पत्र साहित्य : भाइलाई चिठी

खगराज न्यौपाने

 

भाइ रमेश, आशिर्वाद

यहा हामी गाउँघर इष्ट मित्र सबै आराम छौँ । तिमी पनि त्यहाँ अमेरिकामा साथीहरुका साथ आरामै हौला भन्ने आशा गरेको छु । तिमीले त्यहाँबाट पठाएको आरामी पत्र भर्खरै पाप्त भयो । यस पटकको परीक्षामा तिमी र तिम्रा साथीहरुले पढाइमा सफलता प्राप्त गरेको सुन्दा खुसी लाग्यो । आउँदा दिनमा पनि यस्तै सफलता हात परोस् भनी शुभेच्छा व्यक्त गर्न चाहन्छुुुुुुुुुु । टाढा अमेरिकामा बसेका अवस्थामा पनि यहाँ नेपालमा भएका गतिविधि हरुको विषयमा जानकारी चाहेकोमा धन्यवाद दिन चाहन्छु ।

भाइ रमेश, यहाँ दाडमा निवृत्त शिक्षक समाजको शाखा छ । जिल्ला हुँदै केन्द्रसम्म यसको सङ्गठन रहेको छ । हामी सबै निवृत्त शिक्षकहरु सङ्गठित भएर केन्द्रको निर्देशन अनुसार आफ्नो सङ्गठनलाई चलायमान गराइरहेका छौँ । हामी निवृत्त भए पनि समाज र देशका लागि अझै पनि सरकारले जिम्मा दिएमा काम कुराहरु गर्न सक्छौँ भन्ने उद्घोष गरिरहेका छौँ । यस पटक घोराही नगर समितिले १२ नं वडा हापुरमा पर्ने गढी टाकुरा भगवतीको मन्दिरमा गई नगर कमिटिको बैठक मिति २०८३÷३÷५ गते बस्ने र त्यहाँ उपस्थित भएका सबै साथीभाइहरुलाई त्यस ठाउँको ऐतिहासिक भौगोलिक सांस्कृतिक कुरा तथा विषय वस्तुको बारेमा विस्तृत रुपले जानकारी दिने लक्ष्य थियो ।

उक्त अवसरमा नगर समितिका पदाधिकारीहरु केही जिल्लाका पदाधिकारी, जिल्ला समितिका सल्ल्लाहकारहरु आजीवन सदस्यहरु उपस्थित थियौँ । मन्दिर व्यवस्थापन समितिका अध्यक्षलगायत पदाधिकारी पनि उपस्थित हुनुहुन्थ्यो । कुल ६५ जनाको उपस्थिति थियो । हापुर खोलाको माथिल्लो भेग ठाउँ–ठाउँमा धानका बिउ राखेको देखियो । मन्दिरबाट हेर्दा धेरै ठाउमा तरकारी खेती गरेको देखियो । घोराहीबाट गएको टोलीलाई मन्दिर व्यवस्थापन समितिले स्वागत गर्दा सबै हर्षित देखिनु भयो ।

केही बेरपछि नगर समितिका अध्यक्ष बलदेव अधिकारीको अध्यक्षतामा कार्यक्रम सुरु भयो । प्रमुख अतिथि जिल्ला अध्यक्ष गोविन्द पौडेल, विशिष्ठ अतिथि पद्मप्रसाद शर्मा हुनुहुन्थ्यो । नगर समितिका उपाध्यक्ष नुमाकान्त न्यौपानेले स्वागत भाषण गर्नुभयो भने कार्यक्रमको सहजीकरण सचिव ज्ञानेन्द्र गौतमले गर्नुुुभएको थियो । मन्दिर व्यवस्थापन समितिबाट अध्यक्ष घनश्याम अधिकारीले परिचय दिनुभएको थियो ।

मन्दिर समितिकातर्फबाट लोकबहादुर थापा, माधव गौतमले शुभकामना मन्तव्य दिनुभएको थियो । निवृत्त शिक्षक समाजकातर्फबाट गोविन्द पोख्रेलले रचना वाचन गर्नुभएको थियो । जिल्ला सल्लाहकार रामप्रसाद जैशीले शुभकामना दिनुभयो ।

अर्का सल्लाहकार खगराज न्यौपानेले भगवती मन्दिर, शिवको मन्दिर राधाकृष्ण मन्दिर, गणेश मन्दिर हनुमानको मन्दिरको परिचय तथा निर्माणकर्ताहरु भगवतीको मन्दिर जिणोद्धार कर्ता मन्दिर व्यवस्थापन समितिका अध्यक्ष घनश्याम अधिकारी र उहाँका परिवारका दाजुहरुबाट सम्पन्न भएको त्यस्तै शिवको मन्दिर वगियाकी सुवर्णकुमारी गौतमबाट । यिनैले दुईवटा घर्मशाला, जग्गादान पनि गर्नुभएको हो ।

कुरुर्रे घर भई हापुर बिजौरी बस्दै आउनुभएकी रुक्मिणा पोख्रेलले राधा कुष्ण मन्दिर, बालिका न्यौपाने बिजौरीले गणेश मन्दिर त्यस्तै नारेवाड निबासी खड्गु गिरीले हनुमान्को मन्दिर निर्माण गरेको कुरा जानकारी गराउनुभएको थियो । यसै अवसरमा निवृत्त शिक्षक समाज दाङ शाखाको आजीवन सदस्यको प्रमाणपत्रहरु वितरण गरिएका थियो भने नयासदस्यता लिन चाहनेहरुले सदस्यता लिनुभएको थियो । यो घुम्ति बैठकका कार्यक्रम देख्दा सदस्यता लिन छुटेका साथीहरु पनि सदस्यता लिन उत्साहित देखिनुहुन्थ्यो । कार्यक्रम निकै प्रभावकारी तथा ज्ञानवर्धक थियो ।

सभा समापन पछि मन्दिरकोतर्फबाट भजन कीर्तन र नाँच पनि प्रस्तुत गरिएको थियो । मन्दिरकोतर्फबाट चिया विस्कुटको व्यवस्था थियो भने निवृत्त शिक्षककोतर्फबाट दही चिउराको व्यवस्था गरिएको थियो । अन्त्यमा दुवै पक्षबिच सौहार्द वातावरणमा विदाइ भयो । श्रावण १३ गते गुरु पूर्णिमा परेकाले रझेना विद्यालयमा गुरु पूर्णिमा मनाउने निर्णयका साथ विदा भयौँ । सबै आआफ्ना गन्तव्यमा लाग्यौ । यस पटकको ऐतिहासिक भौगालिक सांस्कृतिक भ्रमण सम्पन्न गरेको कुरा मैले तिमीलाई अवगत गराए । बाँकी कुरा अर्को पत्रमा उल्लेख गर्ने वाचा गर्दै हाललाई विदा चाहन्छु ।

तिम्रो माया गर्ने दाजु
खगराज न्यौपाने