गोरक्ष समाचारदाता
तुलसीपुर, ११ असार । कुपोषण न्यूनीकरण तथा बालबालिकाको स्वास्थ्य सुधार गर्ने उद्देश्यले सेवा प्रतिष्ठान नेपालले तुलसीपुर उपमहानगरपालिकाका विभिन्न वडामा पोषणयुक्त खाद्यान्न वितरण गरेको छ ।
संस्थाले तुलसीपुर उपमहानगरपालिका–१०, १३, १४ र १५ का कुपोषणको जोखिममा रहेका बालबालिका, गर्भवती तथा सुत्केरी महिलालाई लक्षित गरी दुई सय ७९ जनालाई पोषणयुक्त खाद्यान्न वितरण गरेको हो ।
सेवा प्रतिष्ठान नेपालका अध्यक्ष सन्तोष केसीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका–१० का वडाध्यक्ष यमराज केसीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा पोषणसम्बन्धी सचेतना अभिवृद्धि तथा स्वास्थ्य सुधारका विषयमा जानकारी दिइएको थियो ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष केसीले प्रविधिको विकाससँगै विभिन्न स्वास्थ्य समस्या बढ्दै गएको उल्लेख गर्दै बालबालिकाको समुचित वृत्तिविकासका लागि व्यवस्थित र सन्तुलित खानपान अपरिहार्य रहेको बताए । पोषणयुक्त खानाप्रति बेवास्ता गर्दा बालबालिकाको शारीरिक, मानसिक, सामाजिक तथा संवेगात्मक विकास उमेर अनुसार हुन नसक्ने उनको भनाइ थियो ।
घरमै उपलब्ध खाद्य सामग्रीलाई सन्तुलित रूपमा प्रयोग गर्न सके बालबालिकाको स्वास्थ्यमा उल्लेखनीय सुधार ल्याउन सकिने उनले बताए । सेवा प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष डा. नहकुल केसीले स्वस्थ आमा र स्वस्थ बालबालिकाले नै स्वस्थ समाज निर्माण गर्ने भएकाले आमा तथा बालबालिकाको पोषणमा विशेष ध्यान दिनु पर्नेमा जोड दिए ।
उनले सुदूरपश्चिम र कर्णाली प्रदेशको तुलनामा लुम्बिनी प्रदेशका बालबालिकाको पोषण अवस्था चुनौतीपूर्ण रहेको जानकारी दिए । तुलसीपुर उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवर्धन शाखाका प्रमुख ओमप्रकाश न्यौपानेले स्वास्थ्य क्षेत्रको विकासविना देशको समग्र विकास सम्भव नहुने बताए ।
आमाहरूले सन्तुलित खानपानमा ध्यान नदिँदा बालबालिकाको वृद्धि तथा विकास प्रभावित हुने गरेको उल्लेख गर्दै उनले नेपालमा करिब ४१ प्रतिशत महिलामा रक्तअल्पता (एनिमिया) को समस्या रहेको जानकारी दिए । घरभित्रको भान्सालाई पोषणमैत्री बनाउन सके बालबालिकामा देखिने धेरै स्वास्थ्य समस्या न्यूनीकरण गर्न सकिने उनको भनाइ थियो ।
टरिगाउँ स्वास्थ्यचौकी इन्चार्ज बिना केसीले स्वास्थ्यचौकीबाट नियमित रूपमा पोषणसम्बन्धी परामर्श सेवा प्रदान हुँदै आएको बताउँदै बालबालिकालाई सर्वोत्तम लिटोलगायतका पोषणयुक्त परिकार खुवाउन आग्रह गरिन् ।
कार्यक्रममा टरिगाउँ स्वास्थ्यचौकी पोषण फोकल पर्सन उषा कँडेलले कुपोषित बालबालिकाका अभिभावकलाई पोषण व्यवस्थापन, उचित खानपान, बालबालिकालाई के खुवाउने र कसरी खुवाउने भन्ने विषयमा परामर्श प्रदान गरेकी थिइन् ।
उनले कुपोषण न्यूनीकरण, पोषणसम्बन्धी जनचेतना अभिवृद्धि तथा बालबालिकाको स्वास्थ्य अवस्थामा सुधार ल्याउने उपायबारे जानकारी गराएकी थिइन् । कार्यक्रममा सहभागीलाई पोषणको महत्वबारे सचेत गराउँदै कुपोषण न्यूनीकरणका लागि सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिइएको थियो ।