वंशीकुमार शर्मा
मानिसको जीवन यात्रा हो । जन्मदेखि मृत्युसम्मको समय नै हाम्रो यात्रा हो । चराचर जगतका सवै प्राणीको साझा बासस्थान पृथ्वी हो । हामी यहाँ सधैँका लागि आएका होइनौँ । हाम्रो यात्राको समय निश्चित छ । यहाँ रहन्दा सम्म प्रकृतिका स्रोत–साधनको उपयोग गर्छौँ, आफ्ना कर्तव्य पूरा गर्छौँ र अन्ततः विदा हुन्छौँ तर हामी नभए पनि पृथ्वी, प्रकृति र जीवनचक्र निरन्तर चलिरहन्छ । यही यथार्थलाई आत्मसात् गर्न सके मात्र पृथ्वीप्रतिको हाम्रो जिम्मेवारीको सही बोध हुन्छ ।
पृथ्वी केवल मानिसको मात्र होइन, सम्पूर्ण चराचर जगतको साझा घर हो । मानिस, पशुपन्छी, कीरा, फट्याङ्गा, वनस्पति र अन्य सबै जीवजन्तुको यस पृथ्वीमा समान अस्तित्व छ । यस अर्थमा पृथ्वी एउटा धर्मशाला जस्तै हो, जहाँ आउने सबै यात्रु केही समयका लागि मात्र बस्छन् । जिम्मेवार यात्रुले धर्मशालाको सरसफाइ, संरचना र वातावरण जोगाउँछ, ताकि पछि आउने यात्रुले पनि सहज रुपमा त्यसको उपयोग गर्न सकून् । तर, यदि कसैले त्यही धर्मशालाको भित्तो भत्कायो, फोहोर ग¥यो वा त्यहाँका सामग्री नष्ट ग¥यो भने त्यो गैरजिम्मेवार व्यवहार मानिन्छ । दुर्भाग्यवश, आज मानवले पृथ्वीप्रति यस्तै व्यवहार गरिरहेको छ ।
विकास र सुविधाका नाममा वन फँडानी भइरहेको छ । नदी, ताल र मुहान प्रदूषित बन्दै गएका छन् । उद्योग, सवारीसाधन र अन्य मानवीय गतिविधिबाट निस्कने धुवाँले वातावरण विषाक्त बन्दै गएको छ । जलवायु परिवर्तनका असर संसारभर देखिन थालेका छन् । असमयको वर्षा, खडेरी, बाढी, पहिरो, तापक्रम वृद्धि तथा जैविक विविधताको ह्रासले प्रकृति गम्भीर संकटमा परेको छ । यी समस्या प्राकृतिले आफै निम्ताएको होईन मानवका असन्तुलित गतिविधिका कारण भएका हुन् ।
प्रकृतिले मानव लगायत सम्पुर्ण चराचर जगतका प्राणीलाई कुनै भेदभाव नगरी शुद्ध हावा, स्वच्छ पानी, उर्वर माटो, घाम, वन, नदी र जैविक विविधताजस्ता अमूल्य उपहार प्रदान गरेको छ । यी स्रोतहरु मानवले सिर्जना गरेका होइनन् बरु यी मानव अस्तित्वका आधार हुन् । मानिस बिना पनि प्रकृति आफ्नो लयमा चल्न सक्छ, तर प्रकृति बिना मानव सभ्यताको अस्तित्व सम्भव छैन । यति सत्य हुँदाहुँदै पनि मानिसले आफूलाई प्रकृतिको मालिक ठान्दै अन्धाधुन्ध दोहन गरिरहेको छ । वास्तवमा हामी मालिक होइनौँ, केवल अस्थायी यात्रु हौँ ।
चराचर जगतका अन्य जीवहरुले आफ्नो प्राकृतिक धर्म पूरा गरिरहेका छन् । रुखले अक्सिजन दिन्छ, नदी निरन्तर बगिरहिन्छीन् मौरीले मह सङ्कलन गर्छ, चराले गुँड बनाउँछन् र पृथ्वीले अन्न फलाउँछ । उनीहरु आफ्नो स्वाभाविक जिम्मेवारीबाट विचलित हुँदैनन् । तर आफूलाई सबैभन्दा चेतनशील र विवेकशील ठान्ने मानव भने आफ्नै दायित्व बिर्सँदै गएको छ । यही कारणले जलवायु परिवर्तन, प्रदूषण, पानीको अभाव, प्राकृतिक विपत्ति र जैविक विविधताको विनाश दिनप्रतिदिन गम्भीर बन्दै गइरहेको छ ।
पृथ्वीको संरक्षण केवल सरकार वा कुनै एक संस्थाका मात्र जिम्मेवारी होइन । यो प्रत्येक नागरिकको दैनिक व्यवहारसँग जोडिएको विषय हो । पानीको मितव्ययी प्रयोग गर्ने, वृक्षारोपण गर्ने, प्लास्टिकको प्रयोग घटाउने, फोहोरको उचित व्यवस्थापन गर्ने, वातावरणमैत्री जीवनशैली अपनाउने र प्राकृतिक स्रोतको संरक्षण गर्ने काम हरेक व्यक्तिले गर्न सक्छ । साना–साना प्रयासले पनि ठूलो परिवर्तन सम्भव हुन्छ ।
स्थायी जिम्मेवारी वातावरण संरक्षणमा मात्र सीमित छैन । समाजमा सद्भाव कायम राख्नु, इमानदारीपूर्वक आफ्नो कर्तव्य निर्वाह गर्नु, सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु तथा भावी पुस्ताका लागि स्वस्थ, सुरक्षित र सभ्य समाज निर्माण गर्नु पनि उत्तिकै महत्वपूर्ण दायित्व हो । आजका हाम्रा निर्णय र कर्मले भोलिको समाज निर्माण गर्छन् । त्यसैले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामूहिक हितलाई प्राथमिकता दिनुपर्दछ । हामी यहाँबाट जाँदा धन, सम्पत्ति, पद वा शक्ति केही पनि साथ लैजान सक्दैनौँ । तर, हामीले छोडेर जाने वातावरण, समाज, संस्कार र मूल्यहरु भने भावी पुस्ताले प्राप्त गर्छन् ।
त्यसैले हाम्रो वास्तविक परिचय हामीले कमाएको सम्पत्तिले होइन, निभाएको जिम्मेवारीले निर्धारण गर्छ । पृथ्वी हाम्रो पुर्खाबाट प्राप्त सम्पत्ति मात्र होइन, भावी पुस्ताबाट सापटी लिएको धरोहर पनि हो । त्यसलाई सुरक्षित राखेर आगामी पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो नैतिक दायित्व हो । यदि हामीले यो जिम्मेवारी बिर्सियौँ भने हाम्रो यात्रा मात्र होइन, भविष्यका यात्रुहरुको यात्रा पनि संकटमा पर्नेछ ।
त्यसैले हामी अस्थायी यात्रु भए पनि हाम्रो जिम्मेवारी स्थायी छ । पृथ्वीलाई सुरक्षित, स्वच्छ, हराभरा र जीवनयोग्य बनाइराख्नु नै मानव हुनुको सबैभन्दा ठूलो कर्तव्य हो । आफू मात्र बाँच्नु मानवताको परिचय होइन; आउने पुस्ताले पनि सम्मानपूर्वक बाँच्न सक्ने संसार छोडेर जानु नै साँचो सभ्यता हो । यही चेतना र जिम्मेवारीले मात्र पृथ्वीलाई दीगो, समृद्ध र जीवनमैत्री बनाइराख्न सक्छ ।