प्रमोद आचार्य
दंगीशरण, १३ असार । दंगीशरण गाउँपालिकाको आयोजनामा गाउँपालिकाका ७ वटै वडामा पाठेघरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । प्रत्येक वडामा गरिएको निःशुल्क शिविरबाट महिलाको पाठेघरसम्बन्धी समस्या देखापरेको दंगीशरण स्वास्थ्य शाखामा कार्यरत सिनियर नर्सिङ अधिकृत राधा शर्माले जानकारी दिइन् ।
सात वटै वडामा गरिएको शिविरबाट आठ सय १७ जना सहभागी भएकोमा सात सय २५ जनाले पाठेघरको क्यान्सरको प्रारम्भिक जाँच गराएका थिए । जसमध्ये क्यान्सर शङ्कासपद ५० जना फेला परेको र पाठेघरको मुखमा मासु पलाएको २४ जना, पहिलो तथा दोस्रो स्टेजका सात जना, तेस्रो स्टेजका सात जना र चौथो स्टेजका एक जना फेला परेको नर्सिङ अधिकृत शर्माले जानकारी दिइन् ।
सप्ताहव्यापी गरिएको शिविर अन्तर्गत वडा नं. १ को ७६ जना सहभागीमध्ये ६४ जनाले पाठेघरको क्यान्सरको प्रारम्भिक जाँच गराएकोमा पाठेघरको मुखमा मासु पालाएको एक जना, क्यान्सर शङ्कास्पद चार जना भेटिएका हुन् । वडा नं. २ मा एक सय ६९ जना सहभागी भएकोमा एक सय ४० जनाले पाठेघरको क्यान्सरको प्रारम्भिक जाँच गराएकोमा क्यानसर शङ्कास्पद १० जना, पाठेघरमा मासु पलाएको सात जना, पहिलो तथा दोस्रो स्टेजका पाँच जना भेटिएका हुन् ।
वडा नं. ३ मा ९० जना शिविरमा सहभागी रहेकोमा ८१ जनाले पाठेघरको क्यान्सरको प्रारम्भिक जाँच गराएकोमा चार जना शङ्कास्पद एक जना, पाठेघरमा मासु पलाएको र पहिलो र दोस्रो स्टेजका पाँच जना र चौथो स्टेजको एक जना फेला परेका छन् । यसैगरी वडा नं ४ मा एक सय ३१ जना शिविरमा सहभागीमध्ये एक सय २० जनाले पाठेघरको क्यानसरको प्रारम्भिक जाँच गराएको र चार जना शङ्कास्पद भेटिएको तथा चार जना पाठेघरमा मासु पलाएका दोस्रो र तेस्रो स्टेजका १९ जना फेला परेका छन् ।
वडा नं. ५ मा एक सय आठ जना शिविरमा सहभागीमध्ये ९३ जनाले पाठेघरको क्यानसरको प्रारम्भिक जाँच गराएकोमा शङ्कास्पद सात जनाको पाठेघरमा मासु पलाएको, पाँच जना पहिलो र दोस्रो स्टेजका चार जना र तेस्रो स्टेजका एक जना फेला परेका छन् । यसैगरी वडा नं ६ मा एक सय १२ जना सहभागीमध्ये ८७ जनाले पाठेघरको क्यानसरको प्रारम्भिक जाँच गराएकोमा आठ जना शङ्कास्पद, चार जना पाठेघरमा मासु पलाएको र चार जना पहिलो र दोस्रो स्टेजका फेला परेका छन् ।
यसैगरी वडा नं. ७ मा एक सय ३१ जना सहभागी भएकोमा एक सय १५ जनाले पाठेघरको क्यानसरको प्रारम्भिक जाँच गराएकोमा १० जना शङ्कास्पद, पहिलो र दोस्रो स्टेजका चार जना र तेस्रो स्टेजका एक जना फेला परेका छन् । शङ्कासपद बिरामीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको बताइएको छ । गाउँपालिकाले यस्ता खालका स्वास्थ्य शिविरलाई आगामी दिनमा पनि निरन्तरता दिँदै महिलामा पाठेघरको मुखको क्यानसरको समयमै पहिचान र उपचारमा जोड दिने जनाएको छ ।