खडेरीले परम्परागत पानीका मुहान ६० प्रतिशत सुके

बालाराम खड्का
तुलसीपुर, १२ असार । असारको आधा लागि सक्दा पनि पर्याप्त वर्षात हुन सकेको छैन । यस वर्ष समयमै मनसुन भित्रिन नसक्दा खेतीसमेत भएको छैन । लामो समयको खडेरीले पानीका परम्परागत मुहान ६० देखि ७० प्रतिशत सुक्दै गएका छन् ।
पानीका मुहान सुक्दै जाँदा तुलसीपुर क्षेत्रका गाउँदेखि बजारसम्म पानीको हाहाकार मचिएको छ । खानेपानीका लागि आलोपालो सुरु भएको छ । प्रचण्डगर्मीका कारण तुलसीपुरमा पानीका मुहान सुक्न थालेका छन् । जिल्लाको उत्तरी भेग तुलसीपुर उपमहानगरपालिका वडा नं. ३, ४ स्थित रहेका धेरै जसो परम्परागत पानीका मुहान सुक्दै गएको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका कोषाध्यक्ष भोला थापाले बताए ।
पानीको मुहान सुकेपछि आलोपालो गरेर पानी वितरण गर्दै आएको कोषाध्यक्ष थापाले बताए । अहिले परम्परागत मुहान ६० प्रतिशत र डिपबोरिङमा ६० देखि ७० प्रतिशतसम्म पानी कम भएको उनले बताए । तुलसीपुर खानेपाननीलाई अनुमानित आवश्यक एक करोड पाँच लाख लिटर दैनिक पानी सप्लाई हुनु पर्नेमा ५५ लाख ६० हजार लिटर पानी प्रतिसेकेन्डको रेन्जमा आपूर्ति हुने गरेको उनले बताए ।
समयमै वर्षात नहुँदा र लामो समयको खडेरी परेकाले पानी रिचार्ज हुन नसक्दा यो समस्या आएको उनले बताए । खानेपानीले परम्परागत मूल र बोरिङहरूमा पानी उत्पादन कम भएकाले कुनै ठाँउमा दैनिक एक पटक, कुनै ठाउँमा एक दिन बिराएर पानी वितरण गर्दै आएको छ ।
माग अनुसार मूल र बोरिङबाट पानी आपूर्ति नहुँदा धेरै समस्या भएको खानेपानी समितिले जनाएको छ । अहिले खानेपानी संस्थाले पानी टोल टोलमा आवश्यकता अनुसार ट्याक्टरबाट वितरण गर्दै आएको कोषाध्यक्ष थापाले बताए । तुलसीपुर खानेपानीका परम्परागत पानीका स्रोतहरू सबैभन्दा पुरानो मुलकोट, राम्री, धैरेनी, बाख्रे, छरछरे, पहरे मुहान रहेका छन् । ती मुहानबाट ६० प्रतिशत मात्र पानी आउने गरेको थापाले बताए ।
‘मुहान सुक्दा पानी वितरण प्रणालीमै समस्या आएको छ, दैनिक उपभोक्ताबाट फोन आउँछ खडेरीका कारण भने जसरी खानेपानी वितरण गर्न समस्या छ’, कोषाध्यक्ष थापाले भने ।
यसैगरी अन्य सिँचाइका लागि आवश्यक पानी खोलामा नहुँदा किसानले खेतीका लागि राखेको धानको ब्याडसमेत सुक्न थालेका छन् । ‘खोलामा पानी छैन आकाशबाट पानी आउँदैन राखेको धानको ब्याड सुक्ने अवस्थामा छ’, स्थानीय प्रणव खड्काले भने । केही समय पहिले परेको पानीपछि मकै रोपेका किसानको मकै सुक्न थालेको छ ।
केही किसानले लगाएको मकै भने मकै काट्ने किराले सखाप पारेको किसान बताउँछन् । अत्यधिक गर्मीका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ । विगत केही दिनदेखि तापक्रम बढेपछि जनजीवन अस्तव्यस्त भएको हो । वायुमण्डलीय तापक्रममा वृद्धि भएसँगै सर्वसाधारण घरबाहिर निस्किन छाडेकाले बजारमा चहलपहल कम देखिएको छ ।