गोरक्ष समाचारदाता
दंगीशरण, १२ असार । दंगीशरण गाउँपालिका–१ स्थित आधारभूत विद्यालय बाकी बेटारपुरमा अध्ययनरत ६० जना विद्यार्थीलाई बिहिबार एक कार्यक्रमका बिच पोसाक र झोला वितरण गरिएको छ ।
कुमारी बैंक लुम्बिनी प्रदेशको आयोजना, कुमारी बैंक शाखा कार्यालय दंगीशरणको समन्वय तथा आधारभूत विद्यालय बाकी, बेटारपुरको सहकार्यमा विद्यार्थीलाई पोसाक र झोला वितरण गरिएको हो ।
बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आधारभूत विद्यालय बाकी, बेटारपुरका विद्यार्थीलाई पोसाक र झोला वितरण गरिएको कुमारी बैंक शाखा कार्यालय दंगीशरणका प्रमुख एकराज केसीले जानकारी दिए छन् ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले निजी बैंकहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत पालिकाभित्रका विद्यालयका विद्यार्थीलाई पोसाक र झोला वितरण गरेकोमा धन्यवाद दिएका थिए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले बैंकहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता खालका सामाजिक कार्यमा संलग्न हुनु सराहनीय रहेको बताइन् ।
वडा नं. १ का वडाध्यक्ष रमेश भण्डारीले विद्यार्थीलाई वितरण गरिएका पोसाक र झोलाले उनीहरूको पठनपाठनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । कुमारी बैंक लुम्बिनी प्रदेशका प्रमुख सुदन खत्रीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष गिरीको प्रमुख आतिथ्यता एवम् गाउँपालिका उपाध्यक्ष पिमा वली खड्का र वडाध्यक्ष रमेश भण्डारीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा कुमारी बैंक शाखा कार्यालय दंगीशरणका प्रमुख एकराज केसीले कार्यक्रमको उद्देश्य तथा विषयवस्तुमाथि प्रकाश पारेका थिए । विद्यालयका शिक्षक प्रेम विष्टको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण गाउँपालिकाका प्रेस सल्लाहकार प्रमोद आचार्यले गरेका थिए ।