा ४३ प्रतिशत जमिनमा रोपाइँ भएको छ । यसैगरी तराईकै जिल्लामध्ये ३६ हजार दुई सय हेक्टर क्षेत्रफलमा धान खेती हुने दाङमा २७ प्रतिशत मात्र धान रोपाइँ भएको छ ।

यसैगरी ६६ हजार दुई सय २५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने कपिलवस्तुमा हालसम्म एक दशमलव ५८ प्रतिशत धान रोपाइँ सकिएको छ । एक हजार ५० हेक्टर क्षेत्रफलमा मात्र धान रोपिएको छ । बाँकी जमिनमा सिँचाइको अभावले रोपाइँ हुन नसकेको किसानले बताएका छन् । ५० हजार एक सय ५० हेक्टर खेतीयोग्य जमिन जमिन रहेको बर्दियामा १९ दशमलव ३१ प्रतिशत जमिनमा मात्र धान रोपाइँ भएको छ । हालसम्म नौ हजार छ सय ८५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको ।

यसैगरी पाल्पामा चार प्रतिशत जमिनमा मात्र रोपाइँ भएको छ । सात हजार दुई सय ८७ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा हालसम्म दुई सय ९१ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ भएको छ । छ हजार पाँच सय ४१ हेक्टर क्षेत्रफलमा धान खेती हुने गुल्मीमा सात प्रतिशत मात्र रोपाइँ सकिएको छ । हालसम्म चार सय ५७ दशमलव ८७ हेक्टरमा रोपाइँ भएको हो । यसैगरी प्यूठानमा ८८ प्रतिशत खेतीयोग्य जमिनमा रोपाइँ सकिको छ । छ हजार पाँचसय २५ हेक्टरमा धान खेती हुने गरेकोमा हालसम्म पाँच हजार सात सय ४२ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको हो ।

प्यूठानको अधिकांश खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुगेकाले धेरै रोपाइँ सकिएको निर्देशनालयका कृषि प्रसार अधिकृत गैरेले बताए । उनका अनुसार अर्घाखाँचीमा छ हजार सात सय ६० हेक्टर क्षेत्रफलमा धान खेती हुदै आएकोमा हालसम्म ११ दशमलव दुई प्रतिशत जमिनमा रोपाइँ सकिएको छ ।

यसैगरी रोल्पामा तीन हजार ७३ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा हालसम्म एक हजार दुई सय ३० हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । जुन खेतीयोग्य जमिनको ४० प्रतिशत हो । रुकुम पूर्वमा तीन सय ५४ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा हालसम्म ८८ दशमलव पाँच हेक्टर क्षेत्रफल जमिनमा रोपाइँ भएको छ । जुन खेतीयोग्य जमिनको २५ प्रतिशत हो । किसानले सिँचाइ अभाव र समयमा मनसुन नभित्रिनाले समयमै रोपाइँ गर्न पाएका छैनन् । ‘लुम्बिनी प्रदेशका तराईका पहाडी जिल्ला प्यूठानमा सबैभन्दा धेरै धान रोपाइँ भएको र पाल्पामा सबैभन्दा कम रोपाइँ भएको छ’, कृषि प्रसार अधिकृत गैरे भने ।

धान रोपेर मनाइयो राष्ट्रिय धान दिवस

यसैबिच नेपाल किसान महासंघ दाङ शाखाले धान रोपाइँ गर्दै २३औँ राष्ट्रिय धान दिवस मनाएको छ । महासंघका दाङ शाखा अध्यक्ष चन्द्रप्रसाद चौधरीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने प्रमुख अतिथ्यतामा भएको हो ।

प्रमुख अतिथि मन्त्री न्यौपानेले उत्पादन वृद्धिमा किसानलाई सहयोग गर्न सरकार तयार रहेको बताए । राज्यको तर्फबाट हुनु पर्ने सहयोगका लागि आप्mनो क्षेत्रबाट पहल गर्ने उनको भनाइ छ ।

कार्यक्रममा नेपाल किसान महासंघका केन्द्रीय सदस्य खुसल घिमिरे, केन्द्रीय सदस्य डा वेदबहादुर केसी, नेपाली कांग्रेस दाङका उपसभापति कमानसिंह भारती, महासमिति सदस्य भूपबहादुर डाँगी, क्षेत्रीय सभापति भीमप्रकाश खड्का, प्रदेश सभा क्षेत्र नं. १ (क) का सभापति प्रकाश श्रेष्ठ तथा नगर सभापति तिलक रावतलगायतले धान खेतीको संरक्षण, कृषि उत्पादन वृद्धि र किसानको हितमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा सहभागीले सामूहिक रूपमा धान रोपाइँ गरी राष्ट्रिय धान दिवसको सन्देश प्रवाह गरेका थिए । कार्यक्रमको सहजीकरण नेपाल किसान महासंघ दाङ शाखाका सचिव रामबहादुर केसीले गरेको थिए ।