बालकलाकार घिमिरेलाई म्युजिक खबर बालप्रतिभा प्रोत्साहन सम्मान

गोरक्ष समाचाररदाता
दाङ, १२ असार । बालकलाकार युनिश घिमिरेलाई ‘म्युजिक खबर बालप्रतिभा प्रोत्साहन सम्मान–२०८२’ प्रदान गरिने भएको छ । नेपाली सङ्गीत तथा अभिनय क्षेत्रमा बाल उमेरमै देखाएको प्रतिभा, लगनशीलता र सक्रिय योगदानको कदर गर्दै उनलाई उक्त सम्मान प्रदान गर्न लागिएको हो ।

दाङको घोराही–३ निवासी १० वर्षीय युनिश घिमिरे हाल पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालय कक्षा ५ मा अध्ययनरत छन् । सानै उमेरदेखि नृत्य र गायनप्रति रुचि राख्दै आएका युनिशले विभिन्न सांस्कृतिक तथा विद्यालय स्तरीय कार्यक्रममा उत्कृष्ट प्रस्तुति दिँदै दर्शकको मन जित्न सफल भएका छन् । युनिशले कला क्षेत्रमा निरन्तर सक्रियता देखाउँदै आएका छन् ।

उनले अभिनय तथा नृत्यमार्फत् विभिन्न म्युजिक भिडियोमा समेत आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । युनिशले गायक खेम सेन्चुरी र गायिका सुनिता परियारको स्वर रहेको ‘लाग्यो पार्टी हो’ बोलको गीतमा अभिनय गरेका छन् । यसैगरी गायक नरेश खाती र गायिका रचना रिमालको स्वरमा रहेको ‘मैना फूलबुट्टे’, गायिका खुमा शाही चुकुरी र गायक महेन्द्र भण्डारीको ‘भकेरी देउराम’ लगायतका गीतको म्युजिक भिडियोमा अभिनय तथा नृत्य प्रस्तुत गरिसकेका छन् ।

कला क्षेत्रमा उनको निरन्तर मेहनत, सिर्जनशीलता र उज्ज्वल सम्भावनालाई सम्मान गर्दै १३औँ म्युजिक खबर म्युजिक अवार्ड–२०८२ अन्तर्गत ‘म्युजिक खबर बालप्रतिभा प्रोत्साहन सम्मान–२०८२’ प्रदान गर्न लागिएको आयोजकले जनाएको छ । यस क्षेत्रका अग्रजले आगामी दिनमा युनिशले नेपाली कला तथा सङ्गीत क्षेत्रमा थप उचाइ हासिल गर्ने विश्वास व्यक्त गरेका छन् ।