प्रेरणाको विन्दु
तुफानबाबु श्रेष्ठ
मानव जीवनमा दया, क्षमा, सहनशीलता र अहिंसाजस्ता गुणहरुको ठूलो महत्त्व छ । यी गुणहरुले समाजमा शान्ति, सद्भाव र प्रेमको वातावरण निर्माण गर्छन् । तर यी सद्गुणहरुको अर्थ अन्याय, अत्याचार वा दुव्र्यवहारलाई मौन रूपमा सहनु भने होइन । जीवनमा असल बन्नु आवश्यक छ, तर त्यति नै आवश्यक छ आफ्नो अस्तित्व, सम्मान र सुरक्षाको रक्षा गर्न सक्नु । प्रस्तुत कथा ‘साधु र सर्प’ ले यही गहिरो जीवन–दर्शनलाई सरल तर प्रभावकारी ढङ्गले प्रस्तुत गर्छ ।
एक गाउँमा एउटा धेरै पुरानो बरको रूख थियो । त्यस रूखको फेदमा रहेको एउटा प्वालमा अत्यन्त विषालु सर्प बस्थ्यो । त्यो सर्प निकै क्रोधी स्वभावको थियो । रूखको छेउबाट कोही मानिस वा जनावर गुज्रिएमा उसले तुरुन्त आक्रमण गर्न खोज्थ्यो । त्यसकारण गाउँका मानिसहरु त्यो रूख नजिक जान डराउँथे । एक दिन एक साधु लामो यात्रा गर्दै त्यस गाउँतर्फ आइरहेका थिए । धेरै टाढाबाट पैदल हिँडेकाले उनी निकै थकित भएका थिए । विश्राम गर्न उपयुक्त स्थान खोज्दै जाँदा उनको नजर त्यही विशाल बरको रूखमा प¥यो । उनी केही समय आराम गर्ने उद्देश्यले रूखमुनि पुगे ।
तर साधु रूखनजिक पुग्नासाथ सर्प आफ्नो बासस्थानबाट बाहिर निस्कियो । उसले फन उठायो र साधुतर्फ आक्रामक रूपमा अघि बढ्न थाल्यो । साधुले शान्त भावले एउटा मन्त्र उच्चारण गरे । मन्त्रको प्रभावले सर्पको क्रोध शान्त भयो । उसले फन झुकायो र विनम्रतापूर्वक साधुको सामुन्ने बस्यो । साधुले सर्पलाई ममतापूर्वक सम्झाउँदै भने– ‘तिमी किन निर्दोष मानिस र जनावरलाई दुःख दिन्छौँ ? हिंसा र क्रोधले कहिल्यै शान्ति प्राप्त हुँदैन । म तिमीलाई एउटा मन्त्र दिन्छु । यस मन्त्रको नियमित जप गरेमा तिम्रो मन शान्त हुनेछ र तिमी ईश्वरको निकट भएको अनुभव गर्नेछौँ ।’
त्यसपछि साधुले सर्पलाई मन्त्र सिकाए र भने– ‘आजदेखि कसैलाई पनि हानि नपु¥याऊ र यो मन्त्रको नित्य जप गर ।’ यति भनेर साधु आफ्नो यात्रामा अघि बढे । सर्पले साधुको उपदेशलाई जीवनको मार्ग बनायो । उसले मन्त्र जप गर्न थाल्यो र कसैलाई पनि डस्न छोड्यो । केही समयपछि गाउँलेहरुले सर्पको व्यवहारमा आएको परिवर्तन अनुभव गरे । पहिले जसलाई देखे पनि आक्रमण गर्ने सर्प अब शान्त र नम्र भएको थियो ।
एक दिन केही बालबालिका खेल्दै–खेल्दै बरको रूखनजिक पुगे । उनीहरुले सर्पलाई चुपचाप बसेको देखे । पहिले डर लाग्ने सर्प अब कुनै प्रतिक्रिया नदिने भएकाले बालबालिकाहरुले उसलाई जिस्क्याउन थाले । कसैले ढुङ्गा हाने, कसैले लीले हिर्कायो तर सर्प मौन रह्यो । बालबालिकाहरुको दुस्साहस झन् बढ्दै गयो । उनीहरुले सर्पको पुच्छर समातेर घुमाए र जमिनमा पछारे । चोटका कारण सर्प अर्धमृत अवस्थामा पुग्यो ।
शरीरभरि घाउ लाग्यो र ऊ हिँड्नसमेत नसक्ने भयो । तैपनि उसले कसैमाथि आक्रमण गरेन । ठूलो कठिनाइका साथ ऊ आफ्नो प्वालसम्म पुग्यो । त्यसपछि लामो समयसम्म सर्प कमजोर र घाइते अवस्थामा बसिरह्यो । उसले शिकार गर्न पनि छोड्यो । रूखबाट झरेका पात र फल खाएर जेनतेन जीवन धान्न थाल्यो । दिन बित्दै जाँदा ऊ झन् दुब्लो र अशक्त हुँदै गयो ।
धेरै समयपछि ती साधु पुनः त्यस गाउँमा आए । उनलाई सर्पको सम्झना आयो र भेट्न गए । सर्पले सम्मानपूर्वक बाहिर आएर साधुलाई प्रणाम ग¥यो । तर, साधुले सर्पलाई देख्ने वित्तिकै उसको दयनीय अवस्था महसुस गरे । ‘तिमी यति कमजोर र रोगी किन भयौँ ?’ साधुले सोधे । सर्पले विनम्रतापूर्वक उत्तर दियो‘ ‘गुरुदेव, मैले तपाईंको आदेशअनुसार कसैलाई पनि हानि पु¥याएको छैन ।
शिकार गर्न पनि छोडेको छु । पात र फल खाएर जीवन बिताइरहेको छु ।’ साधुले फेरि सोधे– ‘केवल भोजनको कारणले मात्र यस्तो अवस्था आएको जस्तो लाग्दैन । अरू केही भएको छ ?’ त्यसपछि सर्पले बालबालिकाले गरेको दुव्र्यवहारको सम्पूर्ण घटना सुनायो । उसले भन्यो– ‘उनीहरुले मलाई धेरै यातना दिए, तर मैले तपाईंको आदेश सम्झेर प्रतिकार गरिनँ ।’
सर्पको कुरा सुनेपछि साधु आश्चर्यचकित भए । उनले मुस्कुराउँदै भने– ‘तिमीले मेरो उपदेशको गलत अर्थ लगाएछौँ । मैले तिमीलाई डस्न मनाही गरेको थिएँ, तर फुफ्कार्न भने मनाही गरेको थिइनँ । यदि तिमीले फुफ्कारेर आफ्नो शक्ति देखाएको भए उनीहरु डराउँथे र तिमीमाथि अत्याचार गर्न सक्दैनथे । अहिंसाको अर्थ कायरता होइन । कसैलाई हानी नगर्नु राम्रो कुरा हो, तर आफ्नो रक्षा गर्नु पनि उत्तिकै आवश्यक छ ।’ सर्पले साधुको कुरा बुझ्यो । त्यस दिन उसले जीवनको एउटा महत्वपूर्ण सत्य सिक्यो– दया र आत्मरक्षाबिच सन्तुलन हुनुपर्छ ।
यो कथा केवल सर्प र साधुको कथा मात्र होइन, हाम्रो जीवनको यथार्थ चित्रण पनि हो । धेरै मानिसहरु असल बन्ने प्रयासमा अन्याय र दुव्र्यवहारसमेत सहेर बस्छन् । तर सदाचारको अर्थ आफ्नो अधिकार, सम्मान र सुरक्षालाई त्याग्नु होइन । हामीले कसैलाई दुःख दिनु हुँदैन, तर कसैले हामीमाथि अन्याय गर्न खोजेमा त्यसको उचित प्रतिरोध गर्न सक्नुपर्छ ।
सहनशीलता महान् गुण हो, तर आत्मसम्मान र आत्मरक्षा पनि उत्तिकै आवश्यक छन् । वास्तवमा, ईश्वरले पनि त्यही व्यक्तिलाई मन पराउनुहुन्छ, जो अरूलाई दुःख नदिई सत्य, न्याय र आफ्नो अधिकारको रक्षा गर्न साहसपूर्वक उभिन सक्छ ।