पार्वती बस्नेत
दाङ, १२ असार । राजपुर गाउँपालिका–६ गंगदी निवासी शारीरिक रूपमा अपाङ्गता भएकी दुर्गा चौधरीलाई स्वरोजगार बनाउन सहयोग स्वरूप किराना पसल सञ्चालनमा ल्याइएको छ । ग्रामीण महिला उत्थान केन्द्रले निवास संस्थासँगको सहकार्यमा ३० हजार रुपैयाँ बराबरको सहयोग उपलब्ध गराएर ‘दुर्गा किराना पसल’ सञ्चालनमा ल्याएको हो ।
पसलको उद्घाटन गाउँपालिका उपाध्यक्ष धनपतीदेवी यादव र ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष आसमानी चौधरीले संयुक्त रूपमा गरेका हुन् । तीन सन्तानकी आमा दुर्गाले शारीरिक अवस्थाका कारण श्रमप्रधान काम गर्न नसक्ने भए पनि बसेर गर्न सकिने व्यवसायमार्फत् आत्मनिर्भर बन्ने चाहना रहेको बताइन् ।
आर्थिक अभावका कारण व्यवसाय सुरु गर्न नसकेको अवस्थामा संस्थाले सहयोग गरेपछि स्वाभिमानका साथ जीवनयापन गर्ने आधार बनेको उनको भनाइ छ । कार्यक्रममा बोल्दै उपाध्यक्ष यादवले शारीरिक रूपमा अपाङ्गता भएका महिलालाई आत्मनिर्भर बनाउने प्रयास प्रशंसनीय रहेको बताइन् ।
उनले ग्रामीण महिला उत्थान केन्द्रले गत वर्ष दुर्गाको नाममा जग्गा व्यवस्थापन गरी भूकम्प प्रतिरोधी घर निर्माण गरिदिएको र अहिले व्यवसाय सञ्चालनमा सहयोग गरेको उल्लेख गर्दै यस्ता कार्यले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने बताइन् ।
ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष चौधरीले संस्थाको उद्देश्य महिलालाई आर्थिक रूपमा सशक्त बनाउँदै आत्मनिर्भर समाज निर्माण गर्नु रहेको बताइन् । दुर्गाको आवश्यकता अनुसार उनले सञ्चालन गर्न सक्ने व्यवसायका लागि सहयोग गरिएको र आगामी दिनमा व्यवसाय थप विस्तार हुने विश्वास व्यक्त गरिन् ।
दुर्गाले संस्थाले घर निर्माण, नागरिकता तथा अपाङ्गता परिचयपत्र प्राप्तिका लागि सहयोग गरेको स्मरण गर्दै आफ्नै नाममा जग्गा र घर भएपछि आत्मविश्वास बढेको बताइन् । त्यसै आत्मविश्वासका आधारमा व्यवसाय सञ्चालनको इच्छा व्यक्त गरेको र संस्थाले सहयोग गरेर त्यसलाई कार्यान्वयन गरिदिएको भन्दै उनले आभार व्यक्त गरिन् । कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, दुर्गाका परिवार, आफन्त तथा स्थानीयको उपस्थिति रहेको थियो ।