दाङ, १२ असार । घोराहीमा अन्तर विद्यालय उपमेयर कप भलिबल प्रतियोगिता–२०८२ सुरु भएको छ । महिला भलिबल खेलाडी उत्पादनसँगै खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अन्तर विद्यालय उपमेयर कप भलिबल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको हो ।
घोराही उपमहानगरपालिका खेलकुद विकास समितिको आयोजनामा घोराही–१५ स्थित जिल्ला समन्वय समितिको खेल मैदानमा सुरु भएको प्रतियोगितामा उपमहानगरपालिकाभित्रका–१५ विद्यालयका छात्राहरूको सहभागिता रहेको छ । खेलकुद विकास समितिका संयोजक नरेन्द्र पुनको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई समारोहमा घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसीले प्रतियोगिताले महिला भलिबलको विकाससँगै दक्ष खेलाडी उत्पादनमा सहयोग पु¥याउने बताएकी हुन ।
विद्यालयस्तरबाट सञ्चालन हुने यस्ता प्रतियोगिताले छात्राहरूमा खेलप्रति रुचि बढाउनुका साथै आत्मविश्वास, अनुशासन र प्रतिस्पर्धात्मक भावना विकास गर्न सहयोग पुग्ने बताएकी थिइन । घोराही उपमहानगरपालिकाले खेलकुद विकास समिति गठन गरी भलिबलसहित विभिन्न खेलकुद गतिविधि सञ्चालन गर्दै खेलाडीको क्षमता अभिवृद्धि र खेल पूर्वाधार विकासमा निरन्तर लगानी गर्दै आएको उनको भनाई थियो । प्रतियोगिता असार १३ गते शनिबारसम्म सञ्चालन हुने खेलकुद विकास समितिका सदस्य राजन घर्तीले जानकारी दिएका छन् ।